
२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिले पार्टीको नीति र सिद्धान्त विपरीत हुनेगरी कुनै पनि अभिव्यक्ति नदिन पार्टीका सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ ।
पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, अनुशासन समिति अध्यक्ष रोशन कार्कीको नेतृत्वमा बसेको बैठकले उक्त आग्रह गरेको हो ।
‘बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हित विपरीत हुनेगरी सामाजिक सञ्जाल र सामाजिक सञ्जालहरूमा लिखित वा मौखिक रुपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यस सम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नू नगराउनू हुन पार्टीका सबै नेता कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु,’ अध्यक्ष कार्की नेतृत्वको समितिले गरेको निर्णयमा भनिएको छ ।
आजै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए ।
उपाध्यक्ष गिरीसहितका चार नेताले बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनलाई आरोप लगाउँदै पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका थिए ।
लगत्तै आज लिङ्देनले गिरीलाई पदमुक्त गरेका हुन् ।
उनीहरूले सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुखबाट, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको दाबी पनि गरेका थिए ।
क्रियाशील नेतालाई श्रृंखलावद्ध रुपमा कारबाही हुँदा पार्टीपंक्ति र जनमानसमा शंका र प्रश्नहरू उब्जिएको उनीहरूले विज्ञप्तिमा लेखेका छन् ।
प्रतिक्रिया 4