
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार यो साता २.४४ प्रतिशत घटेर २८५० मा कायम भएको छ।
- बजार घटे पनि ५ कम्पनीका सेयरधनीले ११ प्रतिशत बढी मूल्य कमाएका छन्।
- जापानको निक्की २२५ सूचक यो साता ४.२४ प्रतिशतले बढेको छ।
२३ साउन, काठमाडौं । गत साता २.०१ प्रतिशत घटेको सेयर बजार यो साता थप २.४४ प्रतिशत घट्यो । गत साता २९२२ मा रहेको नेप्से परिसूचक यो साता २८५० मा कायम भएको छ ।
यो साता ५ दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन बढ्यो । पहिलो दिन आइतबार ६३.७३ अंक घटेको बजार सोमबार १६.४६ बढ्यो । मंगलबार ४१.३५ र बुधबार १.९४ अंक घटेको बजार बिहीबार १८.३० बढ्यो ।
कारोबार रकममा भने भारी गिरावट आइरहेको छ । पहिलो दिन आइतबार १३ अर्ब ७ करोडको कारोबार भएकोमा सोमबार १० अर्ब ८२ करोड, मंगलबार ९ अर्ब ३३ करोड, बुधबार ७ अर्ब ६३ करोड तथा बिहीबार ८ अर्ब ५३ करोडको कारोबार भयो ।
साउन १३ यता बजार घट्दो ट्रेन्डमा देखिएको छ । सो दिन ३००२ अंकमा पुगेको बजार त्यसयता ५ प्रतिशत घटिसकेको छ । असार १५ देखि साउन १३ गतेसम्मको छोटो अवधिमै बजार १५.६८ प्रतिशत बढेको थियो ।
असार १५ गते कारोबार खुल्दा २५९५ अंकमा रहेको बजार साउन १३ गते ३००२ अंकमा पुगेको थियो । छोटो समयमा यति बढेकाले बजारको हालको गिरावटलाई सामान्य लिइएको छ । यो साता बजार घटे पनि ५ कम्पनीका सेयरधनी/कारोबारीले ११ प्रतिशत बढी मूल्य कमाएका छन् ।
हाल बैंकिङ प्रणालीमा भएको अधिक तरलता, घटेको ब्याजदर तथा कम्पनीहरुको सुधारोन्मुख वित्तीय विवरणले बजारलाई आगामी समय सकारात्मक प्रभाव पार्ने अनुमान छ । आगामी साता पहिलो दिन आइतबार उपत्यकामा सार्वजनिक विदा परेकाले सोमबारदेखि मात्रै बजार खुल्नेछ ।
अन्य समूह किन धेरै घट्यो ?
अन्य समूहमा कुल ८ वटा कम्पनी सूचीकृत छन् । सूचीकृत ८ मध्ये बजारलाई धेरै प्रभाव पार्ने तीन कम्पनी हुन् : नेपाल पुनर्बीमा, नेपाल टेलिकम र हिमालयन रिइन्स्योरेन्स । यी तीनमध्ये दुई पुनर्बीमा कम्पनीको मूल्य उच्च दरले घट्दा यो समूह धेरै घट्यो ।
बढ्दा पनि उच्च दरले मूल्य बढेका दुई पुनर्बीमा कम्पनी घट्दा पनि उस्तै गतिमा झरेका छन् । यो साता हिमालयन रिको मूल्य ८ र ५.५ प्रतिशत घटेको छ । गत साता समग्र बजार २ प्रतिशत घट्दा पनि अन्य समूह १.५४ प्रतिशत बढेको थियो । गत साता पनि अन्य समूह वृद्धिमा यिनै दुई कम्पनीको प्रभाव थियो ।
आईपीओ, एफपीओ तथा हकप्रद सेयर खुलेका छन् ?
आम सर्वसाधरणका लागि हाल कुनै पनि कम्पनीको आईपीओ तथा एफपीओ खुलेका छैनन् । आगामी साता भने दुई कम्पनीको आईपीओ खुल्ने छ । आगामी सोमबारदेखि माबिलुङ इनर्जी र शुक्रबारदेखि स्वस्तिक लघुवित्तको आईपीओ खुल्नेछ ।
त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई पनि अहिले कुनै आईपीओ खुलेको छैन । प्रभावित स्थानीयका लागि झापा इनर्जीको आईपीओ खुलिरहेको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा सौर्य विद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासीलाई आईपीओ खुलाएको हो ।
त्यस्तै बझाङ जिल्लाका प्रभावित स्थानीयका लागि बुंगल हाइड्रोपावरको आईपीओ खुलिरहेको छ । प्रभावित स्थानीयले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
४ कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । जोशी हाइड्रोपावर, बरुण हाइड्रोपावर, नेपाल इन्स्योरेन्स र पिपुल्स पावर कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ ।
जोशीमा भदौ ४ गतेसम्म, बरुणमा साउन १९ गतेसम्म, पिपुल्समा साउन २६ सम्म र नेपाल इन्स्योरेन्समा साउन २६ सम्म आवेदन दिन सकिनेछ । जोशीको ६५ प्रतिशत, बरुणको शत प्रतिशत, पिपुल्सको ५० प्रतिशत, नेपाल इन्स्योरेन्सको ३४.७८, प्रतिशत हकप्रद सेयर खुलेको हो ।
ठूलामध्ये जापानको बजारमा उच्च वृद्धि
विश्वका ठूला बजारमध्ये यो साता जापानको निक्की २२५ सूचक उच्च दरले बढेको छ । यो साता निक्की इन्डेक्स ४.२४ प्रतिशत बढेको छ । विगत एक महिनामा यो सूचक ५.३७ प्रतिशत बढेको छ ।
अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डेक्स यो साता जम्मा ०.४३ प्रतिशत बढ्यो । विगत एक महिनामा यो सूचक ०.६२ प्रतिशत घटेको छ ।
चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता २.४८ प्रतिशत बढ्यो । विगत एक महिनामा यो सूचक ४.०७ प्रतिशत बढेको छ ।
लण्डनको एफटीएसई १०० सूचक साताभर ०.४१ प्रतिशत बढेको छ । विगत एक महिनामा यो सूचक २.८४ प्रतिशत बढेको छ । भारतको बीएसई सेन्सेक्स यो साता ०.७० प्रतिशत घटेको छ । विगत १ महिनामा यो सूचक ४.३० प्रतिशत घटेको छ ।
प्रतिक्रिया 4