
९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने उनले बताए ।
‘हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान हुन्छ । तत्कालका लागि ५ सय जति डिप बोरिङ गर्नेछौँ । एउटाले लगभग ६० बिघा जमिन सिंचाइ गर्न सकिन्छ,’ उनले भने ।
पानीको अभावका कारण मधेस सुख्खाग्रस्त भएको बताउँदै सरकारले संकटग्रस्त क्षेत्र घोषणासमेत गरिसकेको उनले बताए ।
सरकार संकटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरू सुरु गरिसकेको बताए ।
‘मधेश सुख्खाग्रस्त छ । पानीको अभावको कारणले सुख्खाग्रस्त भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरेका छौँ । संकटग्रस्त क्षेत्र घोषणा गर्ने मात्रै होइन यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुई उपायहरूबाट काम गर्नेछौं,’ उनले भने,
चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा सरकार लागेको पनि प्रधानमन्त्री ओलीले बताए ।
‘चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकूल वातावरणतर्फ फर्काउने काम गर्दछौँ । तत्कालका लागि अरु विभिन्न काम अघि बढाउनेछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारको तर्फबाट यस काममा मद्दत गर्न सरकारका सबै निकायहरूलाई आग्रह गर्दछु । गैरसरकारी संघसंस्था सबैलाई साथ सहयोग गर्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले ८ वटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता पनि सो क्रममा जनाए ।
प्रतिक्रिया 4