+
+
Shares

जनै पूर्णिमा र रक्षाबन्धन : परम्परा र आधुनिकताको संगम

रक्षाबन्धन केवल धागोको बन्धन होइन, भावनात्मक सम्बन्धको बलियो गाँठो पनि हो ।

पण्डित नारायणप्रसाद दुलाल पण्डित नारायणप्रसाद दुलाल
२०८२ साउन २४ गते ५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सनातनी परम्परामा श्रावण शुक्ल पूर्णिमाको दिन जनै पूर्णिमा र रक्षा बन्धन एकै साथ मनाइन्छ।
  • नेवार समुदायले यो दिनलाई \'गुंला महिनाको पुन्हि\' भनेर मनाउँदै दाजुभाइलाई क्वाँटी खुवाएर दीर्घायुको कामना गर्छन्।

ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।

नेपाली सनातानीय परम्परामा श्रावण शुक्ल पूर्णिमाको दिन दुई महत्वपूर्ण पर्वहरू एकै साथ मनाइन्छन्-जनै पूर्णिमा र रक्षा बन्धन । नेपाली समाज विविध संस्कृति, चाडपर्व र परम्पराले भरिपूर्ण छ । यी मध्ये जनै पूर्णिमा एउटा यस्तो पर्व हो, जसले हामीलाई आत्मशुद्धि, संयम र कर्तव्यवोधको स्मरण गराउँछ । यसलाई रक्षाबन्धन, श्रावणी, उपाकर्म, ऋषि तर्पणी र यज्ञोपवित संस्कारको पुनःस्मरण पनि भनिन्छ ।

यस दिन व्रतबन्ध भइसकेका पुरुषहरूले विधिवत् अभिमन्त्रित गरिएको ब्रह्मसूत्र अर्थात् जनै फेर्ने गर्दछन् जुन ६ सारा भित्र जम्मा ५४ साराको हुने गर्दछ जसमा ब्रह्मा, विष्णु, प्रजापति आदिको पूजा गरिन्छ । जसलाई हामी मन, वाणी र कर्मको प्रतीकात्मक अर्थसँग जोडेर हेर्ने गर्दछौं । काँचो धागो लाई ३ सरे गरी बाटेर त्यसलाई तेब्र्याउँदा ९ सरे हुन्छ अनि त्यसलाई पाँच पाँच वटा शिखा पारिन्छ पुन: बाटेर तिन वटाको एउटा सेट तयार गरिन्छ तत्पश्चात् जोडी अर्थात् ६ (३x३=९,x६=५४) सारा को जनै शास्त्रोक्त हुन्छ, यस्तो जनै धारण गर्नाले आयु, बुद्धि, तेज, बल, आदि बढ्ने शास्त्रोक्त कथन रहेको छ ।

उपरोक्त ९ सरामा क्रमश: ओम कार, अग्नि, नाग, चन्द्रमा, पितृ, प्रजापति, वायु, सूर्य र नवौँ सरामा सम्पूर्ण देवताहरूको पूजागरी शिखामा ब्रह्मा, विष्णु, महेश र गायत्री माताको पूजागर्दै अभिमन्त्रित गरेर धारण गरिन्छ । यस्तो जनै वर्षदिन सम्म आवश्यक परेको बेलामा धारण गर्न मिल्ने हुन्छ ।

सबै सनातनीहरूले आजकै दिन अभिमन्त्रित गरिएको रक्षाबन्धन अर्थात् ‘रक्षार्थ बन्धनम्’ अर्थात् अनिष्टबाट बच्नका लागि कवच स्वरुप नाडीमा धागो बाँध्ने गर्ने परम्परा छ । रक्षाबन्धन केवल धागोको बन्धन होइन, भावनात्मक सम्बन्धको बलियो गाँठो पनि हो ।

यो पर्वले धर्म, संस्कृति, आस्था र पारिवारिक सम्बन्धलाई एकै सूत्रमा बाँध्ने काम गरेको पाइन्छ साथै परम्परा र आधुनिकताबीचको सन्तुलन खोज्दै आजको समाजले यस पर्वलाई नयाँ दृष्टिकोणबाट आत्मसात गर्न थालेको छ ।

आजको समयमा जनै पूर्णिमा केवल विधिपूर्वक जनै फेर्ने दिन मात्र नभई- नयाँ पुस्तालाई आफ्नो परम्परा र संस्कारसँग जोड्ने माध्यम पनि हो । आजका शिक्षित युवा वर्गले यसको वैज्ञानिक र सामाजिक पक्ष बुझ्न थालिसकेका छन् । आजको पुस्ताले जनैलाई आत्मशुद्धिको प्रतीक, संयम र जिम्मेवारीको धागोका रूपमा बुझ्ने सोच विकसित हुँदै गएको छ ।

विद्यालय र कलेजहरूमा ‘परम्परा र वैज्ञानिक सोच’, ‘जनै पूर्णिमाको वैज्ञानिक र सांस्कृतिक पक्ष’ आदि शीर्षकमा बहस र निबन्ध प्रतियोगिता आयोजना हुन थालेका छन् । सामाजिक सञ्जालमा युवाहरूले जनै र रक्षाबन्धनलाई आधुनिक सन्देश सहित प्रस्तुत गर्न थालेको पनि देख्न पाइन्छ- जसले परम्परालाई नयाँ ढङ्गले जीवन्त राख्ने काम गरिरहेको छ भन्न सकिन्छ ।

नेवार समुदायले यो दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनेर मनाउँछन् । यसमा दिदीबहिनीहरूले दाजुभाइलाई क्वाँटी खुवाएर दीर्घायुको कामना गर्ने गर्दछन् । क्वाँटी सेवन गर्ने परम्परा स्वास्थ्यवर्द्धक आयुर्वेदिक ज्ञानमा पनि आधारित छ ।

यस्ता चाडवाडले उत्साह उमङ्ग थपिदिएको हुन्छ भने आफन्तबीचको सुमधुर सम्बन्ध, सद्भाव र मधुर मिलनको अवसर पनि जुटाइदिएको हुन्छ । नेपालको विविधता झल्काउने यो पर्वले जातीय सहिष्णुता, पारिवारिक प्रेम र सामाजिक जिम्मेवारीको सन्देश पनि दिएको छ भन्न सकिन्छ, जसले समाजमा एकताको सन्देश दिएको देखिन्छ ।

परम्परा र आधुनिकता दुई विरोधी होइनन्, पूरक हुन् र जनै पूर्णिमा त्यसको जीवन्त उदाहरण हो । यो केवल धर्मगुरुहरूका मन्त्रोच्चारण र संस्कारको धागो मात्र होइन- सोच, चेतना र पहिचानको सूत्र हो । हामीले यदि परम्परालाई समयसापेक्ष बनाएर अगाडि बढायौँ भने, यसले हाम्रो संस्कृति, आस्था र सभ्यतालाई अझ मजबुत बनाउनेछ ।

लेखक
पण्डित नारायणप्रसाद दुलाल

दुलाल ज्योतिषाचार्य र वास्तुविद्  हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?