+
+
Shares

३ हजार नाघेर झर्‍यो सेयर बजार, साढे २६ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा लगातार ८ कारोबार दिनपछि आइतबार नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४ अंकमा झरेको छ।
  • आजको कारोबार रकम २६ अर्ब ५७ करोड पुगेको छ जुन गत वर्षको भदौ २ यताकै उच्च हो।
  • हाइड्रोपावर समूहले कुल कारोबारको ४३ प्रतिशत हिस्सा ओगटेको छ र ११ अर्ब ६२ करोडको कारोबार भएको छ।

११ साउन, काठमाडौं । लगातार बढेको ८ कारोबार दिनपछि आज आइतबार सेयर बजार घटेको छ ।

अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ : ५० बजे ३ हजार १२ अंकसम्म पुग्यो ।

त्यसपछि बिक्री चाप बढ्यो । गत वर्ष साउन ३० गते कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ हजार अंकमै पुगेको थियो । अहिले सोही अंकलाई बजारले प्रतिरोधका रुपमा सामना गरेको छ । ४ वर्षअघि २०७८ भदौ २ गते नेप्से परिसूचक ३१९८ अंक पुगेको रेकर्ड छ ।

आइतबार कारोबार रकम पनि उल्लेख्य बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा आज २६ अर्ब ५७ करोडको भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सो दिन २८ अर्ब ८३ करोडको कारोबार भएको थियो । गत वर्षको साउन ३० गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार रेकर्ड छ ।

आजको कारोबारमा पनि हाइड्रोपावर समूह सबैभन्दा अगाडि छ । सो समूहको मात्रै ११ अर्ब ६२ करोडको कारोबार भयो । कुल कारोबारमा हाइड्रोपावर समूहको हिस्सा ४३ प्रतिशत हो । विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूको कारोबार २–२ अर्बमाथिको भयो ।

आज ६३ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो । धेरैजसो समूह घटे पनि केही बढे । विकास बैंक १.२३, उत्पादन तथा प्रशोधन १.०८ तथा व्यापार १.४४ प्रतिशत बढे । माइक्रोफाइनान्स १ अंकमुनि हरियो रह्यो ।

फाइनान्स सबैभन्दा धेरै १.९९ प्रतिशत घट्यो । बैंकिङ ०.७१, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.०९, लगानी १.६६, जीवन बीमा १.३५, निर्जीवन बीमा ०.६७ तथा अन्य ०.८६ प्रतिशत घटे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जी छन् । हालै सूचीकृत ट्रेड टावरको मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ पुगेको छ भने सान्भीको ६३५.६० रुपैयाँ पुगेको छ । त्यस्तै लुम्बिनी विकास बैंकको ८.४७, ग्रिन भेन्चर्सको ६.२९, सगरमाथा जलविद्युत कम्पनीको ६ प्रतिशत मूल्य बढ्यो ।

नारायणी डेभलपमेन्ट बैंकको ६.३४, राप्ती हाइड्रोको ४.९९, बुटवल पावरको ४.११ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा, कालिका पावर र ग्रिन भेन्चर्स छन् । बजारको पूँजीकरण ४९ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?