
News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायत, फ्रान्स र जर्मनीले अगस्ट महिनाको अन्त्यसम्म इरानले परमाणु वार्तामा नआए पुराना प्रतिबन्धहरू पुन: लागू गर्ने चेतावनी दिएका छन्।
- यी तीन देशले \'स्न्याप ब्याक मेकानिज्म\' लागू गर्न तयार रहेको र यसले पुराना प्रतिबन्धहरू स्वत: पुन: सक्रिय हुने बताएका छन्।
- इरानले विद्यमान प्रतिबन्ध हटाउनुपर्ने र नागरिक परमाणु कार्यक्रमको अधिकार मान्यता दिनुपर्ने शर्त राखेको छ भने पश्चिमी देशहरूले निशर्त वार्तामा आउनुपर्ने अडान राखेका छन्।
२८ साउन, काठमाडौं । बेलायत, फ्रान्स र जर्मनीले परमाणु सम्झौताका लागि पुन: वार्तामा नआए इरानमाथि पुराना प्रतिबन्धहरू ब्युँत्याउन चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघलाई जानकारी गराउँदै यी तीन देशले आगामी अगस्ट महिनाको अन्त्यसम्म परमाणु कार्यक्रमबारे पुन: वार्तामा नआए कठोर प्रतिबन्ध लगाउन चेतावनी दिएका हुन् ।
बेलायत, फ्रान्स र जर्मनीलाई ‘ई थ्री’ नामले पनि सम्बोधन गर्ने चलन छ । यी तीन देशले भनेका छन्, ‘यदि इरानले परमाणु कार्यक्रमबारे पुन: वार्तामा आउँदैन भने हामी ‘स्न्याप ब्याक मेकानिज्म’ लागू गर्न तयार छौं ।’
‘स्न्याप ब्याक मेकानिज्म’ भन्नाले कुनै सम्झौता, नियम वा प्रतिबन्ध असफल भएमा वा कुनै पक्षले उल्लंघन गरेमा पहिलेका पुराना प्रतिबन्धहरू वा दण्डहरू स्वत: पुन: लागू हुने प्रक्रिया बुझाउँछ ।
अमेरिका, युरोपसहितका देशले इरानले परमाणु कार्यक्रम रोक्नुपर्ने भन्दै दबाब दिँदै आएका छन् ।
‘स्न्याप ब्याक मेकानिज्म’ अनुसार अमेरिका, बेलायत, फ्रान्स, जर्मनीसहितका देशले इरानले उक्त सम्झौताको उल्लघंन गरेको आरोप लगाउँदै आएका छन् ।
जसअनुसार अब परमाणु कार्यक्रम रोक्ने सम्बन्धी वार्तामा नआए सन् २०१५ अघि इरानमाथि संयुक्त राष्ट्रसंघले लगाएको कडा प्रतिबन्ध पुन: सक्रिय हुने चेतावनी दिइएको हो ।
गत महिना मात्रै इरानले परमाणु वार्ताका लागि तयार रहेको प्रतिक्रिया दिएको थियो । तर, उसले विद्यमान प्रतिबन्ध हटाउनुपर्ने र आत्मरक्षाका लागि नागरिक परमाणु कार्यक्रमको अधिकारलाई मान्यता दिनुपर्ने शर्त राखेको थियो ।
तर, पश्चिमी देशहरूले भने परमाणु कार्यक्रम रोक्न इरान निशर्त: वार्तामा आउनुपर्ने अडान राख्दै दबाब दिँदै आएका छन् ।
प्रतिक्रिया 4