+
+
Shares

ट्रम्प र पुटिनले वार्ताका लागि अलास्का नै किन रोजे ?

आर्कटिक क्षेत्रमा अमेरिकी सैन्य तयारीका लागि पनि यो क्षेत्र निकै महत्वपूर्ण मानिन्छ । सुविधासम्पन्न यस सैन्य अड्डामा झन्डै १० हजार सैनिक र उनीहरूका परिवार बस्छन् । सन् २०१० मा अमेरिकी वायु सेना र अमेरिकी सेनालाई एकीकृत गरेर संयुक्त सैन्य अड्डा बनाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले १५ अगस्ट अर्थात् भोलि अलास्काको एंकोरेजमा भेटवार्ता गर्ने तय भएको छ।
  • ट्रम्पले पुटिनसँगको वार्तालाई \'माहोल बुझ्ने भेट\' र युक्रेन युद्धविरामका लागि पुटिनलाई राजी गराउने उद्देश्य रहेको बताएका छन्।
  • युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की वार्तामा सहभागी नहुने भए पनि ट्रम्पले वार्तापछि जेलेन्स्कीलाई फोन गर्ने बताएका छन्।

२९ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले शुक्रबार भेटवार्ता गर्दैछन् । अमेरिकाको अलास्कामा हुने भेटवार्ता युक्रेन युद्ध अन्त्य गर्ने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

ट्रम्पले एक साताअघि अलास्कामा पुटिनसँग भेटवार्ता तय भएको घोषणा गरेका थिए । साथै त्यही दिन राष्ट्रपति ट्रम्पले युक्रेनविरुद्धको आक्रमण रोकेर युद्धबिराम नगरे रुसविरुद्ध थप अमेरिकी प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

ट्रम्पको आग्रहमा रुस र युक्रेनबीच भएका तीन पटकका छलफलले यी दुई देशबीच युद्ध अन्त्य गर्न सकेको छैन । अमेरिकाको अलास्का राज्यमा हुने भनिएको ट्रम्प-पुटिन वार्तालाई चासोका साथ हेरिएको छ ।

दुई महाशक्ति राष्ट्रप्रमुखबीच भेट हुने तय भएको स्थान अलास्काको रोचक इतिहास पनि छ । अलास्का कुनै समयमा रुसकै हिस्सा थियो । अलास्का अमेरिकाको उत्तर-पश्चिमी भागमा पर्छ र आर्कटिक सर्कलको दक्षिणतिर भए पनि यहाँको मौसम निकै चिसो रहने गर्छ ।

ट्रम्प-पुटिन किन यहाँ भेट्दैछन् ?

अमेरिकाले डेढ सय वर्षभन्दा अघि रुससँगै अलास्का किनेको थियो । सन् १८६७ मा रुससँग खरिद गरेर अमेरिकाले अलास्कालाई सन् १९५९ मा राज्य बनाएको थियो । रुसी राष्ट्रपतिका सहायक युरी उशाकोवले दुई देश छिमेकी भएको भन्दै ‘बेरिङ स्ट्रेट’ले मात्र छुट्याउने बताएका छन् ।

उनले भने, ‘हाम्रा लागि बेरिङ स्ट्रेट पार गरेर उडान भर्न र दुई देशका नेताबीच लामो समयदेखिको प्रतिक्षित यति महत्वपूर्ण शिखर सम्मेलन हुनु बिलकुल सही छ ।’

बेरिङ स्ट्रेटलाई जल डमरु भन्न सकिन्छ । यो एक साँघुरो समुद्री मार्ग हो, जसले रुसको पूर्वी किनार (चुकोट प्रायद्वीप) र अमेरिकाको अलास्काको पश्चिमी किनार (स्यूअर्ड प्रायद्वीप) लाई छुट्याउँछ । यसको चौंडाइ कूल ८२ किलोमिटर अर्थात् ५१ माइल मात्र छ । बीचमा रुसतर्फ बीग डायोमेड टापु र अमेरिकातर्फ लिटल डायमेड टापु छन्, जुन जम्मा ४ किलामिटरको दूरीमा छन् । बिग डायमेड टापुमा स्थायी बस्ती छैनन्, यहाँ रुसी सीमा सुरक्षा चौकी मात्र छन् ।

अमेरिकी राज्य अलास्का र सीमा जोडिने देशका भूभाग।

अमेरिकातर्फको लिटल डायमेड टापुमा भने सानो गाउँ छ । यी दुई टापुबीच अन्तर्राष्ट्रिय सीमारेखा छुट्टिन्छ । जसका कारण यहाँको समयमा झन्डै २१ घण्टाको अन्तर हुन्छ । अमेरिका र रुसबीच एकदमै नजिकको सीमा भएकाले यसलाई सामरिक रूपमा महत्वपूर्ण मानिन्छ । यहाँको मौसम अत्यन्तै चिसो हुन्छ । धेरै समय बरफ जमेको हुन्छ । चिसोका कारण समुद्री मार्गको यात्रासमेत कठिन हुने गर्छ ।

पछिल्लो पटक सन् २०२१ मा अलास्का उच्च तहको अमेरिकी कूटनीतिक कार्यक्रमको केन्द्र बनेको थियो । त्यतिबेला तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना कूटनीतिक र राष्ट्रिय सुरक्षा समूहसहित चिनियाँ समकक्षी सी जिनपिङ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका थिए ।

चिनियाँ पक्षले अमेरिकालाई ‘अहंकारी’ र ‘पाखण्ड’को आरोप लगाएपछि उक्त बैठकको माहोल तनावपूर्ण बनेको थियो ।

ट्रम्प र पुटिन अलास्काको कुन ठाउँमा भेट्दैछन् ?

ह्वाइट हाउसले दुई नेताबीचको भेट अलास्का राज्यको सबभन्दा ठूलो शहर एंकोरेजमा तय भएको पुष्टि गरेको छ ।

द्विपक्षीय बैठकको घोषणा गर्दै ट्रम्पले भेटवार्ता हुने स्थल कयौं कारणले लोकप्रिय भएको बताए पनि ठाउँ खुलाएका थिएनन् ।

दुई नेताले जोइन्ट बेस एल्मेन्डोर्फ-रिचार्डसनमा भोजन गर्ने तय भएको छ । जोइन्ट बेस एल्मेन्डोर्फ-रिचार्डसन अलास्काको सबभन्दा ठूलो सैन्य अड्डा हो । यो झन्डै ७५ हजार एकडमा फैलिएको छ ।

पछिल्लो पटक सन् २०२१ मा अलास्का उच्च तहको अमेरिकी कूटनीतिक कार्यक्रमको केन्द्र बनेको थियो । त्यतिबेला तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना कूटनीतिक र राष्ट्रिय सुरक्षा समूहसहित चिनियाँ समकक्षी सी जिनपिङ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका थिए ।

आर्कटिक क्षेत्रमा अमेरिकी सैन्य तयारीका लागि पनि यो क्षेत्र निकै महत्वपूर्ण मानिन्छ । सुविधासम्पन्न यस सैन्य अड्डामा झन्डै १० हजार सैनिक र उनीहरूका परिवार बस्छन् । सन् २०१० मा अमेरिकी वायु सेना र अमेरिकी सेनालाई एकीकृत गरेर संयुक्त सैन्य अड्डा बनाइएको हो । अमेरिकाले यहाँबाट एसिया र युरोप दुवै दिशामा सैन्य कारबाही गर्नसक्ने क्षमता राख्छ ।

किन भेट्दैछन् ट्रम्प र पुटिन ?

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न प्रयास गर्दै आएको देखिन्छ । तर परिणाममुखी नतिजा भने देखिएको छैन । राष्ट्रपति पदको उम्मेदवार हुँदै गर्दा ट्रम्पले २४ घण्टाभित्र रुस-युक्रेन युद्ध अन्त्य गरिदिने घोषणासमेत गरेका थिए । रुसले सन् २०२२ मा युक्रेनविरुद्ध आक्रमण सुरु गर्दा आफू राष्ट्रपति भएको भए कहिल्यै युद्ध नै नहुने ट्रम्पले बारम्बार भन्दै आएका छन् ।

गत महिना बीबीसीसँगको कुराकानीमा ट्रम्पले आफू पुटिनसँग निराश रहेको बताएका थिए । निराशा बढ्दै जाँदा ट्रम्पले युक्रेनसँग तत्काल युद्धबिराम गर्न रुसलाई ८ अगस्टसम्मको अल्टिमेटम दिएका थिए । त्यसो नभए रुसले कडा अमेरिकी प्रतिबन्ध झेल्नुपर्ने ट्रम्पको चेतावनी थियो ।

अलास्काको हिमालय क्षेत्र।

तर, ८ अगस्टअघि नै ट्रम्पले अगस्ट १५ अर्थात् भोलि शुक्रबार पुटिनसँग आमने-सामने हुने घोषणा गरे ।

ट्रम्पका अनुसार अमेरिकी विशेष दूत स्टिभ विट्कफले मस्को पुगेर पुटिनसँग भेटेपछि अलास्कामा शिखर वार्ता तय भएको हो ।

तर, ह्वाइट हाउसले भने द्विपक्षीय भेटले युक्रेन युद्धबिरामबारे सहमति गर्ने अड्कलबाजी प्रष्ट्याउन चाहेन । ह्वाइटहाउसकी प्रेस सचिव क्यारोलिन लेविटले भनिन्, ‘यो भेट राष्ट्रपति ट्रम्पका लागि सुन्ने मौका हो ।’ प्रेस सचिव लेविटका अनुसार भेटपछि ट्रम्पले रुस भ्रमण गर्न सक्छन् ।

सोमबार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले पुटिनसँगको बैठकलाई ‘माहोल बुझ्ने भेट’का रूपमा चित्रण गरेका थिए । साथै भेटमार्फत रूसी राष्ट्रपति पुटिनलाई युद्ध अन्त्य गर्न राजी गर्ने उद्देश्य भएको ट्रम्पको भनाइ थियो ।

के युक्रेन यसमा सामेल हुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच अलास्कामा हुने शिखर वार्तामा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की सहभागी हुने अपेक्षा छैन । सोमबार ट्रम्पले भनेका छन्, ‘म भन्छु, उनी (जेलेन्स्की) आउन सक्छन्, तर उनी पहिले नै कयौं बैठकमा सहभागी भइसकेका छन् ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की।

यद्यपि, पुटिनसँगको बैठक सकिएलगत्तै सबभन्दा पहिले आफूले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई टेलिफोन गर्ने ट्रम्पले बताएका छन् ।

बुधबार पनि ट्रम्प र जेलेन्स्कीबीच भर्चुअल वार्ता भएको थियो । भर्चुअल वार्तामा अन्य युरोपेली नेतासमेत सहभागी थिए ।

पुटिनले अलास्कामा हुने वार्तामा जेलेन्स्कीलाई सामेल नगर्न सर्त राखेका थिए । ह्वाइट हाउसले भने ट्रम्प तीनै नेताबीच वार्ता गर्न तयार रहेको बताएको थियो । जेलेन्स्कीले युक्रेनको राय बिना हुने कुनै पनि सम्झौता बेकार हुने प्रतिक्रिया दिएका छन् ।

दुवै पक्ष यसबाट के हासिल गर्न चाहन्छन् ?

रुस र युक्रेनले युद्ध अन्त्य गर्न चाहेको बताउने गरेका छन् । तर एक अर्काका सर्त दुवैलाई मञ्जुर छैन ।

सोमबार ट्रम्पले युक्रेनले गुमाएको भूभाग छाड्नुपर्ने हुनसक्ने बताएका थिए । उनले भनेका छन्, ‘युक्रेन रूसी कब्जामा रहेको भूभाग फिर्ता गर्ने प्रयासमा छ तर केही हेरफेर वा जमिनमा बदलाव गर्नुपर्ने हुनसक्छ ।’

युक्रेनले रुसले कब्जा गरेका क्रिमियासहितका कुनै पनि क्षेत्रलाई मान्यता नदिने बताएको छ ।

यसै साता जेलेन्स्कीले जमिनको हेरफेरको विचार खारेज गर्दै भनेका थिए, ‘हामी रुसले गरेको नरसंहारको उपहार दिँदैनौं ।’

यसबीच पुटिनले क्षेत्रीय स्थिरताको दाबी, भूराजनीतिमा युक्रेनको तटस्थता र युक्रेनी सेनाको आकारका विषयमा अडान कायम राखेका छन् ।

पश्चिमी सैन्य गठबन्धन नेटोले छिमेकी देश युक्रेनलाई प्रयोग गरेर आफ्नो सीमासम्मै सैन्य बल ल्याउन प्रयास गरिरहेको पुटिनको आशंका छ ।

बीबीसीको अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएस न्युजले ट्रम्प प्रशासन, युक्रेनको ठूलो हिस्साको नियन्त्रण रुसलाई सुम्पिन युरोपेली नेताहरूलाई समेत राजी गर्नेगरी युद्धबिराम सम्झौता गराउन लागिपरेको दाबी गरेको छ ।

‘युद्धबिराम सम्झौता भए रुसले क्रिमिया प्रायद्वीपमा आफ्नो नियन्त्रण कायम राखिराख्न सक्छ र पूर्वी युक्रेनको डोनबास क्षेत्र (डोनेत्स्क र लुहांस्क) लाई समेत अधिनमा लिनसक्छ,’ सीबीएसलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेको थियो । साथै डोनबास क्षेत्रका धेरैजसो हिस्सामा रूसी सेनाको नियन्त्रण छ ।

युद्धबिराम भए आंशिक सैन्य नियन्त्रण रहेको युक्रेनको खेरसोन र जापोरजिया क्षेत्रबाट रूसी सेना पूर्ण रूपमा हट्नुपर्नेछ ।

फक्स न्युजसँग कुराकानी गर्दै अमेरिकी राष्ट्रपति जेडी भान्सले ‘भविष्यको सम्झौता कसैलाई पनि अति खुसी पार्ने किसिमको नहुने’ बताएका छन् ।

उनले भनेका छन्, ‘तपाईंले यहाँ शान्ति कायम गर्नुपर्ने हुन्छ, औंला उठाउन मात्रै सक्नुहुन्न, शान्तिको बाटो यही हुनसक्छ कि निर्णायक नेताहरू वार्तामा बसुन् र सहमति गर्न बाध्य होउन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?