
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्म ‘सितारे जमीन पर’ युट्युबमा १०० भारु भुक्तानीमा रिलिज गर्ने घोषणा गर्नुभएको छ।
- यो फिल्म भारतसहित ३८ अन्तर्राष्ट्रिय बजारमा ‘मूभिज-अन-डिमान्ड’ मोडलमा उपलब्ध हुनेछ।
- खानले डिजिटल भुक्तानी र इन्टरनेट पहुँच बढेको कारण यो निर्णय व्यवहारिक भएको बताउनुभएको छ।
काठमाडौं । बलिउड अभिनेता तथा निर्माता आमिर खानले आफ्नो पछिल्लो सुपरहिट फिल्म ‘सितारे जमीन पर’लाई सीधै युट्युबमा रिलिज गर्ने भएका छन् ।
दर्शकले १०० रुपैयाँ भारु (१६० रुपैयाँ नेरु) तिरेर यो फिल्म युट्युबमा हेर्न सक्नेछन् । ‘मूभिज-अन-डिमान्ड’ मोडलमा यो फिल्मलाई रिलिज गर्न लागिएको आमिरलाई उध्दृत गर्दै भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।
विश्वब्यापी ३० मिलियन डलरको कमाइ गरेको यो फिल्म दर्शकले युट्युबमा भारतसहित ३८ अन्तर्राष्ट्रिय बजारमा हेर्न सक्नेछन् ।
‘लगभग १५ वर्ष पहिले, मैले महसुस गरें कि हाम्रा सबैभन्दा सफल फिल्महरू जस्तै ’थ्री इडियट्स’ वा ’दंगल’, थिएटरमा हेर्ने मानिसको तथ्याङ्क जनसंख्याको लगभग २-३% हो’ खानले भेराइटीलाई भने, ‘त्यसोभए मेरो मनमा आएको अर्को विचार के हो भने, हामी बाँकी ९७-९८% सम्म कसरी पुग्ने ?’
भारतीय मिडियाको परिदृश्यमा देखिएका थुप्रै प्राविधिक र व्यवहारिक परिवर्तनको बाबजुद आमिर खानले यो परीक्षण गर्न लागेका हुन् । गत महिना उनले यो फिल्मलाई ओटीटीमा रिलिज नगर्ने बताएका थिए ।
युट्युबमा रिलिज गर्ने उनको यो निर्णयलाई ओटीटीलाई उनको चुनौतीको रुपमा हेरिएको छ । खानले डिजिटल भुक्तानी र इन्टरनेटको बढ्दो पहुँच, स्मार्टफोन र स्मार्ट टिभीको प्रसारजस्ता कुराले यो निर्णयलाई व्यवहारिकरुपमा सफल बनाउने बताए ।
‘भारत इलेक्ट्रोनिक भुक्तानीमा नम्बर १ देश हो । लगभग सबैले भुक्तानी गर्न विभिन्न एपहरू प्रयोग गर्छन्’ खानले टिप्पणी गरे, ‘पहिले इन्टरनेट पहुँच त्यति बलियो थिएन । आज, यो धेरै बलियो छ र बलियो हुँदै गइरहेको छ ।’
युट्युब इन्डियाकी कन्ट्री प्रबन्ध निर्देशक गुञ्जन सोनीले आमिरसँग साझेदारीको प्रमुख कारणको रूपमा प्लेटफर्मको व्यापक पहुँच प्रमुख रहेको बताइन् ।
भारत र अन्तर्राष्ट्रियस्तरमा व्यापक दर्शकसम्म पुग्नको लागि यो फिल्मले प्रमुख भाषाहरूमा सबटाइटल र डबिङ सुविधा प्रदान गर्ने भएको छ । आमिरको आगामी फिल्मको रुपमा सनी देओल र प्रीति जिन्टा अभिनीत “लाहोर १९४७“ र जुनैद खान र साई पल्लवी अभिनीत “एक दिन“ समावेश छन् ।
यी दुबै आमिर खान प्रोडक्सनको ब्यानर अन्तर्गत बन्न लागेका हुन् ।
प्रतिक्रिया 4