
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतको मुम्बईबाट करिब तीन साताअघि हराएको खुलेको छ।
- मृत भेटिएका १६ वर्षीया मेनुका कँडेल र १३ वर्षीया सिर्जना कँडेललाई नायलोन डोरीले बाँधेर झुन्डिएको अवस्थामा फेला पारिएको छ।
८ साउन, काठमाडौं । भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट हराएको खुलेको छ । करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएका दुईजना नेपाली दिदीबहिनी शंकास्पद अवस्थामा भक्तपुरमा मृत भेटिएका हुन् ।
मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोरी दिदीबहिनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले बताए ।
बिहीबार बिहान ६:४५ बजेतिर प्रजापतिको इँटा र फलामले बनेको दुईतले घरको भुइँतलामा दिदीबहिनी मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिनेमा सुर्खेत पञ्चपुरी नगरपालिका-८ घर भएका १६ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १३ वर्षीया सिर्जना कँडेल छन् ।
आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो । फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा उनीहरू मृत भेटिएका हुन् ।

प्रहरीले उनीहरूको शव उठाएको छैन । आफन्तले मृतकका बाबुआमा आएपछि मात्रै शव उठाउनु भनेपछि घटनास्थल सुरक्षित गरेर राखिएको प्रवक्ता नेउपानेले बताए ।
भारतमा रहेका उनका बाबुआमा आजै दिल्लीबाट विमानमार्फत काठमाडौं आउने तयारीमा रहेको प्रहरीले बताएको छ ।
उनीहरूको मृत्यु शंकास्पद देखिएको छ । मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन् । मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए । सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव, उमा)ले सीसी क्योमरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए ।
उनीहरूले यो कुरा तीन दिन पहिला ५ साउनमा बताएको प्रकाशित अन्तर्वार्ताको मितिबाट खुल्छ । त्यसको तीन दिनपछि दुवैजना झुन्डिएको अवस्थामा मृत भेटिएको खबर सार्वजनिक हुन्छ ।
यता, यो विषयमा भने केही जानकारी नभएको प्रहरीले बताएको छ । ‘अहिले उहाँहरूका बाबुआमा तथा आफन्तसँग हामीले कुराकानी गर्न पाएका छैनौं । होटलमा काम गर्ने हो/होइन त्यो पनि यकिन हुन पाएको छैन । अहिले सबै विषय अनुसन्धानकै क्रममा छ,’ नेउपानेले अनलाइनखबरसँग भने ।
प्रहरी स्रोतका अनुसार मृत भेटिएका किशोरी करिब १५ दिनअघिबाट उक्त घरमा बसेको पाइएको छ । उनीहरूले घरबेटीलाई भने आफूहरू कलेज पढ्ने भनेर कोठा लिएको बताएको प्रहरीले अनलाइनखबरलाई जनाएको छ ।
अहिले घटनास्थल सुरक्षित पारेर राखिएको छ । मृतकका बाबुआमा आएपछि घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि पठाइएपछि बल्ल अनुसन्धानले गति लिने प्रहरीले बताएको छ ।

भारतमा खोजी गर्दा थाकेका थिए बाबुआमा
किशोरीका बाबु वासुदेवले सिगास अनलाइन टिभीलाई बताएअनुसार उनी ३० वर्षभन्दा पहिलादेखि भारतमा बस्दै आएका थिए । कान्छी छोरी सिर्जनालाई जन्मेको एक वर्षपछि आफूसँगै लगेका थिए । मृत भेटिएकी दिदी मेनुका भने सुर्खेतमै थिइन् ।
श्रीमती र छोराछोरीसहित वासुवेद मुम्बईमा लामो समयदेखि बस्दै आएका थिए । मेनुकाले पनि बाबुआमासँगै भारत जाने, घुम्ने बस्ने इच्छा देखाएपछि उनलाई पनि सँगै लगिएको थियो ।
भर्खर भारत गएकी मेनुकालाई हिन्दी आउँदैनथ्यो । छोरीहरूलाई भारतमा बासुदेवले सिलाइबुनाइ र कम्प्युटरको क्लास भर्ना गराइदिएका थिए । तर करिब तीन साताअघि कम्प्युटर क्लास जान्छु भनेर गएका छोरीहरू घर फर्किएनन् ।
त्यसदिन म्यासेन्जरमा कल गर्दा उठेन । त्यसपछि आमा उमाले भ्वाइस म्यासेज छाडिन्, ‘रोटी बनाएर खानू । म काममा गएँ ।’
कान्छी छोरीको भ्वाइस म्यासेज आयो, ‘ममी हामी यहाँ छैनौं । हामी बैंगलोर गयौं । पैसा कमाएपछि तपाईंलाई भेट्छौं । त्यो भन्दा अघि भेट्न सक्दैनौं ।’
त्यसपछि उमा झस्किइन् । श्रीमान् वासुदेवलाई फोन गरेर घटनाबारे जानकारी गराइन् । कामबाट फर्किएर घर आइन् । श्रीमान् पनि कोठामा आइपुगे ।
हेर्दा छोरीहरूका कपडा छैनन् । पैसा छैन । एटीएम, आधार कार्ड छैन । आफन्तकोमा पनि छैनन् । कम्प्युटर क्लास जान्छु भनेर हिँडेका छोरीहरू बेपत्ता भएपछि उनीहरू प्रहरीदेखि सामाजिक संस्थालाई जानकारी गराउँदै खोजी तीव्र पारे ।

‘लोकेसन चेक गर्न लगाउँदा बिउण्डुतिरको देखायो । त्यता खोजियो । गाडी बुक गरेर तीन-चार जना मान्छे प्रहरी लगाएर खोज्दा पनि कही भेटिएन । राति २ बजे खोज्न गएको मान्छे भोलिपल्ट दिउँसो २ बजेतिर फर्कियौं । र, भोलिपल्ट प्रहरीमार्फत लोकेसन हेर्दा नेपालतर्फ गएको देखियो । बीचबीचमा मोबाइल अफ भएको पनि देखियो,’ आमा उमाले भनेकी छिन् ।
दिदीलाई हिन्दी नआउने, बहिनीलाई नेपालको बारेमा केही जानकारी नभएका उनीहरू आफूखुसी यसरी हिँडे होलान् भनेर वासुदेव र उमालाई विश्वास लागेन । कि कसैले लगेको हुनुपर्छ, कि यसो गर भनेर कसैले फोनमार्फत नै सिकाएको हुनुपर्ने उनीहरूको बुझाइ छ ।
खोजीको क्रम जारी थियो । दिदीबहिनी गोरखपुर बोर्डरतर्फ गएको जानकारी प्रहरीले दियो । खोज्दाखोज्दा थाकेका बाबुआमाले केही दिनपछि छोरीहरू काठमाडौंमा एक होटलमा काम गरेको सूचना पाए । त्यो सत्य हो/होइन यकिन भएको छैन ।
बाबुआमाले बताएअनुसार उनीहरूलाई होटलमा काम लगाइएको थियो । सीसी क्यामेराले नदेख्ने ठाउँमा काम लगाएको भनेपछि उनीहरूको मन झनै चिसो भएको थियो ।
उनीहरूलाई यो कुरा कसले भन्यो, होटलमा काम गरेको हो/होइन भन्ने विषय अनुसन्धानकै पाटो बन्ने देखिन्छ । यी सबै कुरा उनीहरूका बाबुआमा आएपछि अनुसन्धान हुने प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4