
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता तथा निर्देशक निखिल उप्रेतीले भदौ ५ गतेबाट विश्वस्तरीय एक्सन फिल्म 'आचार्य'को छायांकन भारतको पश्चिम बंगालस्थित डुअर्सबाट सुरु गर्नेछन्।
- फिल्मको छायांकन ६० दिनको सेड्युलमा नेपाल र भारतमा हुनेछ र निखिलले शीर्ष भूमिका निभाउनेछन्।
- 'आचार्य' विश्वव्यापी रिलिजको योजना सहितको एक्सन फिल्म हो, जसमा अभिनेत्री संचिता लुइँटेलले नृत्य निर्देशकको रुपमा डेब्यु गर्नेछिन्।
काठमाडौं । विश्वस्तरीय एक्सन फिल्म बनाउने लक्ष्यसहित अभिनेता तथा निर्देशक निखिल उप्रेतीले भदौ ५ गते (२१ अगस्ट)बाट आगामी प्रोजेक्ट ‘आचार्य’को छायांकन थाल्दैछन् ।
भारतको पश्चिम बंगालस्थित डुअर्सबाट छायांकन सुरु हुँदैछ । त्यहाँ २५ दिन खिचिने फिल्मको कूल छायांकन सेड्युल ६० दिनलाई तय छ । निखिलले नेपालसहित भारतमा फिल्म खिच्दैछन् ।
निर्देशक समेत रहेका निखिल स्वयम यसमा शीर्ष भूमिकामा देखिनेछन् । पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायतका सहायक कलाकार पनि छन् ।
महत्वपूर्ण रोलमा बलिउड अभिनेता सुनिल सेट्टी देखिने सम्भावना प्रबल छ । सेट्टीसँग लिखित सहमति भैसकेको छैन । फिल्मको तयारी सकेर निखिल केही दिनअघि मुम्बईबाट काठमाडौं फर्किएका छन् ।
फिल्ममा केही बलिउडसहित दक्षिण भारतीय कलाकार हुने चर्चा छ । चर्चामा आएका मध्येको नाम हुन्, संजय मिश्रा र रुस्लमान मुमताज । मुमताजलाई योंग्री योङम्यान, एन्टीहिरो भूमिकामा देख्न सक्ने अपेक्षा गरिएको छ ।
यात्राको कथामा आधारित हुने एक्सन फिल्मको नेपालको भागमा नेपाली कलाकार र भारतीय पार्टमा भारतीय कलाकार हुनेछन् । कामेश्वर र प्रमोदसहितका नेपाली कलाकार भने भारतीय पार्टमा पनि देखिनेछन् ।
नेपालको पार्ट काठमाडौंबाट सुरु भएर काठमाडौंमा सकिनेछ । स्काइडाइभर समेत रहेका निखिलले यो स्याङ्जामा यो फिल्मको स्काइडाइभ र प्याराग्लाइडिङका पार्ट पनि खिचिने बताए ।
‘मैले चर्चामा आउन भारतीय कलाकार लिन लागेको होइन । यसको कथा नै यसको डायमन्ड हो’ निखिलले अनलाइनखबरसँग भने, ‘यो फूल एक्सन र भोयलेन्ट फिल्म हुनेछ ।’
किन भोयलेन्ट (हिंसात्मक) त ? निखिलको जवाफ छ- यसलाई भोयलेन्ट फिल्म भन्न मिल्दैन । कतिपय भोयलेन्टले हामीभित्रको शान्तिपनलाई पनि देखाउँछ । अहिलेको युवाले यो फिल्म हेरेर जीवनमा निडरता हुनु नै ठूलो कुरा रहेछ भन्ने बुझ्न सक्छन् । डरपोक एक किसिमको बिमारी हो भन्ने सन्देश यसमा छ ।’
फिल्मलाई विश्वब्यापी रिलिज गर्ने निखिलको योजना छ । ‘यसमा वर्ल्ड क्लासको एक्सन हुनेछ, जसलाई देखेर बाहिरका ओटीटीले पनि स्थान दिनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं’ उनले भने । फिल्मको पटकथा निखिल आफैले लेखेका हुन् ।
फिल्मको नाम ‘आचार्य’ किन राख्नुभयो ? यसमा निखिलको जवाफ छ, ‘ आचार्य कसलाई भनिन्छ भने जसले शाष्त्र र शष्त्र पनि जान्दछ । महाभारत त्यो कालमा मात्र थिएन, अहिले पनि छ । सानो रुपमा घरमा र ठूलो रुपमा देशमा पनि छ । महाभारत जहिले पनि छ र सदा छ ।’
निखिलले यो फिल्मको विषयवस्तु सशक्त रहेको बताए । यो फिल्मबाट अभिनेत्री संचिता लुइँटेलले नृत्य निर्देशकको रुपमा डेब्यु गर्दैछन् । एक गीतमा संचिताले कोरियोग्राफी गर्ने तय छ । ‘यो फिल्ममा संचिताजी प्रोड्युसरभन्दा माथि हुनुहुन्छ । निर्माण पक्ष सबै उहाँले हेर्नुहुन्छ’ निखिलले भने ।
सन् २००१ मा रिलिज भएको ‘पिँजडा’बाट घरेलु फिल्ममा डेब्यु गरेका निखिलको पहिचान एक्सन स्टारको रुपमा छ । उनले करिअरमा झण्डै सय फिल्म दर्शकलाई दिएका छन् । ‘आचार्य’ उनको दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । यसअघि उनी निर्देशित ‘भैरव’ सन् २०१५ मा रिलिज भएको थियो ।
प्रतिक्रिया 4