+
+
Shares

सपादलक्ष कर्णाली : समग्र कर्णाली गाथा

भावना पोखरेल भावना पोखरेल
२०८२ भदौ १ गते ८:३६

कर्णाली विकासमा कमजोर होला तर बहसमा छैन । भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको जनआकर्षण बढ्दो छ । विशेष गरी पहाडे खसभाषीहरूको भाषिक र सांस्कृतिक जरोकिलो जोडिएको खस सभ्यताको मुहान सिँजा उपत्यका, जहाँबाट नेपाली भाषाको शुद्धतम रूप बग्यो । यही भूमि ‘मस्टो पूजक’ र ‘कुल पूजक’ संस्कारको उद्गमस्थल हो । हरेक नेपालीका लागि यो केवल एउटा भौगोलिक क्षेत्र मात्र होइन, पितृभूमि र सांस्कृतिक अवचेतनको आधारशिला हो ।

विश्वव्यापी रूपमा कुनै पनि गरिब वा अविकसित देश वा क्षेत्रको नाम प्रायः विपत्ति वा द्वन्द्वसँग जोडिएर मात्र बाह्य संसारमा प्रतिध्वनित हुन्छ । जसरी नेपालको नाम दरबार हत्याकाण्ड, विमान अपहरण वा महाभूकम्प जस्ता दुःखद घटनासँग जोडिएर विश्व समाचारमा आउँथ्यो, त्यसै गरी कर्णाली पनि लामो समयसम्म बस दुर्घटना, महामारी र द्वन्द्वकालीन भिडन्तका खबरहरूमै सीमित रह्यो तर पछिल्ला दशकमा यो दृश्य क्रमशः बदलिएको छ ।

अब कर्णाली केवल विपत्तिको पर्याय होइन, सम्भावना र सिर्जनाको पहिचान बन्दै छ । यसको प्राचीन इतिहास, सांस्कृतिक सम्पदा, भाषिक धरोहर र प्राकृतिक सौन्दर्यबारे अनुसन्धानात्मक बहसहरू बढेका छन् । बुद्धिजीवी र लेखकहरूको नयाँ पुस्ताले कर्णालीलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउने कार्यमा आफ्नो सिर्जनशीलता अर्पण गरिरहेका छन् । जुम्लामा जन्मेका लेखक माधव चौलागाईंले यस दिशामा उल्लेखनीय योगदान दिएका छन् । उनले कर्णालीसम्बन्धी विभिन्न समयमा लेखिएका आफ्ना निबन्ध र लेखलाई सँगालेर सपादलक्ष कर्णाली शीर्षकमा पुस्तक प्रकाशन गरेका छन्- जुन इतिहास, स्मृति र सम्भावनाको सशक्त दस्तावेज हो ।

कृतिले पाठकलाई कर्णालीलाई विश्वका अन्य सीमान्तकृत पहाडी क्षेत्रहरू – जस्तै अमेरिकाको अपालान्चिया (Appalachia) वा चीनको स्वशासित तिब्बतसँग तुलना गर्ने दृष्टि दिन्छ । यसरी हेर्दा कर्णाली केवल नेपालको एउटा प्रदेश नभई सांस्कृतिक – ऐतिहासिक अध्ययनको अन्तर्राष्ट्रिय केस- स्टडी बन्न सक्ने क्षमता बोकेको भूगोल हो ।

कर्णालीले नेपालको राजनीति, साहित्य, कला र बौद्धिक क्षेत्रमा गहिरो छाप छोडेको छ । यस भूमिले राष्ट्रिय राजनीतिको उच्च तहसम्म पुग्ने नेताहरू जन्माएको छ, जसको सङ्घर्षले सङ्घीयता र समावेशी राजनीतिलाई मजबुत पारेको छ । प्रख्यात आख्यानकार बुद्धिसागर, चलचित्रकर्मी मीन भाम, देउडा परम्परालाई आधुनिकतासँग जोड्ने गायक बिमल डाँगी, लोकसंस्कृति संरक्षणमा जीवन अर्पण गर्ने योगी नरहरिनाथ र अन्तर्राष्ट्रिय स्तरमा कर्णालीको मुहार देखाउने अभिनेता थिन्ले ल्हुन्डुप (फिल्म Caravan) – यी सबैले कर्णालीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उभ्याएका छन् ।

– ऐतिहासिक रूपमा खस सभ्यता र नेपाली भाषाले नेपालमा सर्वाधिक बोलिने भाषाका रूपमा राष्ट्रिय एकताको जग बसालेको छ । आज शिक्षा, पर्यटन, जलविद्युत्, जैविक कृषि र साहसिक खेलकुदका माध्यमबाट कर्णाली नेपालका लागि आर्थिक र सांस्कृतिक दुवै दृष्टिले नयाँ अध्याय खोल्न सक्ने अवस्थामा छ ।

भनेको केवल एउटा भौगोलिक नक्सा पढ्नु होइन, यो हाम्रो सामूहिक स्मृति, सांस्कृतिक चेतना र भविष्यको सम्भावनन्त्र पढ्नु कर्णालीलाई बुझ्नु हो । यही कारण हामीलाई कर्णालीका कुरा सधैँ मन पर्छन् ।

अर्ग्यानिक आलेख

पुस्तकका लेखक माधव चौलागाईं

आजकल हामी मौलिक स्वाद वा अर्ग्यानिक वस्तुहरूका पारखी बन्दै गएका छौं । बाहिरबाट केही समयका लागि आएका पर्यटक वा आगन्तुकले कुनै ठाउँको वर्णन गर्नु र त्यहीँको माटामा जन्मेर हुर्केर राष्ट्रिय स्तरको पहिचान बनाएका स्थानीयवासीले त्यस ठाउँको विगत, वर्तमान र भविष्यबारे परिपक्व विचार राख्नुमा ठुलो भिन्नता हुन्छ । यस किताबको डिजाइन, सम्पादन, प्रकाशनदेखि सम्पूर्ण काम कर्णालीवासीकै हातबाट भएको छ । विमोचन पनि सुर्खेतमा लेखककी आमाको उपस्थितिमा प्रदेश सभामुखको हातबाट गरिएको छ । योगी नरहरिनाथले ‘ज्येष्ठ सभ्यता’ भन्नुभएको खस सभ्यताको गौरवशाली इतिहास र सवा लाख विशेषताहरूलाई समेट्ने गरी किताबको नामकरण गरिएको छ । लेखकले ‘कर्णाली’ लाई विशेषणका रूपमा अर्थ दिन पुराना अभिलेखहरूबाट उदधृत गरेका शब्दहरूले यसको विविधतालाई न्याय गर्दछन् – सवा लाख पर्वत वा सवा लाख विशेषता ।

समयक्रमको दृष्टिबाट यो किताब इतिहास, वर्तमान र भविष्यको सेरोफेरोमा घुम्छ तर यो केवल सभ्यता, इतिहास वा राजनीतिको वर्णनमा मात्र सीमित छैन, यसको विशेषता भनेको अहिलेसम्मका अध्ययनहरूबाट अब के गर्न सकिन्छ र के गर्नुहुँदैन भन्ने विवेचना हो ।
किताबका ३ (तीन) खण्डमध्ये पहिलो खण्ड ‘मइडो’ छ ।

मइडो : घरको मियो, स्नेहको न्यानोपन र निकटता

यो खण्डमा १५ वटा लेखहरू छन्, जसमा खस सभ्यताको उदय, स्वर्णयुग र पतनका रोचक कथाहरूको सङ्ग्रह छ । त्यस बेला नै विकेन्द्रीकृत शासन व्यवस्था, सैन्य शक्ति, न्याय परम्परा, सामाजिक व्यवस्था, प्राचीन सिल्क रोडको प्रयोग, मौलिक भाषा विकास, धार्मिक सहिष्णुता, आर्थिक, कूटनीतिक र सांस्कृतिक रूपमा बलियो खस साम्राज्यको वर्णन पढ्दा एकटकले मन रमाउँछ तर राज्यहरू टुक्रा-टुक्रा हुँदा अनि शासकहरू पारिवारिक कलह र व्यक्तिगत स्वार्थमा अल्झिँदा सम्पदाहरूको संरक्षण नहुनु, गोर्खाली फौजले बारम्बार लुटपाट गर्नु (धाडो हाल्नु) र १५६२ को ८.८ रेक्टर स्केलको भूकम्पले सबै तहसनहस पार्नुको ऐतिहासिक सन्दर्भले मनलाई उत्तिकै दुखाउँछ ।

गोर्खाली एकीकरणको अतिक्रमणमा परेका सम्पदाहरू चोरी, तस्करी र लुटपाटको सिकार बने । सङ्ग्रहालयतुल्य सम्पदाहरू सत्तासीनहरूको निजी सम्पत्तिमा परिणत भए । पञ्चायतकालमा चोरी र बिक्री बढयो भने बहुदलपछि सम्पदा स्थलहरूको जमिन अतिक्रमण तीव्र भयो । गोर्खाली सेनाको लुटपाट, कर असुली र राणाकालसम्मको उपेक्षाले यो क्षेत्रलाई बाहिरी दुनियाबाट अलग्याइदियो । शाह राजाहरूले नेपाललाई एकीकरण गरे तर नेपालीहरूलाई एकीकरण गरेनन् । पुराना बडाहाकिमहरूको रवाफ र रवैयाले फिल्मका खलनायकको झल्को दिन्छ ।

धेरै रहस्यहरू अझै खुल्न बाँकी छन् र भएका इतिहास पनि तोडमोड गरिएका छन् । प्रो. जिसेक टुचीको शब्दमा यो क्षेत्र ‘टेरा इन्कग्निटा’ जस्तो बनेको छ । ८० हजार सैनिक भएको ठाउँमा चार दशकपछि जम्मा ७० हजार जनसङ्ख्या हुनुले त्यो अन्धकार युगमा धेरै काला कर्तुतहरू भएका अनुमान गर्न सकिन्छ । युद्धका प्रतिशोध, नरसंहार, महामारी र प्राकृतिक विपत्तिहरूले जीवनलाई कठिन मात्र होइन, बाँच्नै नसक्ने बनाएका थिए । यो खण्डमा यार (देवदार), मार्सी धानको महिमा र विशिष्ट उत्पादनहरूको प्रवर्धनबारे विगतदेखि अहिलेसम्मको इतिवृत्तान्त छ । क्याराभान फिल्मको रोमाञ्चक दृश्य र देउडाको मिठासले आकर्षित भएकी मलाई २०६६ सालमा हैजाको महामारीले जाजरकोट पुऱ्याएको थियो । त्यहाँको अनिकाल, भोकमरी र कुपोषणको दुष्चक्रमा महामारीहरू जोडिएका छन् । जनस्वास्थ्यमा रुचि राख्नेहरूका लागि यो उपयोगी सन्दर्भ हो । भोकमरीलाई ‘भातमारी’ भनिएको अवस्था अन्य ठाउँहरूमा पनि लागू हुन्छ । कर्णालीको कुलो परम्पराले खेत मात्र सिँचाइ गर्दैन, सामाजिकता, संस्कृति र आत्मनिर्भरता पनि प्रवाह गरी लग्दछ तर आधुनिकतासँगै सामूहिक भावना ह्रास हुँदै गएको छ । भैलो र काठेसाँघु जस्ता मौलिकताहरू हराउँदै गएको चिन्ता छ ।

काँचुली

यो पुस्तक कर्णालीको विगतलाई उजागर गर्दै आम जनता, नेता र राज्यलाई समाजप्रति उत्तरदायी बनाउने दस्तावेज हो ।

दोस्रो खण्डमा शिशु सङ्घीयताको लडखडाहट र सिकाइ प्रक्रियाबारे गम्भीर चिन्ता व्यक्त छ । कर्णालीको काँचुली फेर्ने वाचासहित आएको व्यवस्थामा के के फेरियो भन्ने लेखाजोखा छ । सरकार बनाउने – ढाल्ने खेल, अस्थिर कर्मचारीतन्त्र, कर्मकाण्डी बजेट, ठुला सपना तर सानो विकास, आकर्षक नारा तर फितलो कार्यान्वयन, कानुन निर्माणमा ढिलासुस्ती, बाझिने कानुनहरू, निरन्तर विपत्ति तर कमजोर तयारी, प्रतिफल नदिने लगानीहरू जस्ता लामो फेहरिस्त छन् जसले कर्णालीवासीहरूलाई निराश बनाएका छन् । डोजरे विकास, न्यून पूँजीगत खर्च, अन्तिम चौमासिकमा मात्र बजेट सक्ने प्रवृत्ति, आसेपासे विकास, आफन्त भर्ती, कर्मचारी नेतृत्वबिच असमझदारी जस्ता रोगहरू यहाँ पनि प्रमुख छन् ।

सुइना

सुइना अर्थात् सपना । यो खण्डका १२ लेखहरूले पर्यटन, स्वास्थ्य, कृषि, वन, जलविद्युत् जस्ता क्षेत्रहरूमा लगानीको सम्भावना खोतलेका छन् । अवसर पाउनासाथ कर्णालीले तरङ्ग ल्याउन सक्ने दाबी गर्छन् लेखक । भोक, रोग र शोकको विम्बलाई विनिर्माण गरी कर्णालीको वैभंव पुनः स्थापित गर्ने सपना यहाँ सादृश छ । बाटाले जमिन मात्रै जोड्दैन जनजीविका पनि जोड्छ । आत्मविश्वास जोड्छ । सामाजिक संवादको भेलोसिटी बढाउँछ । यहाँ सुर्खेत- हिल्सा सडकलाई ‘गेम चेन्जर’ मानिएको छ । समावेशी र स्थानीय सहभागितासहित पर्यटन प्रवर्धन गर्नुपर्ने तर्क छ, एप्पल- टुरिजमको सम्भावना पनि छ ।

ज्ञान र सिपको पुस्तान्तरणका लागि स्वनामधन्यय केही प्रबुद्ध समूहहरू अगि सरेका छन् भने देउडाको पुनरुत्थान भएको छ । काँचुली र सुइना खण्डका विभिन्न लाम्रा संवाद, कुडा कर्णालीका, हाम्मा पैकेलाहरू, कर्णाली रिडर्स सोसाइटी, कर्णालीको उत्सुक पाइला यसका उदाहरण हुन् । यस खण्डका लेखहरूले आम मानिसका सपना, कर्णाली विकासको नयाँ मोडल र स्थानीय- प्रदेश सरकारसँगका जनआकाङ्क्षाहरू समेटेका छन् । दीगो विकासका लागि अत्यावश्यक समावेशिता र स्थानीय सहभागिताका कुरा मात्रै नभई पर्यावरणमैत्री, मौलिकता संरक्षण, आत्मनिर्भरता र दीगोपनाका कुराहरू घुलमिल भएर अधिकांश लेखहरूमा छरलिएका छन् ।

कर्णालीका सर्वकालीन समस्याहरू नजिकबाट देखे भोगेकाले पनि हुन सक्छ लेखकले सुझाएका समाधानका उपायहरू सरल र व्यावहारिक छन् । कर्णालीसम्बन्धी सार्वजनिक बहसमा आउने सूचनाहरू कति काँचा र भ्रमपूर्ण छन् भन्ने उदाहरणहरू प्रशस्त छन् । लेखकले तिनलाई ‘मिथ्याङ्क’ भनेका छन् ।

पृष्ठपोषण

पुस्तकका आलेखहरूले समग्रमा समयक्रमलाई समेट्न सकेको देखिए तापनि विगतका कतिपय सन्दर्भहरू लेखैपिच्छे दोहोरिने क्रम बढी छ । ‘गत हप्ता’ वा ‘दुई महिनाअघि’ जस्ता समयसूचक सन्दर्भहरूले पाठकलाई अल्मल्याउन सक्छन् । विभिन्न समयमा लेखिएका लेखहरूको सङ्कलन भएकाले यस्तो भएको होला । यसलाई सम्पादकीय कमजोरी भन्न सकिन्छ ।

टुक्रे रचनाहरूको सँगालो भएकाले गहन विषय खोज्ने पाठकलाई सामग्री अपुग लाग्न सक्छ ।

कतिपय ठाउँमा स्वास्थ्य, शिक्षा, गरिबी, बजेट आदिका तथ्याङ्कहरूको सूची पढ्दा विरसिलो लाग्न सक्छ ।

महिलाबारे पर्याप्त कुरा नउठेको लेखकले स्विकारेका छन् । अन्य ‘स्नेहमाण्ठ’ हरू पनि समेटिएको भए राम्रो हुन्थ्यो ।

‘छाइछुइ’ मा भने जस्तो छुवाछुतजन्य गतिविधिहरूलाई व्यक्तिगत वा राज्यले विभेद गरेका कारणले स्वाभाविक ठान्नु अहिलेको चेतनशील पुस्तालाई मान्य छैन ।

कतिपय ठाउँ, सम्पदा र धरोहरहरूका चित्रहरू समावेश भएको भए बुझ्न र सम्झिन अझ सजिलो हुन्थ्यो ।

अन्त्यमा

अध्ययमा कर्णालीप्रति चासो राख्ने पाठकहरूका लागि यो उपयुक्त किताब हो । गहन प्राज्ञिक शोध होस् या अनुसन्धान अथवा आत्मरतिको कुनै अध्ययनका लागि होस. यो पुस्तक एक ठोस सन्दर्भ सामग्री हो । कर्णालीको विगतलाई उजागर गर्दै आम जनता, नेता र राज्यलाई समाजप्रति उत्तरदायी बनाउने दस्तावेज हो । विश्वका अनेक सीमान्तकृत क्षेत्रहरूको पुनरुत्थानको कथा जस्तै यो पुस्तकको सुइना- सिकाइले कर्णालीको विकासलाई नयाँ दिशा दिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?