१४ साउन, काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्युनीकरण गर्ने आफ्नो मागहरू पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गरेका छन् ।
आइतबारबाट माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका उनले यस्तो आह्वान गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै नागरिकको बाँच्न पाउने हकको आवाज उठाइदिनका लागि राष्ट्रिय मानव अधिकार आयोगलगायत संघसंस्थालाई आग्रह पनि गरे ।
‘म आफ्ना मागहरू पूरा नभए देहत्याग गर्न तयार भएको अवस्थामा आँखा छलेर वा घाम अस्ताएको बेला केही खाएको छैन, खानु हुँदैन,’ उनले भने, ‘केही मुलभूत सिद्धान्त हुन्छन् । त्यसकारण मेरो सत्याग्रहको पारदर्शिताका लागि एक जना प्रतिनिधि पठाईदिन आग्रह गरेको छु ।’
स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बँुदे मागसहित सत्याग्रह बसेको उनले बताए ।
‘वार्ता समितिलाई पनि मेरो मान्यता, भावना र संस्कारविपरित हुने भएकोले किसान बचाउने, हिमाल बचाउने, पर्यावरण बचाउने र धर्म तथा संस्कृति बचाउने मेरो नेतृत्वको स्थानीय सरकारको भावनालाई ठेस पुग्ने गरी वार्तामा बस्ने संघीय समितिका प्रतनिधिहरूले मेरा ठोस माग पूरा गर्नेबाहेक अनावश्यक बार्गेनिङ नगरिदिन हुन अनुरोध गर्न चाहन्छु,’ उनले भनेका छन् ।
भुइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको उनले बताए ।


                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4