 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- गत वर्ष साउन ३१ गते ३००० अंक पुगेको सेयर बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो।
- यो वर्ष साउन १३ गते सेयर बजार ३००२ अंकमा पुगेपछि दुई दिनमा ८० अंक घटेर २९२२ अंकमा कायम भएको छ।
- सेयर बजारमा घटाइलाई करेक्सन मान्दै लगानीकर्ताले सावधानी अपनाउनुपर्ने सुझाव दिइएको छ।
१५ साउन, काठमाडौं । गत वर्षको साउन ३१ गते ३ हजार अंक पुगेको सेयर बजार घट्दै गएर गत वर्षको असोज १३ गते २४६४ अंकसम्म झर्यो ।
यो वर्ष फेरि गत मंगलबार ३००२ अंकमा पुगेर सेयर बजार ओरालो लाग्न थालेको छ । बुधबार र बिहीबार दुई दिनमा ८० अंक घटेको छ । हाल २९२२ अंकमा कायम भएको छ ।
३ हजार हाराहारीमै पुगेर बजार दुई वर्ष ओरालो लागेपछि एकथरि लगानीकर्तामा डर बढेको छ । यो वर्ष पनि बजार ३ हजार अंकमुनि झरेपछि फेरि १ वर्षसम्म साेभन्दा तल अल्मलिने हो कि भन्ने शंका बढेको छ ।
गत मंगलबारको बजार अंक करिब ४ वर्षकै उच्च हो। २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनेको थियो । मंगलबारको अंक सोही महिनाको भदौ १३ यताको उच्च हो ।
तर यतिबेला पोहोरजस्तो अवस्था नआउने जानकार बताउँछन् । अहिलेको घटाइलाई करेक्सनका रुपमा व्याख्या गर्दै उनीहरु बजारले ३ हजारको अंक छिट्टै तोड्ने दाबी गर्छन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट गत वर्ष र अहिले अर्थतन्त्रका सूचक, नीतिगत व्यवस्था तथा ब्याजदर समेत धेरै परिवर्तन भइसकेकाले त्यो बजारका सूचकमा देखिने बताउँछन् ।
उनले भनेजस्तै गत वर्ष ठूलो सेयर कर्जाको जोखिम भार १२५ प्रतिशत थियो, अहिले १०० प्रतिशत छ । व्यक्तिगत सेयर कर्जाको सीमा १५ करोड थियो, अहिले २५ करोड बनाइएको छ, सेयर कर्जा बढेको छ । यीसहित अन्य नीतिगत व्यवस्था सहज बन्दै गएको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ जेठमा ८.१७ प्रतिशत रहेकोमा अहिले ६.०९ प्रतिशतमा झरेको छ ।
गत वर्ष राष्ट्र बैंकसँग बैंकहरुको ३ खर्ब हाराहारी अधिक तरलता संकलन भएकोमा अहिले त्यो बढेर ६ खर्ब ७० अर्ब हाराहारीमा पुगेको छ । ‘बजारलाई सपोर्ट गर्ने यिनै पक्ष परिवर्तन भएका कारण बजारले यो वर्ष पनि उस्तै प्रवृत्ति देखाउँछ भन्नु गलत हो’ उनले भने ।
यो वर्ष धेरै नयाँ कम्पनी थपिइसकेका कारण पनि पहिलेको ३ हजारभन्दा अहिलेको ३ हजार अंक सानो मानिने लगानीकर्ताको भनाइ छ ।
असार १५ देखि साउन १३ गतेसम्मको छोटो अवधिमै बजार ४०७ अंकको वृद्धि भएको छ । असार १५ गते कारोबार खुल्दा २५९५ अंकमा रहेको बजार साउन १३ गते ३००२ अंकमा पुग्यो । त्यसकारण बजारको करेक्सनलाई लगानीकर्ता/कारोबारीले सहज रुपमा लिनुपर्ने जानकार बताउँछन् ।
गत वर्ष राजनीतिक माहोलले बजारलाई बढी प्रभाव पारेर ३ हजार अंक पुर्यायो, तर अहिले मजबुत बन्दै गरेका सूचक, अति न्यून ब्याजदर, थुप्रिएको तरलता र सहज गराइएका नीतिगत व्यवस्थाले सपोर्ट गरेको छ, यी विषयले बजारलाई क्षणिक होइन, लामो प्रभाव पार्ने रानाभाट बताउँछन् ।
प्राविधिक जानकार सुवासचन्द्र ढुंगाना गत वर्ष ३ हजार अंकबाटै बजार झरेकाले लगानीकर्तामा अहिले मनोवैज्ञानिक प्रभाव परेको बताउँछन् ।
‘बजार प्रतिरोधकै विन्दुबाट घटेको हो, दैनिक क्यान्डिलस्टिक चार्टअनुसार बजार घटेर २८५० अंकसम्म झर्छ भने सामान्य हो’ ढुंगानाले भने ‘यदि त्योभन्दा धेरै घट्यो भने बजारको साइडवेज केही लामो हुन सक्छ ।’
बजारको अंक थामिने बिन्दु कसैले पनि जान्दैनन् । त्यसैले यस्तो बेला अरुका भनाइभन्दा पनि आफैले सैद्धान्तिक पक्षलाई समेत ध्यान दिएर कारोबार गर्नुपर्ने अनुभवी लगानीकर्ता सुझाउँछन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4