
६ साउन, सुर्खेत । ‘हनी ट्र्याप’मा पारेर १४ लाख भन्दा बढी रकम असुलेको आरोपमा सुर्खेतमा एक युवती पक्राउ परेकी छिन् ।
नौमुले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द पक्राउ परेकी हुन् ।
उनलाई मङ्गलवार वीरेन्द्रनगरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।
उनका अनुसार चन्दले ०८१ भदौमा पीडित पुरुषलाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यू होटलमा बोलाएर चिनजान गरेकी थिइन् ।
त्यसपछि उनीहरूबीच सहमतिमै सम्बन्ध कायम भएको थियो । तर, पछि चन्दले सोही सम्बन्धलाई हतियारबनाउँदै ती पुरुषलाई जबर्जस्ती करणीको मुद्दामा फसाइदिने र नग्न तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै त्रास देखाउन थालिन् ।
त्यसपछि पीडित पुरुषले प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही पश्चात् कार्यालयबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको हो ।
यसरी त्रास देखाएर विभिन्न मितिमा पटक पटक गरी १४ लाख २५ हजार नगद पीडितसँग रकम असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी चन्दमाथि आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4