+
+
Shares

काठमाडौं–तराई/मधेश दू्रतमार्गको काम समयमै सकिनेमा रक्षामन्त्रीको शंका

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १५:५७

२९ साउन, काठमाडौं । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं—तराई/मधेश द्रूतमार्गको काम सकिनेमा आशंका व्यक्त गरेका छन् ।

बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको थियो ।

उक्त छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्रयाकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको जानकारी गराए ।

साथै, उनले ०८३ सम्म बन्छ भन्ने विश्वास नलागेको तर मेलम्चीको जस्तो लामो समय नलाग्ने पनि बताए ।

‘०८३ साल नआइकन सकिँदैन भन्न त नमिल्ला, निकै कठिन भएको छ । तर म यति भन्न चाहन्छु, मेलम्चीको आयोजना जति लम्बिँदैन । यति धेरै लामो समय लाग्दैन,’ मन्त्री राईले भने ।

सडक निर्माणका क्रममा नेपालमा जमिनको समस्या हुने गरेको बताउँदै उनले अन्य देशहरूमा जमिन सरकारको नाममा हुने भएकाले कुनै समस्या नहुने भए पनि नेपालको हकमा त्यस्तो नहुने बताए ।

नेपालमा व्यक्तिको नाममा जमिन हुँदा विभिन्न अवरोधहरू हुने गरेको उनले समितिको बैठकमा भने ।

‘फास्ट ट्रयाकमा हामी केन्द्रित छौँ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बन्दैछ । नेपालको जमिन व्यक्तिको नाममा दर्ता छ । छिमेकी देश चीन लगायतमा जमिनहरु सरकारी हुन्छन्, निजी हुँदैनन् । डिजाइन गर्न अफ्ठ्यारा हुँदो रहेनछ । तर काम गर्दै जाँदा सकिँदो रहेछ,’ मन्त्री राईले भनेका छन्, ‘बाटो राम्रो हुँदो रहेछ, सुरुङ मार्ग बन्दा रहेछन् भन्ने प्रमाणित भइसकेको छ । जमिन र जंगल समस्या हो । जंगलको कानुन मन्त्रिपरिषद्ले समेत क्रस गर्न सक्दो रहेनछ । हामीले सच्यायौं । त्यसबेला  ठूला पार्टीले जंगल पनि बेचेर खाने भए भन्ने आरोप खेप्नुपर्‍यो । तर त्यो झन्झटबाट मुक्त भयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?