+
+
Shares

सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई हिरासत राख्न ४ दिन म्याद थप

काठमाडौं जिल्ला अदालतले अग्रवाललाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई अनुमति दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १७:४८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
  • अग्रवालमाथि ठगी र विश्वासघातको आरोप छ, उनले एक व्यक्तिबाट करिब ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको बताइएको छ।
  • नेपाल धितोपत्र बोर्डले अग्रवालको ठगी विषयमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

९ साउन, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालको हिरासत बसाइँ थप ४ दिन लम्बिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले अग्रवाललाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई अनुमति दिएको हो ।

अग्रवाललाई ठगी तथा विश्वासघात अरोपमा प्रहरीले गत सोमबार टोखाबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै अदालतमा पेस गरेको प्रहरीले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको थियो ।

त्यसपछि प्रहरी पुन: बिहीबार अग्रवाललाई अदालतमा उपस्थित गराएको थियो । बिहीबार अदालतले एकदिन मात्रै म्याद थप गर्ने अनुमति दिएपछि पुन: शुक्रबार अदालत लगेको थियो । शुक्रबार अदालतले थप दिन म्याद थप गर्दै प्रहरीलाइ थप अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाइ सेयर सम्बन्धी ठगी तथा विश्वासघात गरेको अरोपमा पक्राउ गरेको हो । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

धनुषा जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको ६ करोड ४५ लाख रुपैयाँ ठगी आरोपमा उनी पक्राउ परेको परिसरका एक अनुसन्धान अधिकृतले बताए ।

करिब साढे ६ करोड रुपैयाँ दिए पनि साहले न सेयर पाए न रकम नै फिर्ता पाए । सेयरको प्रलोभन देखाएपछि आफूले अग्रवालको खातामा रकम हालेको साहको भनाइ छ । पछि रकम पनि फिर्ता नपाएको र सेयर पनि नपाएपछि उनी प्रहरीकोमा पुगेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अग्रवालविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतबाट ३० असारमा अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको एक सातामा उनी पक्राउ परे ।

प्रलोभन देखाएर रकम ठगी गरेको पाइएपछि अग्रवालविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको छ । एकै पीडितबाट ठूलो रकम ठगी भएको प्रहरीले बताएको छ । यो ठगीमा अग्रवालसहित अन्य दुई जना पनि जोडिएको खुलेको छ ।

पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले उनीहरूको परिचय खुलाएको छैन । मोरङ विराटनगर महानगरपालिका–९ स्थायी घर भएका ४२ वर्षीय अग्रवाल काठमाडौं महानगरपालिका–१४ बस्दै आएका थिए ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएको आरोप पनि छ । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो ।

अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र अनावश्यक हल्ला फैलाएर सेयर मूल्य बढाइ बिक्री गर्ने गरेको आरोप छ । उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जालमार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पु‍र्‍याउने भन्दै झुटा अश्वासन दिने गर्थे ।

सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे । साथै, अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउने गरेको आरोप पनि छ । उनले ती खातामार्फत आफैं खरिद गर्ने र आफैंले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?