+
+
Shares

एक्सन अवतारमा देखिन चाहेकी बेनिशा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री बेनिशा हमालले साउन २३ गते प्रदर्शन हुने दुई फिल्म 'सिटामोल' र 'मोहर'को प्रचारमा व्यस्त छिन्।
  • उनले दुवै फिल्म फरक शैली र भूमिकामा भएकाले प्रचारको व्यस्ततालाई अवसरको रूपमा लिन्छिन् भनी बताइन्।
  • बेनिशाले फिल्मी यात्रामा १४ वर्ष पूरा गरेकी छिन् र हाल निर्माणमा पनि सक्रिय छिन्।

काठमाडौं । अभिनेत्री बेनिशा हमाल यतिबेला आगामी दुई फिल्म ‘सिटामोल’ र ‘मोहर’को प्रचारमा ब्यस्त छिन् । एकै दिनमा दुई फिल्म आउने भएपछि उनको ब्यस्तता निकै छ ।

यी दुवै फिल्म साउन २३ गतेदेखि प्रदर्शन तयारीमा छन् । फरक समयमा छायांकन भएका यी दुई फिल्म एकैसाथ रिलिज हुने भएपनि यसले आफू दबाबमा नभएको दावी उनले गरिन् ।

‘फिल्मको छायांकन फरक समयमा भएकोले एकैसाथ आउन लागे पनि मलाई खासै दबाब लागेको छैन,’ उनले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘प्रचारप्रसारको व्यस्ततालाई उनी अवसरको रूपमा लिन्छिन्, किनभने दुई फिल्मको सन्देश, शैली र आफ्नो भूमिकामा निकै फरक छन् ।’

फिल्म ‘सिटामोल’मा उनले एउटी गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छन् । यसको ट्रेलर हेर्दा पैसाको अभावले पारिवारिक सम्बन्धमा पर्ने असर र त्यसले निम्त्याउने मानसिक द्वन्द्वलाई उठान गरिएको देखिन्छ ।

बेनिशा भन्छिन्, ‘फिल्म कत्तिको चल्छ भन्ने त दर्शकले नै बताउँछन्, तर म ढुक्क छु मेरा पात्रले सबैको मन छुनेछ ।’

उनी दुवै फिल्मप्रति सकारात्मक छिन् । ‘एउटा फिल्म चल्नु भनेको कलाकारको करिअरमा ठुलो कुरा हो, त्यही भएर मैले दुवै फिल्मबाट राम्रो अपेक्षा राखेकी छु’ , उनले भनिन् ।

उनको फिल्मी यात्रा अहिले १४ वर्ष पुगेको छ । दर्जनभन्दा बढी फिल्म र सयौँ म्युजिक भिडियोमा काम गरेकी छन् । यस क्रममा उनले आफूमा धेरै परिवर्तन आएको अनुभव सुनाइन् ।

सुरुमा फिल्मको अफर आयो भने सोचविचार नगरिकन साइन गर्ने गरेको तर अहिले भने यो सोचमा परिवर्तन आएको उनी बताउँछिन् ।

‘अब म कुनै पनि फिल्म साइन गर्नुअघि कथा, पात्र, टिम र फाइनान्स सबै कुरा मिल्छ कि मिल्दैन भनेर हेर्छु,’ उनले भनिन्, ‘कति पटक त स्क्रिप्ट र टिम सबै मन परे पनि पारिश्रमिकमा कुरा नमिलेर फिल्म गरेकी छैन ।’

भन्छिन्, ‘यो यात्रामा मैले आफैँलाई धेरै परिपक्व बनाएकी छु । परिवारको साथ, सोच्ने तरिका र आत्मनिर्णयमा ठुलो फरक आएको छ ।’

विगतका फिल्ममा उनले भिन्न खाले चरित्रमा आफूलाई प्रस्तुत गरिन् । अब भने उनको रुचि एक्सन फिल्मको पात्र तिर बढेको देखिन्छ ।

‘सानैदेखि मार्सल आट्र्समा रुचि थियो,’ उनले भनिन्, ‘अब त्यो सीप पर्दामा देखाउने अवसर खोज्दैछु ।’

पछिल्लो समय बेनिशा अभिनेत्री मात्र होइन, निर्माणमा पनि जुटेकी छन् । मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘द ब्लु लाइट’मा उनी कलाकार मात्र नभई कार्यकारी निर्माताको रूपमा पनि काम गरिरहेकी छन् ।

निर्माता भएर काम गर्दा फिल्मको अन्य पक्ष बुझ्न सजिलो हुने भएकोले आफू उत्साहित भएको उनी बताउँछिन् । ‘फिल्ममा अभिनय गर्दै जाँदा पछि गएर गर्ने काम भनेको त्यही नै हो, त्यसैले यो मेरो लागि अवसर पनि हो,’ उनले भनिन् ।

बेनिशा अभिनय र निर्माणको यात्रालाई सम्पूर्ण सिकाइ र अनुभवको प्रक्रियाका रूपमा लिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?