
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाे छ।
- अविश्वास प्रस्तावमा ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन्।
- मुख्यमन्त्री लामाले नेतृत्व छाड्न नचाहँदा बानियाँ पक्षले अविश्वास प्रस्ताव लैजाने तयारी गरेका छन्।
९ साउन, हेटाैंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ ।
लामालाई नेपाली कांग्रेस संसदीय दलकाे नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । केहीबेरअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हाे । लामा बागमती प्रदेशको मुख्यमन्त्री समेत हुन् ।
अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । संसदीय दलकाे कार्यालयमा कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँकाे नेतृत्वमा सांसदहरूकाे बैठक बसेकाे थियाे । बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएकाे हाे ।
मुख्यमन्त्री लामा नेतृत्वकाे सरकारले आव २०८२/८३ का लागि ल्याएकाे बजेटमा कांग्रेसभित्र चर्काे विवाद भएकाे थियाे । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारकाे नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेकाे एक सांसदले दाबी गरे ।
कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । लामालाई मुख्यमन्त्रीबाट हटाउनकाे लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हाे ।
अविश्वास प्रस्ताव दर्ता गर्नुअघि कांग्रेसबाट प्रतिनिधित्व गरेका ४ जना मन्त्रीले राजीनामा दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री बहादुरसिं लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएका थिए ।
बागमतीकाे मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसभित्र अन्तरसंघर्ष चलिरहेकाे छ । बहादुर सिंह लामाकाे बहिर्गमन पश्चात मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँ अगाडि सरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सरकारकाे नेतृत्व परिवर्तन हुने स्पष्ट निर्देशन दिएपछि बानियाँ पक्ष अगाडि बढेकाे सांसदहरू बताउँछन् ।
देउवाले गत बुधवार मुख्यमन्त्री लामालाई बाेलाएर छलफल गरेकाे थिए । उनले राजीनामा दिएर बानियाँलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएकाे देउवासँग भेट गरेका एक मन्त्रीले जानकारी दिए ।
लामा मुख्यमन्त्री नछाेड्ने अडानमा छन् । नेतृत्व हस्तान्तरण गर्न नसकिने धारणापछि बानियाँ पक्ष अविश्वासकाे प्रस्ताव लैजाने मनस्थितिमा पुगेकाे जनाइएकाे छ ।
१३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामासँग बागमती प्रदेश सभापति बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।
प्रतिक्रिया 4