
१ भदौं, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले न्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न न्यायपरिषद्का दुई सदस्यहरुलाई बोलाउने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न बारको कार्यसमिति बैठकले केही दिनअघिको न्यायाधीश नियुक्तिबारे छलफल गर्न उनीहरुलाई बोलाएको हो । त्यसका लागि बारले आइतबार बिहान साढे १ बजेको समय तोकेको छ ।
बारले आफ्नो सिफारिसमा नियुक्त न्यायपरिषद्का सदस्य दामोदर खड्का र प्रधानमन्त्रीको सिफारिसमा नियुक्त महेश नेपाललाई छलफलका लागि बोलाएको हो । बारले निर्णयमा भने उनीहरुलाई छलफलका लागि डाकिएको नभनी ‘संयुक्त परामर्श बैठक’ भन्ने नाम दिइएको छ ।
बारले न्यायाधीश नियुक्ति प्रक्रियालाई निष्पक्ष, पारदर्शी र योग्यतामा आधारित बनाउन कानून व्यवसायी र न्यायपरिषद्का सदस्यहरुबीच साझा धारणा बनाउन आवश्यक रहेको भन्दै दुई सदस्यहरुलाई छलफलका लागि डाकेको हो ।
२२ साउनमा उच्च अदालतकाा लागि २७ जना न्यायाधीशको नाम सिफारिस भएकोमा कानून व्यवसायीहरुबाट ६ जना मात्रै परेका थिए । उक्त सिफारिसको कानून व्यवसायीहरुले विरोध गर्दै आएका छन् । त्यसको जवाफमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रधानन्यायाधीश एक्लैले न्यायाधीशको सिफारिस गर्ने नभएकाले सबैको चित्त बुझाउन नसकिने प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया 4