+
+
Shares

मधेश केन्द्रित ७ दलीय मोर्चाको चुनावी गठबन्धनबाट बाहिरियो जनमत

‘सरकारसँगका हाम्रा माग, संघर्ष र मुद्दाहरुमा मोर्चामा सँगै छौं तर चुनावी गठबन्धनमा हामी रहन्नौं, अलग हुन्छौं । त्यसैले आजको सभामा पार्टीको उपस्थिति नभएको हो,’ यादवले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १९:४७

२१ साउन, बुटवल । मधेश केन्द्रित ७ दलीय संघीय लोकतान्त्रिक मोर्चाको चुनावी गठबन्धनबाट जनमत पार्टी बाहिरिएको छ ।

सरकारसँगका माग, संघर्ष र मुद्दाहरूमा मोर्चामा सँगै रहने तर चुनावी गठबन्धनबाट अलग हुने जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।

रुपन्देहीको सियारीमा मोर्चाले बुधबार आयोजना गरेको सभामा पनि जनमत पार्टी अनुपस्थित भएको छ । मोर्चाले रुपन्देही-३ को उपचुनावलाई लक्षित गर्दै सियारी गाउँपालिका-३ मा जनजागरण सभा गरेको थियो ।

कार्यक्रममा मोर्चाका ६ दलका शीर्ष नेताहरू उपस्थित थिए । सभामा जनमत पार्टी सहभागी नभएको र आगामी दिनमा पनि चुनावी सभाहरूमा सहभागी नहुने जनमतका सचिव यादवले जानकारी दिए ।

‘सरकारसँगका हाम्रा माग, संघर्ष र मुद्दाहरुमा मोर्चामा सँगै छौं तर चुनावी गठबन्धनमा हामी रहन्नौं, अलग हुन्छौं । त्यसैले आजको सभामा पार्टीको उपस्थिति नभएको हो,’ यादवले भने ।

रुपन्देही-३ मा आगामी १७ कात्तिकमा हुन लागेको उपचुनावमा जनमत पार्टीले छुट्टै उम्मेदवारी दिने र मोर्चालाई समर्थन नगर्ने सचिव यादवले प्रष्ट पारे ।

चुनावी मोर्चाबाट अलग हुने औपचारिक निर्णय हुन बाँकी भए पनि चुनाव लक्षित मोर्चाको कुनै पनि कार्यक्रममा सहभागी नहुने आन्तरिक निर्णय भइसकेको सचिव यादवले खुलाए ।

रुपन्देही-३ मा २०७९ सालको आमचुनावको समानुपातिक मत हेर्दा जनमत पार्टी समेतको मत जोड्ने हो भने संघीय लोकतान्त्रिक मोर्चा पहिलो शक्ति हुन्थ्यो । गत चुनावमा ९० हजार मत खसेकोमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६ मत, रास्वपाले १४ हजार १५४ र राप्रपाले ९ हजार १८३ मत पाएका थिए ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार, जसपा नेपालले ५ हजार, लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७०० मत पाएका थिए ।

अहिले मोर्चामा हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, तमलोपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसमेत थपिएका छन् । तर जनमत पार्टी अलग हुँदा मोर्चाको मत कम हुन्छ ।

सभामा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले रुपन्देही-३ को चुनावलाई मोर्चाले २०८४ मा हुने चुनावमा मधेशी मोर्चा सकिने कि बाँच्ने परीक्षणका रूपमा हेरेको बताए ।

उनले अहिलेको सरकार काण्डैकाण्डमा मुछिएको, देश लुट्न र पाप लुकाउन बनेको आरोपसमेत लगाए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रुपन्देही-३ को उपचुनावमा मधेसीहरूले थारुलाई विश्वास गरेर आफ्नो पार्टीलाई उम्मेदवार दिएको भन्दै जसरी पनि जित्नैपर्ने दबाबमा रहेको बताए । चौधरीले २०८२ सालमा भएका राजनीतिक सहमतिहरू पालना नभए २०८४ सालमा त्यसको असर देखिने चेतावनीसमेत दिए ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राज्यसत्ता मधेशी, थारु, मुस्लिम लगायतको हुन नसकेको बताए । उनले चुरे र वन विनाश हुने खालको कानुन बनाए विद्रोह हुने बताए ।

तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरिनुपर्ने बताए ।

जसपा नेपालका महासचिव रामकुमार शर्माले मधेश जनविद्रोहको कारण भुल्न नहुने भन्दै मधेश केन्द्रित दलहरु नमिलेसम्म उत्पीडिनबाट मुक्ति नहुने बताए ।

लोसपाका प्रदेश अध्यक्ष प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई मोर्चाका सबै दलले साथ दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?