+
+
Shares

जनतालाई भ्रष्ट बाहेक अरू रोज्न नपाउने अवस्था छ

अहिले नयाँ भ्रष्ट जिन्दावाद, पुरानो भ्रष्ट मुर्दावाद भन्ने नारा लोकप्रिय भइरहेको छ । पुरानाहरूले रैथाने भ्रष्ट जिन्दावाद भन्ने होला । जनतालाई भने भ्रष्ट बाहेक अरू रोज्न नपाउने अवस्था छ ।

घनश्याम भूसाल घनश्याम भूसाल
२०८२ भदौ ४ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता भूसालले स्व. प्रदीप गिरीलाई साँचो समाजवादी र मार्क्सवादका आधिकारिक व्याख्याकारको रूपमा सम्झिएका छन्।
  • भूसालले प्रदीप गिरीको अनुपस्थितिले मुलुकको राजनीति, विचार र सिद्धान्तमा ठूलो स्खलन आएको बताए।
  • उनले वर्तमान राजनीतिक भ्रष्टाचारलाई नयाँ भ्रष्ट जिन्दावाद, र पुराना भ्रष्ट मुर्दावाद भनेर व्याख्या गरे।

हामी प्रदीप गिरीको पुण्यतिथिमा छौं। व्यक्तिगत रूपमा मैले उहाँको बारेमा सम्झिंदा मलाई अहिले पनि परिरहने इम्प्रेशन भनेको थकथकी हो। व्यक्तिगत रूपमा असाध्यै प्रेरित, प्रोत्साहित गरिरहने एक जना अगुवा, अग्रज ।

एकचोटि हाम्रो पार्टीमा विवाद भयो। कांग्रेसलाई ल्याएर मार्क्सवाद पढाउने भन्ने प्रश्न उठ्यो। मेरो अध्यक्षले सोध्नुभयो । मैले भनें, ‘संसारभरि भन्दिनँ, तर एशियामा मार्क्सका बारेमा, मार्क्सको विचारको प्रभावका बारेमा त्यत्तिको बुझेको मान्छे को हो बताउनुस्, कति जना मान्छेहरू छन्, कति जना मान्छेहरू होलान् ?’

त्यो मैले त्यतिखेर दिएको ओठे जवाफ मात्रै थिएन। अहिले पनि मलाई त्यस्तो लाग्छ। मैले जानेको, सुनेको, बुझेको हिसाबले भन्ने हो भने प्रदीप गिरी मार्क्स र उनको विचारको प्रभावका बारेमा त्यो तहको आधिकारिक आफ्नो कुरा राख्न सक्ने मान्छे एशियामा धेरै छैनन् भन्ने नै मलाई अहिले पनि लाग्छ।

मार्क्सको अन्त्येष्टिमा १४ जना मात्रै मलामीहरू थिए, तिनका अगाडि एंगेल्सले गरेको एउटा भाषणको कुरा उहाँले पटक पटक चित्रण गर्नुहुन्थ्यो। मार्क्स के थिए, उनले समाज विज्ञानका बारेमा के के योगदान गरे भन्ने लामो व्याख्या गर्दै अन्तिमतिर सर्वोपरि रूपमा मार्क्स एउटा क्रान्तिकारी थिए भन्ने एंगेल्सको त्यो लाइनलाई उहाँले पटक–पटक दोहोर्‍याउनुहुन्थ्यो।

यस हिसाबले हेर्दा प्रदीप गिरी एउटा साँचो समाजवादी हुनुहुन्थ्यो। त्यो भनेको कुनै पाखण्ड विना, कुनै बनावटी कुरा विना, विचार, सिद्धान्त र मूल्यको कुनै बनावटी वा पाखण्ड विना एउटा विशुद्ध समाजवादी हुनुहुन्थ्यो। भन्ने एकथोक र गर्ने एकथोक गर्नुभएन उहाँले। यो सबभन्दा ठूलो नैतिक बल हो । जसको द्वैध व्यक्तित्व छैन, एउटा छ।

बोल्छ एकथोक, गर्छ एकथोक, सोच्छ एकथोक- राजनीति, सिद्धान्त त्यहाँबाट बिग्रन्छ। यसरी हेर्दा समाजवादी आन्दोलनको त्यो व्यक्तित्व, हाम्रो मुलुकको एउटा शक्तिशाली मस्तिष्क हामीले गुमाएका हौं र उहाँको हामी आज पुण्यतिथिको कुरा गर्दैछौं।

उहाँले हामीसँग रहेर करिब–करिब त्यतिखेर घोषणा पनि गरेका थियौं ‘हामी १० हजार युवाहरूलाई मार्क्सवाद पढाउँछौं’ भनेर । र, त्यसको प्रथम गुरु प्रदीप गिरी हुनुहुन्थ्यो। त्यसका लागि उहाँ तयार हुनुहुन्थ्यो।

कहिलेकाहीं उहाँलाई बोलाउन गाह्रो हुन्थ्यो। कुनै कार्यक्रममा आउँछु भनेपछि धेरै कार्यक्रम उहाँले छोडिदिनुहुन्थ्यो र मैले धेरैलाई भनेको छु- कार्यक्रमको विषयवस्तुमा मार्क्सवाद वा समाजवाद जोड्नुस्, प्रदीप गिरी आउनुहुन्छ । प्रायः यस्तो हुन्थ्यो पनि । मार्क्सवाद र समाजवादका बारेमा केही गर्नुछ भनेपछि प्रदीप गिरी जतिखेर पनि तयार हुनुहुन्थ्यो।

त्यस्तो व्यक्ति, मस्तिष्कको एउटा अहिले खडेरी छ। सम्भवतः यही तीन वर्षमा पनि मुलुकको राजनीति, विचार, सिद्धान्तमा जुन स्खलन आएको छ, इतिहासमा यत्तिको ठूलो स्खलन कहिल्यै पनि आएको थिएन होला। र सम्भवतः प्रदीप गिरी रहेको भए यो स्थिति हुँदैनथ्यो।

मैले कुनै कुनै अतिरञ्जना विना भन्दैछु । मलाई लागेसम्म, सम्पूर्ण विश्वासका साथ मैले यो भन्दैछु, प्रदीप गिरी रहनुभएको भए आज देखिएको विचारको खडेरी हुँदैनथ्यो। उहाँमा जुन हुटहुटी थियो त्यो पनि आज हामीले र मुलुकले गुमाएको छ ।

हाम्रो छिमेकी कवि गोरख पाण्डेले लेखेका छन्- राजा बोला रात है, रानी बोली रात है, मन्त्री बोला रात है, सन्त्री बोला रात है, ये सुबह सुबह की बात है। अहिले राजनीतिमा देखिएको कुरा ठ्याक्कै यही कविताले बोल्छ होला ।

नेपाली राजनीतिको विभाजन हेर्दा ‘नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद’ भन्ने नारा चर्चित भइरहेको छ। सबभन्दा शक्तिशाली अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्ट जिन्दावाद। अनि हामीले पुरानाहरूले रैथाने भ्रष्ट जिन्दावाद भन्न खोजेको हो कि ? हामी पुरानै, खानदानी भ्रष्टहरू जिन्दावाद भन्नुपर्ने जस्तो छ। अर्को तर्क हराएको छ । शहरमा, मुलुकमा तर्क छैन। राजनीतिमा तर्क हरायो ।

यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ। पहिलेदेखि देश विदेश जितेका ठूल्ठूला नेताहरू जानेका पुरानाहरू नै ठीक छ वा नयाँ ठीक छ? तिनको आचरणको कुरा गर्दाखेरि नैतिकता र निष्ठाको कुरा गर्दैछौं, के फरक? पूँजीवादी भयो भने के बोल्छ? लोकतान्त्रिक भयो भने के बोल्छ? कम्युनिष्ट भयो भने के बोल्छ? कुनै वामपन्थी बोल्दै छ भने त्यो छुट्याउने आधार के हो?

एकचोटि प्रदीप गिरीले यो नेपालीहरूले बुझ्ने भाषामा भन्नुपर्‍यो भन्नुभयो । काम केही पनि गर्दैन, खाएर बस्ने यो त भाते पूँजीवाद हो भन्नुभयो।

छुट्याउने आधार उसको नाम वामपन्थी हो। उसको नाम लोकतान्त्रिक हो। सीमारेखाहरू हराउँदै गएर अहिले राजनीतिमा नैतिकताको खडेरी देखिएको छ। जहाँसम्म यो नैतिक दर्शनको विषयमा धेरै ठूलो विवाद, बहस धेरै अगाडिदेखि मान्छेहरूले लेख्दै बोल्दै आएका छन् । तर मूलभूत रूपमा कुन ठीक, कुन बेठीक हो ? के असल हो, के खराब हो ? नैतिक दर्शनको मूलभूत विषय यही हो।

यसलाई राजनीतिमा ल्याएर हेर्दा त्यो सबै ब्लर भइसकेको छ अहिले । के हो के हो यो ? तर फेरि पनि साँचो कुरा, त्यो युगको नैतिकताको व्याख्या अलिकति फरक हुन सक्छ। जुनसुकै युगको नैतिकताको व्याख्या त्यतिखेरको बन्दुकले गर्छ। अदालतले गर्छ, संसद्ले गर्छ, सरकारले गर्छ।

तर तपाईं कल्पना गर्नुस्, शीतलनिवासमा आर्मी छैन, राष्ट्रपति रामचन्द्र पौडेलको हैसियत के हुन्छ? बालुवाटारमा आर्मी छैन, के हुन्छ? वा सर्वोच्च अदालतमा ?

त्यहाँ राष्ट्रपतिका पछाडि बन्दुक लिएर बसेको कोही छ, त्यसले राजनीति, सत्ताको डिफाइन गर्छ र त्यो सत्ताले कानुन र नैतिकताहरू डिफाइन गर्छ। यदि यसरी विचारधाराको आधारमा हेर्ने हो भने पनि आजको नैतिकताको व्याख्या पूँजीले गर्छ। दाबी गरिएको जस्तो पूँजीवादको लजिक भनेको त लगानी गर्ने वातावरण भयो भने त्यसले यो असमानताहरू पनि अन्त्य गर्दै जान्छ, रोजगारीहरू सिर्जना गर्दै जान्छ, वैभव सिर्जना गर्छ, रोजगारी सिर्जना गर्दै जान्छ। यो त पूँजीवादको लजिक हो।

यो हाम्रोमा रहेको सीमा काटेको पूँजीवाद हो । जसलाई मैले २० वर्षदेखि दलाल पूँजीवाद भन्छु।

एकचोटि प्रदीप गिरीले यो नेपालीहरूले बुझ्ने भाषामा भन्नुपर्‍यो भन्नुभयो । काम केही पनि गर्दैन, खाएर बस्ने यो त भाते पूँजीवाद हो भन्नुभयो।

यसरी आजको राजनीति, राजनीतिक सत्ता (किनभने सत्तालाई छोडेर हामीले राजनीतिको कुरा गर्नु एक जना नागरिकको नैतिकताको कुरा होइन) कुनै एक जना स्कूल टिचरले एक क्लास पढाउन छोडेको कुरा होइन। कुनै मजदूरले कुनै सामान भाँचेर त्यसलाई लुकाएको कुरा होइन। हामी राजनीतिको कुरा गर्दैछौं। जब नैतिकताको प्रश्न सत्तासँग जोडिन्छ, त्यो खतरनाक हुन्छ।

अब सत्ता कहाँ छ भनेर हेर्ने कुरा होला । पार्टी कसरी बन्छ भन्ने कुराको बारेमा हामीले सोच्ने होला। यदि त्यो सोचिएन भने नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने होला । तर जनताका अगाडि भ्रष्ट बाहेक अरू खोज्न नपाउने, अर्को विकल्प नहुने दिशातिर यो लोकतन्त्र जाँदैछ।

(स्व. प्रदीप गिरीको स्मृतिमा आयोजित कार्यक्रममा बुधबार नेता भूसालले राखेको विचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?