+
+
Shares

बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चिनियाँ टोली चितवनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते ९:३१

३० साउन, चितवन । नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ ।

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी छ । सोही तयारीका लागि आवश्यक जानकारी लिन तथा सहजीकरण गर्न चीनबाट ७ सदस्यीय टोली  आएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए ।

सघन उपचार कक्ष, रेडिएसन अंकोलोजी, प्रयोगशाला, मेडिकल अंकोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगबारे टोलीले अध्ययन गर्ने कार्यकारी निर्देशक डा. पौडेलले बताए ।  क्यान्सर अस्पतालमा आएर बिरामीलाई सेवा दिने १५ औं टोलीका प्रमुख रहेका डा. चाहु क्वीमिङ्गको नेतृत्वमा सात जना विज्ञ टोली अस्पतालमा आएको हो ।

बीपी कोइराला क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपणको कामलाई यथाशक्य छिटो थालनी गर्ने गरी काम अगाडि बढाउने बातावरण तयार गरिने बताए ।

उनका अनुसार अस्पतालको मुख्य बिरामी भवनको छेउमा नै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुई तले भवन निर्माण गरिनेछ । क्यान्सर अस्पतालमा १ हजार ८३४ वर्गमिटर क्षेत्रमा बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक उपकरण जडान हुने छ । सो भवनको निर्माण, उपकरण र आवश्यक तालिम पछि मात्रै अस्पताललाई हस्तान्तरण हुने कार्यकारी निर्देशक डा. पौडेलले बताए ।

अहिले वातावरणीय प्रभाव मूल्यांकनका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेको छ ।

काम सुरु गरेको तीन वर्ष भित्र बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सकिने भनेर चिनियाँ टोलीले जानकारी दिएको कार्यकारी निर्देशक पौडेलले बताए । सबै पूर्वाधार तयार भए एक वर्षमा ५० जनामा बोनम्यारो प्रत्यारोपण गर्न सकिने विश्वास अस्पतालको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २०८० साल असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

त्यससम्बन्धी सम्झौता पत्रमा २०८१ साल असोज १४ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुन र अर्थसचिव मधुकुमार मरासिनीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका थिए ।

सम्झौता पत्रमा चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने र त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिम दिनका लागि आर्थिक सहायता उपलब्ध गराउने उल्लेख थियो ।

त्यसपछि यसै वर्ष साउन ५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा चिनियाँ प्रतिनिधिसँग चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा अर्थसचिव घनश्याम उपाध्याय र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का प्रतिनिधिबीच हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?