
१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबीच सुपुदर्गी सन्धि हुने तयारीमा रहेको बताएका छन् ।
शनिबार पुष्पलालको जन्मजयन्ती पारेर आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
यो सन्धी हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके तयसले नेपालको राष्ट्रियतामाथि हमला हुने खनालको भनाइ छ ।
‘अहिले मैले सुनिरहेको छु, नेपाल र भारतबीच सुपदर्गी सन्धी हुँदैछ,’ खनालले भने, ‘त्यो सन्धि हुँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न सकेन भने नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेवाला छ ।’
उक्त विषय पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै सुनाउन चाहेको खनालले बताए ।
सोही कार्यक्रममा केहीबेर अघिमात्रै प्रचण्डले बोलेर हिँडेका थिए । उनी नभए पनि प्रतिपक्षी दलको नेताको हिसाबमा सञ्चारमाध्यमबाटै पनि यो विषय सुनिदिन खनालले आग्रह गरे ।
कोशी उच्च बाँध बन्ने कुरा पनि आइरहेको भन्दै त्यसबारे जनता र दलका नेताहरूलाई जानकारी हुनुपर्ने बताए ।
‘कोशी उच्च बाँधको कुरा कसरी आउँदैछ भन्ने कुरा नेपाली जनताले थाहा पाउनुपर्छ । त्यो नेपालको राष्ट्रिय हितमा छ कि छैन भन्ने बुझ्नुपर्ने हुन्छ,’ खनालले भने ।
प्रतिक्रिया 4