
३१, असार, काभ्रेपलाञ्चोक । रामेछापको मन्थली नगरपालिका-८ को चिसापानीमा पर्ने बफर खोलामा निर्माणाधिन मन्थली–गेलु सडकमा ह्यूमपाइप बाढीले बगाएको छ ।
मंगलबार साँझ परेको वर्षाले खोलामा राखिएको ह्यूमपाइप बगाएपछि सडकको संरचना समेत क्षतिग्रस्त भएको छ ।
ह्यूमपाइप बगेपछि मन्थली नगरापालिका-८ हुँदै वडा नम्बर ११ नाटिला र वडा नम्बर १२ गेलु जोड्ने सडक मार्ग टुटेको छ ।
खोलाको बहावलाई प्रभाव पार्ने गरी बनाइएको मन्थली–गेलु सडकखण्ड अन्तर्गत बफर खोला क्षेत्रमा निर्माण पूरा नहुँदै खोलाले बगाएपछि यात्रुहरु समस्यामा परेका छन् ।
पूर्वाधार विकास कार्यालयमार्फत नागबेली कन्स्ट्रक्सनले निर्माण गरिरहेको सडक स्थानीय सरकारसँग समन्वय नगरी काम भइरहेको मन्थली नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठले बताए ।
ठेकेदार कम्पनीले खोला मिचेर सडक बनाएको आरोप छ । ठेकेदार कम्पनीले उक्त सडकखण्डमा फाउण्डेसन निर्माणसहित २ सय ४५ मिटर सडक ढलानको ठेक्का कुल १ करोड २५ लाख रुपैँयामा लिएको थियो ।
गत शनिबारको बाढीपछि अवरुद्ध भएको सडक ह्यूमपाइप राखेर संचालनमा आएपनि मंगलबार साँझ पुनः बाढीले बगाएको हो ।
उक्त सडक गत असोजमा आएको बाढीले बगाएको थियो । त्यसपछि नागबेली कन्स्ट्रक्सनले पूर्वाधार विकास कार्यालय रामेछापमार्फत पुनः निर्माण गर्दै २४५ मिटर सडकमा ढलान गरेको थियो ।
प्रतिक्रिया 4