
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर कारोबारी दीपेन्द्र अग्रवाल काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ परेका छन्।
- अग्रवालले धनुषाको जनकपुरका दिनेशप्रसाद साहबाट करिब ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
- उनविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ।
५ साउन, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल सोमबार काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ परे ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ परेका अग्रवालविरुद्ध आजै म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
उनी पक्राउ पर्नुमा पनि सेयरसम्बन्धी कारोबार जोडिएको पाइएको छ । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको ६ करोड ४५ लाख रुपैयाँ ठगी आरोपमा उनी पक्राउ परेको परिसरका एक अनुसन्धान अधिकृतले बताए ।
साहले अग्रवाललाई उक्त रकम दिनुको कारण सेयरसम्बन्धी कारोबार रहेको परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहरा बताउँछन् । ‘सेयर दिलाइदिन्छु भनेपछि रकम दिएको पीडितले बताएका छन्,’ एसपी बोहराले अनलाइनखबरसँग भने ।
करिब साढे ६ करोड रुपैयाँ दिए पनि साहले न सेयर पाए न रकम नै फिर्ता पाए । सेयरको प्रलोभन देखाएपछि आफूले अग्रवालको खातामा रकम हालेको साहको भनाइ छ । पछि रकम पनि फिर्ता नपाएको र सेयर पनि नपाएपछि उनी प्रहरीकोमा पुगेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा अग्रवालविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतबाट ३० असारमा अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको एक सातामा उनी पक्राउ परे ।
प्रलोभन देखाएर रकम ठगी गरेको पाइएपछि अग्रवालविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको छ । एकै पीडितबाट ठूलो रकम ठगी भएको प्रहरीले बताएको छ । यो ठगीमा अग्रवालसहित अन्य दुईजना पनि जोडिएको खुलेको छ ।
पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले उनीहरूको परिचय खुलाएको छैन । मोरङको विराटनगर महानगरपालिका-९ स्थायी घर भएका ४२ वर्षीय अग्रवाल काठमाडौं महानगरपालिका-१४ बस्दै आएका थिए ।
अग्रवालले सेयर कारोबारमार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएको आरोप पनि छ । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो ।
सेयर बजारमा धेरै लगानीकर्ताले ‘आदर्श’ मान्ने गरेका अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दै आएको आरोप छ । उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जालमार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्याउने भन्दै झुटा अस्वासन दिने गर्थे । सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे ।
अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउने गरेको आरोप पनि छ । उनले ती खातामार्फत आफैं खरिद गर्ने र आफैंले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएको आरोप छ ।
प्रतिक्रिया 4