News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीलंकाका पूर्व टेस्ट क्रिकेटर कौशल सिल्भा हङकङ पुरुष क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्।
- सिल्भाले २०११ देखि २०१८ सम्म श्रीलंकाका लागि ३९ टेस्ट खेलेका थिए र २०१९ मा खेल जीवनबाट सन्यास लिएका थिए।
- हङकङले सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप टी–२० प्रतियोगितामा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
१२ साउन, काठमाडौं । श्रीलंकाका पूर्व टेस्ट क्रिकेटर कौशल सिल्भा हङकङ पुरुष क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्। आगामी सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप टी–२० प्रतियोगिताअघि उनको नियुक्ति गरिएको हो ।
३९ वर्षका सिल्भाले २०११ देखि २०१८ सम्म श्रीलंकाका लागि ३९ टेस्ट खेलेका थिए। उनी विकेटकिपर ओपनरको रूपमा सफल थिए । उनले २०९ प्रथम श्रेणी खेलमा १३ हजार ९३२ रन बनाएका थिए र ४१ शतक प्रहार गरेका थिए, जसमा ३ टेस्ट शतक पनि छन्।
२०१९ मा खेल जीवनबाट सन्यास लिएपछि सिल्भाले श्रीलंका, इंग्ल्यान्ड र अष्ट्रेलियामा प्रशिक्षकको रूपमा काम गरेका थिए, तर अन्तर्राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा भने यो उनको पहिलो काम हुनेछ ।
क्रिकेट हङकङ-चाइनाका अध्यक्ष बुरजी श्रफले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘हामीलाई विश्वास छ कि कौशलको मार्गदर्शनमा हाम्रो प्रतिस्पर्धात्मक स्तर उकास्नुका साथै क्रिकेटको विकासमा पनि टेवा पुग्नेछ।’
सिल्भाले भने, ‘मेरो ध्यान टोलीमा कडा मेहनत र जित मानसिकता विकास गर्नेमा रहनेछ, साथै नयाँ प्रतिभाको पहिचान र विकासमा लाग्नेछु।’
हालै सिंगापुरमा सम्पन्न एसिया पेसिफिक क्रिकेट च्याम्पियन्स ट्रफीमा हङकङले फाइनलमा मलेसियासँग हार बेहोरेको थियो।
सेप्टेम्बरमा हुने एसिया कपमा समूह बी मा रहेको हङकङले उद्घाटन खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बंगलादेश र श्रीलंकासँग पनि प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया 4