
निजामती कर्मचारी आन्दोलनका अमर सहिदहरू– मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले कार्यक्रमहरूको शृंखला सुरु गरिसकेको थियो । रचनात्मक कार्यक्रम गरेर ती सहिदहरूप्रति श्रद्धा र सम्मान अर्पण गर्ने हाम्रो साझा उद्देश्य थियो ।
लोक सेवा आयोगको विभागीय कार्यसमितिको नेतृत्वको नाताले मेरो मनमा पनि रचनात्मक कार्यक्रम गर्ने हुटहुटी चल्न थाल्यो । सहिदको सम्मानमा त्यस्तो के गर्न सकिएला, जसले उहाँहरूको बलिदानको सम्मान होस् ?
मनमा अनेक विचारहरू आए– सरसफाइ गर्ने कि ? कुनै विषयमा बहस चलाउने कि ? तर मलाई लागिरहेको थियो कोर सहरमा हुने परम्परागत कोठे कार्यक्रमभन्दा हामी त्यस्तो ठाउँमा किन नजाने, जहाँ धेरैका नजर पुगेको छैन ? त्यस्ता बालबालिकासँग समय बिताउने, जो आमाबाबुको काखबाट बञ्चित छन् ।
उनीहरुको निर्दोष अनुहारमा खुसीको इन्द्रेणी छर्ने सोचले विभागीय कार्यसमितिका हामी सबैको मन छोयो र धेरैको नजर नपुगेको बालगृहको खोजी सुरु भयो । हामीले हाम्रै साथीहरुबाट पत्ता लगायौं– बुढानीलकण्ठ नगरपालिका वडानम्बर ६ मा रहेको ‘न्यू बालगृह’ ।
पवित्र सोच र स्वैच्छिक सहकार्य
कार्यालय समयपछिको समय न्यू बालगृहका बालबालिकासँग बिताउने र उनीहरुलाई खाना खुवाउने कार्यक्रम तय भयो । तर खर्चको जोहो कसरी गर्ने ? लोक सेवा आयोग जस्तो स्वच्छता र निष्पक्षताको पर्याय बनेको संस्थाभित्र बसेर बाहिरी दाता खोज्नु हाम्रो स्वाभिमानले दिएन । तब हामीले आफ्नै मनको ढुकुटी खोल्यौँ– कार्यसमितिका सबै सदस्यहरूले स्वेच्छाले रकम संकलन गर्ने निर्णय गर्यौँ।
जब मन पवित्र हुन्छ, बाटो आफैँ बन्दो रहेछ । सहिदको सम्झनामा गर्न लागिएको यो पवित्र अभियानमा साथीहरूको उत्साह यति उर्लियो कि सोचेभन्दा बढी रकम संकलन भयो ।
कुनै ठूलो उत्सवको तयारी गर्न लागेजस्तो मेरो मन फुरुङ्ग थियो । साथीहरुको सक्रिय साथ, सुझाव र हौसलासँगै कार्यक्रमको नाम जुरायौं– ‘न्यू बालगृहमा एक साँझ’ ।
यो नाम सुन्दा कुनै मनोरञ्जनात्मक कार्यक्रमजस्तो लाग्न सक्थ्यो, तर यसको मर्म अलि फरक थियो । हाम्रो उद्देश्य थियो– जन्मदिने आमाबाबु गुमाएका ती कोपिलाहरूसँग एक साँझ भए पनि स्नेह आदानप्रदान गर्ने अनि खाना खाने । अनि बालगृहको समस्या बुझेर आवश्यक परे थप सहयोगको पहल पनि गर्ने ।
बालगृहको आँगनमा पहिलो पाइला
साउन १४ गतेको साँझ, सिमसिम पानी परिरहेको थियो । कार्यालय समय सकिएपछि काठमाडौँको साँझपखको जाम छिचोल्दै हामी बुढानीलकण्ठस्थित बालगृह पुग्दा प्रकृतिको चिसोलाई त्यहाँको न्यानोपनले जितिसकेको थियो ।
बालगृहको गेटबाट भित्र पस्दा देखिएको दृश्य साँच्चिकै स्नेहपूर्ण थियो । कलिला बालबालिकाहरू लहरै बसेर पढिरहेका थिए । ठूलाले सानालाई सिकाउँदै थिए । हाम्रो आगमनसँगै ती सबै कलिला मुहारहरू हात जोडेर, शिर झुकाएर एकै स्वरमा ‘नमस्कार’ भन्दै आआफ्नो स्थानबाट उठे । ५ देखि १६ वर्षका देखिने ती बालबालिकाको संस्कारयुक्त व्यवहारले हाम्रो मनको थकानलाई एकै निमेषमा हटाइदियो र ऊर्जा भरिदियो ।
उर्मिला ढुंगानाको संघर्ष
कार्यक्रमको औपचारिकतापछि मेरो मन बालगृहको व्यवस्थापन र त्यहाँकी सञ्चालक उर्मिला ढुंगाना नेपालीसँग कुरा गर्न आतुर भयो । आफ्ना जुम्ल्याहा बच्चा हुर्काउँदा नै ठूलो युद्ध जितेको महसुस गर्ने म, विगत २३ वर्षदेखि २५ जना बालबालिकालाई अनवरत ममताको शीतल छहारी दिइरहेकी ती महान नारीको कार्यकक्षमा पुगें ।
हाम्रो कुराकानी चल्दै गर्दा, कोही बच्चा ‘मामु’ भन्दै काखमा लुटपुटिन आउँथे । उहाँ स्नेहपूर्वक कुरा सुन्ने र उनीहरुलाई खुसी बनाउँदै पठाउने गरिरहनुभयो । उहाँको अनुहारमा मैले मातृत्वको अथाह सागर देखें, जुन हरेक आमामा हुन्छ । उहाँको धैर्य र स्नेहले मलाई आफ्नै मातृत्वबारे सोच्न बाध्य बनायो ।
‘सुरुमा यो काम निकै चुनौतीपूर्ण लाग्थ्यो,’ उर्मिलाले भन्नुभयो, ‘तर अहिले यिनै छोराछोरी मेरो खुसी र सन्तुष्टिको स्रोत बनेका छन् । यिनीहरू बिनाको जीवन म कल्पना पनि गर्न सक्दिनँ ।’
२०५९ सालमा स्थापित यो बालगृहमा हाल २५ जना बालबालिका छन् । उहाँका अनुसार स्थानीय तहले अभिभावकविहीन भनेर सिफारिस गरेपछि मात्रै उनीहरूलाई यहाँ राखिन्छ । दुई वर्षअघि हृदयघातका कारण श्रीमान् गुमाउनुभएकी उर्मिलाजीका लागि यी बालबालिका नै मन सम्हाल्ने सहारा बनेका छन् । आँखामा टिलपिल आँसु लुकाउने प्रयास गर्दै उहाँले थप्नुभयो, ‘श्रीमान् हुँदा उहाँको ठूलो साथ थियो । मेरा मुटुहरूले बाबाको माया पनि पाएका थिए । अहिले मैले नै दुवैको माया दिने कोसिस गरिरहेकी छु ।’
एउटी आमाको सपना
उहाँको कथा सुन्दै जाँदा थाहा भयो, यहाँबाट हुर्किएका २० जना छोराछोरी कोही स्वदेशमा जागिर खाइरहेका छन् । उनीहरू बेलाबेला माया र उपहार लिएर ‘आमा’ भन्दै उर्मिलालाई र त्यहाँ आश्रित ‘भाइबहिनी’लाई भेट्न आउँछन् । ‘त्यो बेला गर्वले छाती फुल्छ,’ उहाँ भन्नुहुन्छ ।
आफ्नै कोखबाट जन्मेका दुई छोरालाई पनि यहीँ आश्रित बच्चाहरूको बीचमा हुर्काएको उहाँले बताउनुभयो । ‘ठूलो छोरो २६ र सानो २१ वर्षको छ । जेठोले विदेश गएर पैसा कमाएर पठाउँछु र यही बालगृहलाई समृद्ध बनाउन सहयोग गर्छु भनेको छ,’ उर्मिलाले सुनाउनुभयो ।
उहाँको पनि सपना छ– बालगृहको लागि एउटा आफ्नै भवन बनाउने । हाल मासिक २० हजार रुपैयाँ तिरेर भाडाको घरमा बालगृह चलाइरहेको बताउने उर्मिलाले भन्नुभयो, ‘अब एउटा घर बनाउन पाए म नरहे पनि यो बालगृह अमर रहन्थ्यो ।’ उहाँका यी शब्दमा एउटा निस्वार्थ आमाको भविष्यप्रतिको चिन्ता लुकेको थियो ।
सोच बदलिएको त्यो क्षण
न्यू बालगृहका दु:खसुखका कुरा सुनिरहँदा मेरो मन भारी भएको थियो । बालबालिकालाई भोजन बाहेक अरु थप के सहयोग गर्न सकिएला भन्ने सोच आइरहेको थियो । उहाँसँगको कुराकानी सकेर बाहिर निस्कँदा कार्यसमितिका सचिव र कोषाध्यक्षले एउटा प्रस्ताव राख्नुभयो, ‘हामीसँग बचेको जति रकम छ, यहीँ छोडेर जाऔं ।’
यो प्रस्तावले मेरो मन प्रफुल्लित भयो । हामीले बालबालिकालाई भोजन गराएर बचेको रकम समितिको कोषमा राख्ने सुरुको सोच त्यही साँझ बदलियो । हामीले बाँकी रहेको सम्पूर्ण रकम बालगृह सञ्चालक उर्मिला ढुंगाना नेपालीलाई हस्तान्तरण गर्यौँ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् निजामती कर्मचारी संगठनको केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले समेत केन्द्रको तर्फबाट सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
त्यो साँझ हामीले दिएको सानो सहयोगले बालगृहलाई ठूलो राहत त नदेला, तर सहयोगमा टेवा भने पुगेको विश्वास जाग्यो । त्यहाँको वातावरण, ती बालबालिकाको अनुशासन र उर्मिलाजीको नि:स्वार्थ सेवाले हामीलाई जीवनको एउटा अमूल्य पाठ सिकाएको थियो । मन्दिरमा लाखौं भेटी चढाउने हातहरू यस्ता जीवित मन्दिरसम्म कति पुग्दा हुन् ? भन्ने कुरा मनमा खेलिरह्यो । ‘सेवा नै धर्म हो’ भन्ने पवित्र बचन मनमा गुन्जिरह्यो ।
साँच्चै, ‘न्यू बालगृहमा एक साँझ’ केवल एउटा कार्यक्रम मात्र थिएन । त्यो त मानव जीवनको सोचलाई नै नयाँ दिशा दिने एक अविस्मरणीय साँझ थियो ।
प्रतिक्रिया 4