
News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्डेन ग्लोब्स विजेता संगीतकार लिजा गेरार्डले नेपाली फिल्म 'गुन्युचोलो : द ड्रेस'को प्रशंसा गर्दै हेर्न आग्रह गरेकी छन्।
- फिल्ममा ट्रान्सजेन्डर समुदायको पहिचान र संघर्षको कथा समेटिएको छ, जसमा नाजिर हुसेन, संचिता लुइँटेल र विशाल पहारीको भूमिका छ।
- गेरार्डले पहिलोपटक नेपाली फिल्ममा सहकार्य गरेकी हुन् र उनको स्वरले फिल्मलाई अन्तर्राष्ट्रिय ध्यानाकर्षण दिलाएको छ।
काठमाडौं । गोल्डेन ग्लोब्स विजेता संगीतकार तथा गायिका लिजा गेरार्डले नेपाली फिल्म ‘गुन्युचोलो : द ड्रेस’को प्रशंसा गरेकी छन् ।
ट्रेलर सेयर गर्दै गेरार्डले फिल्मको कथावस्तुको वर्णन गरेकी छन् । फिल्म हेर्न उनको आग्रह छ ।
समुन्द्र भट्ट निर्देशित फिल्मको संगीत मार्सेलो डे फ्रान्चिर्सले तयार पारेका छन्, जसमा गेरार्डको स्वर छ । गेरार्डको पोस्टमा सामाजिक संजाल प्रयोगकर्ताको उत्साहजनक प्रतिक्रिया देखिएको छ ।
उनी फेसबुकमा लेख्छिन्, ‘ यो फिल्मले देव (गुलाबी)लाई चित्रण गर्छ, जो एक सेवानिवृत्त सेना जनरलका एक मात्र छोरा हुन्, जसलाई पहिचानसहित जिउन खोज्दा सामाजिकरुपमा त्यागिन्छ । आफ्नो रूढिवादी गाउँ छोडेर काठमाडौं आउँदा, उसले ट्रान्सजेन्डर समुदायभित्र एकता पाउँछ । त्यसपछि उसले पूर्वाग्रही समाजमा पहिचान र मर्यादाको लागि संघर्ष थाल्छ ।’
गेरार्डले भनेजस्तै, यो फिल्मको कथावस्तु पनि लैंगिक अल्पसंख्यक समुदायले पहिचानको लागि गर्ने संघर्षको कथा हो । फिल्ममा नाजिर हुसेन, संचिता लुइँटेल, विशाल पहारीको शीर्ष भूमिका छ ।
लिजाले पहिलोपटक नेपाली फिल्ममा सहकार्य गरेकी हुन् । सन् १९८० को दशकदेखि ‘डेड क्यान डान्स’को सह संस्थापकको रुपमा चर्चित बनेकी गेरार्डको स्वरलाई संसारभर ‘भावनाको भाषा’को रुपमा चिनिन्छ ।
उनले सन् २००० मा रिलिज भएको हलिउडको बहुचर्चित ‘ग्लाडिएटर’बाट गोल्डेन ग्लोब्स अवार्ड जितेकी थिइन् । यो अवार्डलाई अस्करपछिको सर्वोच्च फिल्म पुरस्कार मानिन्छ ।
सन् १९९९ को ‘द इनसाइडर’, सन् २००१ को ‘अली’, ह्वेल राइडर, एसेज एन्ड स्नो गेरार्डले संगीत भरेका चर्चित फिल्म हुन् । गेरार्डको संलग्नताले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा ध्यानाकर्षण गराएको छ ।
‘गुन्युचोलो : द ड्रेस’ भदौ १३ गतेदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4