
News Summary
Generated by OK AI. Editorially reviewed.- मिरुना मगरको नयाँ फिल्म 'जनै हराएको मान्छे : सम्बन्धका धागाहरू' भदौ ६ गते रिलिज हुँदैछ र यसले आमनेपाली समाजको कथा देखाउनेछ।
- फिल्ममा मिरुनासँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली लगायत कलाकारको अभिनय छ र यसले निम्न र मध्यमवर्गीय समस्यालाई उजागर गर्नेछ।
- एसोसिएट निर्देशक मनिष राउतले भने, 'यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो' र दर्शकले मन पराउनेमा विश्वस्त छन्।
काठमाडौं । मिरुना मगर यतिबेला घरेलु फिल्मकी डिमान्डेड र ब्यस्त अभिनेत्री । उनलाई भाग्यमानी एक्ट्रेस भन्दा पनि हुन्छ । नहोस् पनि किन, उनका अधिकांश फिल्म हिटै हिट छन् ।
करिअरको पूर्वाद्धमा उनका फिल्मले ‘सिनेपाः बक्सअफिस’मा कमाल गर्न सकेनन् । ‘कबड्डी ४’, ‘जारी’, ‘नांगो गाउँ’पछि उनले पछाडि फर्केर हेर्नुपरेन ।
बक्सअफिसमा मिरुनाको त्यो ह्याट्रिक थियो । ‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा बम्पर नभए पनि त्यसपछि आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि हिट भए ।
दर्शकको नजर अब ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’तर्फ सोझिएको छ ? फिल्मको शीर्ष भूमिकामा रहेकी मिरुनाको यो फिल्मले अर्को कीर्तिमान रच्ला त ? धेरैले अनुमान गरिरहेका छन् ।
यदि, उनको यो आगामी फिल्म व्यापारिक रूपमा सफल भयो भने मिरुनाका लागि यो दोस्रो ह्याट्रिक हुनेछ ।
आमनेपाली समाजको कथा, इमोेसनल टच, अब्बल कलाकारको लाइनअप रहेकाले यो फिल्म ब्यवसायिक सफल हुने आशा उनको छ ।
‘जसरी यसअघि सफल भएका सिनेमामा काम गर्दा पोजेटिभ भाइब्स आउँथ्यो । यो सिनेमामा गर्दा पनि त्यस्तै महसुस भइरहेको छ’ मिरुना भन्छिन्, ‘त्यसैले यो फिल्मबाट पनि धेरै आशा छ । दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु ।’
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्मको एसोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
राउतले यसअघि ‘प्रेमगीत ३’मा मुख्य भूमिका निर्वाह गरेका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् । उनी भन्छन्, ‘यसले निम्न र मध्यमवर्गीय नेपालीको समस्या उजागर गर्छ । नेपाली दर्शकको मुड र रुचि अनुसार तयार गरिएको यो फिल्म सम्पूर्ण वर्गको प्रतिनिधि कथा बन्नेछ ।’
‘हाम्रो केही न केही हराएको हुन्छ, कहिले वस्तु, कहिले सम्बन्ध, कहिले अस्तित्व’ एसोसिएट निर्देशक राउत भन्छन्, ‘यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो । त्यही भएर मिरुना मगरलाई चलचित्रमा जोडेका हौं । उहाँमार्फत आमनेपालीले भोगेको समस्या यो सिनेमाले देखाउँछ । दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्नेमा म विश्वस्त छु ।’
भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको यो फिल्ममा मिरुनासँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङको छायांकन निर्देशन र कृष्ण परियारको छायांकन छ ।
पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन् ।
प्रतिक्रिया 4