
News Summary
Generated by OK AI. Editorially reviewed.- सरोज पौडेलको अघिल्लो फिल्म ‘पूर्णबहादुरको सारंगी’ले ४६ करोडको सर्वकालिन ब्लकबस्टर सफलता हासिल गर्यो।
- उनले नयाँ निर्देशन ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज गर्न लागेका छन् र दर्शकको अपेक्षा र दबाब महसुस गरिरहेका छन्।
- ‘कोशेढुंगा’ मध्यमवर्गीय परिवारको कथा हो र सामाजिक समस्यामा आधारित छ, जसले दर्शकको मनस्थितिमा प्रभाव पार्न खोजेको छ।
काठमाडौं । अघिल्लो फिल्म ‘पूर्णबहादुरको सारंगी’बाट सरोज पौडेलले सफलताको स्वाद चाखे । त्यो पनि मामुली सफलता होइन । ४६ करोडसहितको सर्वकालिन ब्लकबस्टर सफलता । ‘पूर्णबहादुरको सारंगी’ले घरेलु फिल्मको आर्थिक इतिहासको पटकथा नै पुनर्लेखन गरिदियो । नेपाली फिल्मको इतिहासमा लामो समय यसको चर्चा भैरहनेछ ।
यो आयामको बीचमा, निर्देशक पौडेल नयाँ निर्देशकीय फिल्म ‘कोशेढुंगा’ लिएर आएका छन् । सर्वकालिन ब्लकबस्टरको दबाब, दर्शकीय अपेक्षा र निर्देशकीय सीमिततालाई चिर्नुपर्ने आफ्नै चुनौतीको बीचमा पौडेल फिल्म ‘कोशेढुंगा’ दर्शकमाझ ल्याउने तयारीमा छन् । भदौ १२ गते ‘कोशेढुंगा’ रिलिज हुँदैछ । यो सन्दर्भमा निर्देशक पौडेलले अनलाइनखबरकर्मी विष्णु शर्मासँग संक्षिप्त संवाद गरेका छन् :
तपाईंको अघिल्लो फिल्म ‘पूर्णबहादुरको सारंगी’ सर्वकालिन ब्लकबस्टर भयो । त्यो व्यवसायिक सफलताले यस फिल्ममा कत्तिको दबाब सिर्जना गरेजस्तो लाग्छ ?
प्रेसर त अलिकति हुँदो नै रहेछ किनभने, आदरणीय दर्शकले पत्याउनुभएको फिल्म आइसक्यो । मप्रतिको विश्वास, अपेक्षा पनि हुनसक्छ । मैले राम्रो चीज दिनुपर्छ भन्ने प्रेसर चाहिँ हो । बक्सअफिसको त्यत्तिकै रेकर्डमा पुग्नुपर्छ भन्ने भन्दा पनि दर्शक कन्भिन्स हुनुपर्छ भन्ने पहिलो प्रेसरको विषय थियो । मेकिङको कुरामा म लगभग ढुक्क भैसक्या छु । राम्रो चीज निस्किएको छ ।
तपाईंलाई बक्सअफिसको अंकले अर्थ राख्छ कि त्यसको कलात्मक पक्षले ?
बक्सअफिसको अंकले खासै अर्थ किनपनि राख्दैन भनेपछि, अंक भनेको चेन्ज भैराख्ने चीज हो । त्यही ठाउँमा, भोलिका दिनमा पुग्न सकिएला वा नसएिकला । त्यसमाथि भोलिका दिनमा अरु पनि जान सक्ने सम्भावना रहिरहन्छ । बक्सअफिस अंकलाई नै मैले विन्दु मान्दिन ।
राम्रो निर्देशकको रुपमा ‘पूर्णबहादुरको सारंगी’ले दर्शकको बीचमा परिचित बनाइसकेपछि मैले राम्रो दिनुपर्छ भन्ने गहन जिम्मेवारी मेरो काँधमा छ भन्ने महसुस भैरहेको छ ।
अघिल्लो फिल्ममा तपाईंले गाउँको कथा ल्याउनुभयो । यसमा पनि पनि गाउँकै कथा छ । किन ‘कोशेढुंगा’को कथा गाउँकै छनोट गर्नुभयो ?
म आफै पनि गाउँमै जन्मिएको गाउँले मान्छे हो । म प्यूठानमा जन्मिएको हुँ, त्यसपछि दाङ, बुटवल हुँदै काठमाडौंको थानकोटमा स्थायी बसोबास छ । गाउँसँग अलि बढी जराहरू जोडिएको फिल हुन्छ र गाउँका कथाहरू धेरै भन्नुपर्छ जस्तो पनि लाग्छ । हामी सबै सहरमा बसेपनि सबै गाउँसँग जोडिएकोजस्तो लाग्छ । हामी पूर्णरुपमा सहरीकरण भैसकेजस्तो लाग्दैन मलाई । ‘पूर्णबहादुरको सारंगी’मा गाउँको भुइँ तप्कामा बसेको चरित्र थियो भने ‘कोशेढुंगा’मा पनि यस्ता समस्या छन् । यो चाहिँ अलिकति मध्यमवर्गीय परिवारको कथा हो, जुन चाहिँ सपना, संघर्ष र उत्पादन गरेका समस्यासँग सम्बन्धित छ ।
तुलनात्मकरुपमा तपाईंलाई ‘कोशेढुंगा’ फिल्ममा चुनौति देखिन्छ । ‘कोशेढुंगा’ निर्माणको यात्रामा चुनौती कस्तो महसुस भएको छ ?
म यो क्षेत्रको जिम्मेवार मान्छे हो जसलाई दर्शकले जिम्मेवारी थप्दिनुभएको छ भन्ने फिलिङ्स आइरहेको छ । तरपनि, सिक्दै जानुपर्ने चीजहरू छन् । ‘…सारंगी’ पनि प्राविधिकरुपमा उच्च तहको थिएन । भावना समेटिएको डकु–ड्रामा शैलीको फिल्म थियो । म प्राविधिकरुपमा अपडेट हुँदै, करेक्सन गर्दै, आफूले व्यक्त गर्दा उत्पन्न भएका भावनालाई बलियो तुल्याउने प्राविधिक तरिका सिक्दै, आफूलाई अपडेट गर्दै अघि बढेको छ ।
व्यक्तिगतरुपमा पनि दर्शकले त्यही चीजलाई यति धेरै माया गरिदिनुभयो, त्यतिबेला पनि धेरै सन्तुष्ट होइन । त्यहाँ (पूर्णबहादुरको सारंगी)मा पनि धेरै काम गर्न सकिने ठाउँ थिए । केही परिधिभित्र बसेर दुःखले गरेको काम थियो । दर्शकले ठूलो मात्रामा मन मन पराइदिनुभयो । अझै सचेत भएर प्राविधिकरुपमा अपडेट भए, सिनेम्याटिक लिबर्टी पनि लिएर जानुपर्छ भन्ने कुरामा छु ।
भनेपछि निर्माता र दर्शकबाट अपेक्षा उच्च नै छ । होइन ?
अपेक्षा स्वभाविकरुपमा हुन्छ । प्रोड्युसर टिमलाई पनि भनेको छु, सिनेमा भन्ने कुरा, ब्यापार भन्ने कुरा, ठ्याक्कै सोचेजस्तो नहुन पनि सक्छ, हुन पनि सक्छ । अपेक्षा राख्नु राम्रो कुरा हो तर, महत्वाकाङ्क्षा राख्ने कुरामा हामी सचेत छौं । ‘सारंगी’ले जस्तो गर्यो, त्यस्तो सँधै गर्छ भन्ने हुँदैन । न मलाई हुन्छ, न अरु मेकरलाई हुन्छ । परिस्थिती र कन्टेन्टले गर्ने कुरा हो ।
‘कोशेढुंगा’ अघिल्लो फिल्म ‘पूर्णबहादुरको सारंगी’ कथावाचन, टोन र शैलीको आधारमा कति भिन्न छ ?
मेकिङको हिसाबमा मैले आफूलाई अपग्रेड गर्ने मौका पाएको छु । किनभन्दा, एउटा सफल फिल्म दिइसकेपछि अर्को फिल्ममा कम्प्रमाइज गर्नुहुँदैन । दृश्यले खोजेका कुरा पुर्याउनुपर्छ भन्ने एउटा दबाबलाई प्रोड्युसरले पनि ध्यानमा राख्नुभएको छ । कथावाचनको आयामलाई अलि फराकिलो बनाएको छु मैले । विम्वपरक ढंगमा जानुपर्छ । निर्देशकको रुपमा अलि गहिराइमा पुग्ने कि, बुवाको कथामात्र नभएर समाजका कथा धेरै छन् । कथालाई मैले दर्शकको सेन्टिमेन्टसँग जोड्ने भरपुर प्रयास गर्या छु ।
‘कोशेढुंगा’को कथा छनोट गर्नु पछाडि कुनै तपाईंको निजी अनुभव छ ?
मेरो आफ्नो व्यक्तिगत जीवनमा घटित घटनामा त आधारित छैन । तर समाजमा भएका हृदयविदारक घटना र ती घरपरिवारका व्यथालाई मैले सुनिराखेको हो । ती चीज हाम्रा सामाजिक समस्या हुन्, देशकै प्रमुख समस्या हुन् । किन नगर्ने त भन्ने कुरालाई लिएर मैले गरेको छु । प्रेम प्रसंगलाई सामाजिक कथामा ढालेर अलिकति राष्ट्रियकरण गर्दै प्रश्न गर्ने प्रयत्न गरेको छु ।
‘कोशेढुंगा’मा तपाईंले लक्षित गरेको दर्शकीय वर्ग ग्रामीण वा सहरी के हुन् ?
निम्न आर्थिक अवस्थादेखि लिएर मिडल क्लास परिवारसम्मको कथा हो यो । कथा चाहिँ अलिकति अभावमा पिल्सिएका मान्छे र गरिबी देखेका मान्छेमा बढी लक्षित छ । समस्या झेलेको वर्गप्रति टार्गेट छ । धनी वर्गमा सायदै समस्या नहोला । मध्यमवर्गीय समाज जसलाई मैले प्रमुख लक्ष्य मानेको छु ।
फिल्मको सफलता भनेको के बक्सअफिसको अंक मात्र हो त ? तपाईंको लागि सफलता के हो ?
बक्सअफिसको अंकले एउटा ब्यापारमा अर्थ राख्छ । त्यसलाई नकार्न सकिँदैन तर, मेरो सफलता भनेको फिल्म हेरेपछि त्यसले दर्शकको मनस्थितीमा के प्रभाव पार्न सक्यो वा सकेन भन्ने कुराले ठूलो अर्थ राख्छ मलाई । त्यति हुँदाहुँदै पनि सबै फिल्म चल्नुपर्छ, सिनेमा पनि अर्थतन्त्रलाई चलायमान बनाउने एउटा माध्यम हो भन्ने पनि लाग्छ ।
यसपछि तपाईंका लाइनअपमा कस्ता फिल्म छन् ?
मलाई धेरैतिरबाट स्क्रिप्ट आइरहेको छ । धेरैले स्क्रिप्ट सुनौं न भनेर आग्रह गरिरहनुभएको छ । तर, मलाई के डर छ भने, म अहिले यसमा मात्र फोकस छु । भदौको १२ पछि यसको रिजल्ट र दर्शकले कसरी लिनुहुन्छ, त्यो सबै हेरेर मात्र हामी बसौं भनेर म कहिँ भेट्ने र साइन गर्ने काम गरेको छैन । अहिले म ‘कोशेढुंगा’मै मरिमेटी राख्या छु । मुख्यतः कथा छनोटमा चुक्नुहुँदैन भन्ने मेरो प्रमुख मान्यता छ ।
प्रतिक्रिया 4