
४ साउन, काठमाडौं । बुद्धचित्त चोरी गर्न पुगेको समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेको छ ।
खुकुरी प्रहार गरेको आरोपमा ललितपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेको ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीले बताए ।
यो समूह गोदावरी नगरपालिका–७ मा कृष्णबहादुर मार्फाले लगाएको बुद्धचित्त चोर्न गएको प्रहरीले बताएको छ । राति २ बजेतिर कुकुर भुकेपछि धनी कृष्णबहादुर घर बाहिर निस्केका थिए । त्यसपछि यो समूहले मार्फामाथि खुकुरी प्रहार गरेको एसपी जोशीले बताए ।
खुकुरी प्रहारबाट दाँया हातमा चोट लागेको र पाँचवटा टाँका लगाइएको प्रहरीले बताएको छ ।
बुद्धचित्तको सुरक्षाका लागि मार्फाले सीसीक्यामेरा समेत जडान गरेका थिए । सीसीक्यामेराको तार समेत काटेर उनीहरुले बुद्धचित्तको दाना टिपेको प्रहरीले बताएको छ । उनीहरुबाट ९९ वटा बुद्धचित्तको दाना बरामद भएको छ ।
प्रतिक्रिया 4