
१७ साउन, काठमाडौं । सरकारका पूर्वसचिव एवं लेखक डा द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘निजामती प्रशासनमा कोतपर्व’को विमोचन भएको छ ।
केसल्या प्रकाशनद्वारा प्रकाशित यस पुस्तकमा १० अध्यायमा निजामती प्रशासनको सबै उतारचढावको दस्तावेज भएको समीक्षकहरूले टिप्पणी गरे ।
पुस्तक नेपालको निजामती प्रशासनको विकासक्रम, त्यसमा विदेशीको संलग्नता र भूमिका, प्रशासन एवं राजनीतिकसम्बन्ध, निजामती प्रशासनप्रतिको राजनीतिक व्यवहारका कारण यस क्षेत्रले भोग्नुपरेका परिणामलगायत विषयरे तथ्यहरू प्रस्तुत गरिएको छ ।
पुस्तकमा २००७ सालदेखि २०४८ साल भदौसम्मको निजामती प्रशासनको इतिहास, २०४८ असोजदेखि २०५२ सालसम्मका निजामती प्रशासनसम्बद्ध घटनाक्रम, नीतिगत संरचना र त्यसका प्रभावलाई विश्लेषण गरिएको छ ।
पुस्तकमा लेखकले मुलुकको निजामती सेवा कस्तो हुनुपर्दछ भन्ने आफ्ना दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले वर्तमान संघीय शासन व्यवस्थाले निजामती प्रशासनका विषयमा गरेका प्रयासलाईसमेत समेटेका छन् । पाठकलाई नेपालको प्रशासनिक इतिहासको एक संवेदनशील र जटिल तहमा प्रवेश गराउने समीक्षकहरूको टिप्पणी छ ।
विमोचन कार्यक्रममा पूर्वन्यायाधीश टोपबहादुर सिंहले देशको शासन व्यवस्थालाई गुणस्तरी बनाउन निजामती प्रशासन सुदृढ बनाउनुपर्नेमा जोड दिँदै यस पुस्तकले निजामती प्रशासनमा सुधार गर्नुपर्ने पक्षमा मार्गदर्शन गराउने विश्वास व्यक्त गरे । ‘कुनै पनि स्वतन्त्र र सार्वभौम मुलुकमा निजामती प्रशासन सुदृढ भएन भने देशको शासन व्यवस्था जनकेन्द्रित र उत्तरदायी हुन सक्दैन’, उनले भने ।
डा तीर्थबहादुर श्रेष्ठ, पूर्वप्रशासक पद्यामोहिनी माथेमा, अर्जुनमणी दीक्षित, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा दिपेश घिमिरे र पत्रकार गजेन्द्र बुढाथोकीले यस पुस्तकमाथि समीक्षा गरेका थिए ।
उनीहरूले यो पुस्तक केवल प्रशासनिक अभ्यासको दस्तावेज मात्र नभइ सत्ता, संरचना र संघर्षको बौद्धिक अन्वेषण भएको टिप्पणी गरे ।
पुस्तकले प्रशासन तथा व्यवस्थापन बुझ्न सहज बनाउने उनीहरूको धारणा छ । पुस्तकलाई निजामती प्रशासनको ‘रिफर्म’ गर्न सहयोग गर्ने समीक्षकहरूको बुझाइ छ ।
प्रतिक्रिया 4