
काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलका विद्यार्थीहरूले बैंककमा सम्पन्न वर्ल्ड स्कलर्स कप २०२५ को ग्लोबल राउन्डमा ऐतिहासिक सफलता हात पारेका छन् ।
१० जना विद्यार्थीको टोलीले कुल ९ स्वर्ण र ३९ रजत पदक जित्दै अमेरिकाको प्रतिष्ठित येल विश्वविद्यालयमा हुने ‘टुर्नामेन्ट अफ च्याम्पियन्स’ का लागि स्थान सुरक्षित गरेको छ ।
यस प्रतियोगितामा सबैभन्दा ठूलो सफलता कक्षा ११ की छात्रा श्रुति श्रेष्ठले प्राप्त गरेकी छिन् । उनी वर्ल्ड स्कलर्स कपको ‘हल अफ फेम’ मा स्थान बनाउने पहिलो नेपाली विद्यार्थी बनेर ऐतिहासिक कीर्तिमान कायम गरेकी हुन् ।
यसका साथै उनले ‘ग्लोबल च्याम्पियन स्कलर’ र ‘जेएसी खोर अवार्ड’ जस्ता सम्मान पनि जितेकी छिन् । श्रुतिले एक्लै ११ स्वर्ण र ४ रजत पदक जित्दै आफ्नो अद्वितीय प्रतिभा प्रदर्शन गरेको स्कुलले जनाएको छ ।
स्कुलका अनुसार विश्वका ३० देशका ५ हजार २ सयभन्दा बढी प्रतिभाशाली विद्यार्थीबीच भएको कडा प्रतिस्पर्धामा प्रिमियरको टोलीले उत्कृष्ट प्रदर्शन गरेको हो । टोलीका अन्य सदस्यको प्रदर्शन पनि प्रशंसनीय रहेको थियो ।
- गरिमा रञ्जित (कक्षा १२) : १ स्वर्ण, ७ रजत
- मन्त्र पोखरेल (कक्षा १०) : २ स्वर्ण, ६ रजत
- सान्वी उपाध्याय (कक्षा १०) : १ स्वर्ण, ४ रजत
- बिआंका पाल (कक्षा १०) : १ स्वर्ण, ४ रजत
- सुप्रिणा अमी अधिकारी (कक्षा १०) : १ स्वर्ण, ४ रजत
- संस्कृति अधिकारी (कक्षा ९) : १ स्वर्ण, ३ रजत
- राचेल सापकोटा (कक्षा ९) : ३ रजत
- सनातन न्यौपाने (कक्षा ७) र आरुष आचार्य (कक्षा ८) : समान २/२ रजत
उद्घाटन समारोहमा कक्षा १० की सान्वी उपाध्यायले नेपालको झन्डा बोकेर राष्ट्रको प्रतिनिधित्व गरेकी थिइन् ।
स्कुलका अनुसार यो सफलताको आधार काठमाडौंमा सम्पन्न क्षेत्रीय चरण थियो, जहाँ प्रिमियरका विद्यार्थीले ५ सय ३५ स्वर्ण, ५ सय ११ रजत र ३२ वटा ट्रफी जितेर ग्लोबल राउन्डको ढोका खोलेका थिए ।
वर्ल्ड स्कलर्स कप विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर निस्केर विश्वव्यापी मामलामा बहस, रचनात्मक लेखन र सामूहिक समस्या समाधान जस्ता गतिविधि मार्फत आलोचनात्मक सोच र नेतृत्व विकास गराउने अन्तर्राष्ट्रिय प्लयाटफर्म हो ।
अब प्रिमियर टोली डिसेम्बर ८ देखि १४ सम्म येल विश्वविद्यालयमा हुने टुर्नामेन्ट अफ च्याम्पियन्समा सहभागी हुन अमेरिका जाने तयारीमा छ । त्यहाँ उनीहरूले विश्वभरिका उत्कृष्ट स्कलरहरूसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4