
४ साउन, काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका कार्यक्रम निर्वाचन आयोगबाट स्वीकृत भएको छ ।
आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले निर्वाचनका कार्यक्रम स्वीकृत भएको जानकारी गराएकी हुन् ।
उनका अुनसार, असोज ११ गते बिहान १० बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । सो दिन बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनय दर्ता हुने कार्यक्रम स्वीकृत भएको आयोगले जनाएको छ ।
सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने स्वीकृत कार्यक्रममा उल्लेख छ ।
उक्त सूचीमा रहेका उम्मेदवारको विरोधमा उजरी दिने समय असोज २२ गते बिहान १० देखि ३ बजेसम्मका लागि तोकिएको छ । सोही दिन ३ बजेदेखि भोलिपल्ट ५ बजेसम्मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवंं निर्णय हुने आयोगले जनाएको छ ।
त्यस्तै, असोज २३ गते बेलुकी ५ देखि ७ बजेसम्मा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
त्यस्तै, असोज २४ गते बिहान १० देखि १ बजेसम्ममा उम्मेदवारहरूले नाम फिर्ता लिन सक्नेछन् ।
सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका स्वीकृत भएको प्रवक्ता पोखरेलले बताइन् ।
दिउँसो ३ देखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने बताइएको छ ।
कात्तिक १७ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।
आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको ब्यहोरा जानकारी गराएको छ ।
प्रतिक्रिया 4