Comments Add Comment

मकैबालीमा डाँठ कुहिने रोग देखियो

निमुसंगम घर्ती

१२ साउन, दाङ । दाङको पवननगर गाबिसका ३ वटा वडामा लगाइएको करिब २ सय विगाह क्षेत्रफलको मकै बालीमा डाँठ कुइने रोग फैलिएको छ । पवननगरको वडा नम्बर २, ३ र ४ मा करिब २ सय ५० घरधुरी किसानले लगाएको २ सय विगाह क्षेत्रफलको मकैमा डाँठ कुहिने रोग फैलिएको हो ।maize-tree

करिब दुई हप्ता देखि उक्त रोग मकैबालीमा फैलिएपछि किसानहरु चिन्तित भएका छन् । रोगका कारण मकै जराबाट सुक्दै टुप्पो तिर गएका छन् । घोगा लगाइसकेको मकैबालीमा डाँठ कुहिने रोग देखा परेपछि सबै किसानहरु चिन्तित भएका छन् ।

दिन प्रतिदिन उक्त रोगले मकै सुक्दै गएको छ । समयमै रोगलाई नियन्त्रण गर्न नसकेका २ करोड बढिको नोक्सानी हुने स्थानीय फल्कुदत्त भण्डारीले बताए । यसैवीच जिल्ला कृषि बिकास कार्यालयका प्राविधिक भरतमणि पोखरेलको नेतृत्वमा गएको टोलीले मकैवालीमा फैलिएको रोगका विषयमा स्थलगत अध्ययन गरेको छ । प्रकोपकै रुपमा डाँठ कुईने रोग फैलिएको र रोग लागि सकेका बोटलाई बचाउन नसकिने पोख्रेलले बताए । अन्य मकैको उपचारका लागि भोली नै औषधिसहितको टोली परिचालन गरिने उनको भनाई छ ।

क्षेत्रिय बाली संरक्षण कार्यालयमा समेत जानकारी गराई सकेको भन्दै उनले पानी जम्मा हुने ठाउँमा यस्तो रोग देखा पर्ने बताए । यसैवीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सभासद दिपक गिरीसहितको टोली पनि किसानहरुको बारीमा पुगेको छ । टोलीले उक्त रोगलाई तत्काल नियन्त्रणमा लिन माग गरेको छ । वोट र माटोको परिक्षण गरेर रोग नियन्त्रणमा लिनु पर्ने र किसानहरुलाई क्षतिपूर्ती दिलाउन सभासद गिरीले दवाव दिने किसानहरुलाई आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment