
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले लुम्बिनी प्रदेशमा एक महिनाको माग धान्न सक्ने अत्याधुनिक इन्धन डिपो निर्माण गर्ने योजना अघि बढाएको छ।
- नयाँ डिपो रुपन्देहीका रोहिणी र ओमसतिया गाउँपालिकामा साढे २५ बिघा क्षेत्रफलमा निर्माण हुनेछ र आर्थिक वर्ष २०८२/८३ देखि काम सुरु हुनेछ।
- डिपो निर्माणका लागि करबाहेक ५ अर्ब ७९ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको छ र यसले लुम्बिनी प्रदेशको इन्धन भण्डारण क्षमता वृद्धि गर्नेछ।
४ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशको एक महिनाको माग धान्न पुग्ने गरी अत्याधुनिक इन्धन डिपो बन्ने भएको छ ।
नेपाल आयल निगमले निर्माण गर्न लागेको अत्याधुनिक प्रविधिको नयाँ इन्धन डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बुधबार हस्तान्तरण गरिएको छ ।
रुपन्देहीका रोहिणी र ओमसतिया गाउँपालिकास्थित साढे २५ बिघा क्षेत्रफलमा नयाँ र आधुनिक सुविधा सम्पन्न इन्धन डिपोसहित लुम्बिनी प्रादेशिक कार्यालय चालु आर्थिक वर्ष २०८२/८३ देखि निर्माण कार्य सुरु हुने निगमले जनाएको छ ।
हाल सञ्चालनमा रहेको लुम्बिनी प्रादेशिक कार्यालय भलवारी (रुपन्देही) साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेको भन्दै निगमले नयाँ परियोजना अगाडि बढाएको हो ।
डीपीआर भने काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा बनाइएको हो । १२ मंसिर २०८१ मा काठमाडौं विश्वविद्यालय, कन्सल्टेन्सी सेवा विभाग र आयल निगम, भण्डारण क्षमता वृद्धि परियोजनाबीच डीपीआर निर्माणका लागि सम्झौता भएको थियो । डीपीआर आज हस्तान्तरण गरिएको छ ।
रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ । त्यहाँ रहेको थप साढे ८ बिघा पर्ति जग्गा निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट आवश्यक पहलकदमी भइसकेको निगमले जनाएको छ ।
जग्गा प्रवेश गर्ने मूलबाटोसँग जोडिएको करिब साढे पाँच बिघा पनि जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्राप्ति गर्ने प्रक्रिया थालनी भइसकेको छ । करिब साढे २५ बिघा फराकिलो क्षेत्रफलमा आयल निगमको आधुनिक र सुविधा सम्पन्न लुम्बिनी प्रादेशिक कार्यालय निर्माण हुनेछ ।
उक्त स्थानमा इन्धन डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकाबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ । पर्ती जग्गा भोगचलन गरिरहेका ९७ स्थानीयले डिपो निर्माणका लागि आवश्यक सहयोग र समन्वयन गर्न लिखित सहमति तथा प्रतिबद्धता समेत व्यक्त गरेको निगमको भनाइ छ । सोही स्थानमा निर्माण कार्यको पूर्वतयारीको काम भने ५ वैशाख २०८१ मै सुरु भएको थियो ।
यस स्थानमा २ हजार १ सय किलोलिटर क्षमताको २ वटा भर्टिकल ट्यांक, ७ सय ६० किलोलिटर क्षमताको एउटा भर्टिकल ट्यांक बन्ने भएको छ । त्यस्तै ४ हजार ५ सय किलोलिटर क्षमताको ३ वटा भर्टिकल ट्यांक सहित कुल १३ हजार ५ सय किलोलिटर क्षमताको बन्ने छ ।
त्यसैगरी पेट्रोल २ हजार १ सय किलोलिटर क्षमताको २ वटा भर्टिकल ट्यांक, ७ सय ६० किलोलिटर क्षमताको १ भर्टिकल ट्यांक सहित ४ हजार ९ सय ६० किलोलिटर क्षमताको बन्ने छ । यस्तै मट्टीतेल ७६ किलोलिटर क्षमताको ३ वटा भर्टिकल ट्यांक सहित २ सय २८ किलोलिटर कुल क्षमताको बन्ने छ ।
यहाँ निर्माण हुने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिना धान्ने माग बराबर पेट्रोलियम पदार्थ मौज्दात गर्न सकिने छ । डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २ हजार १ सय किलोलिटर क्षमताको दुइटा पानी ट्यांकी निर्माण हुनेछन् । जसमा कूल ४ हजार २ सय किलोलिटर पानी भण्डारण हुनेछ । इन्धन लोडिङ सेडमा ८ वटा ‘बे’ र अनलोडिङ सेडमा पनि ८ वटा ‘बे’ निर्माण हुनेछ ।
पूर्णरूपले अटोमेसनमा आधारित डिपो निर्माणका लागि जग्गा विकास, पर्खाल, पहुँच मार्ग, इन्धन भण्डारण गृह, पेट्रोलियम पदार्थ प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण हुने भएको छ ।
विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृह, महिला तथा पुरुष आर्मीका लागि छुट्टाछुट्टै आवास गृह, ट्यांकर चालक आराम गर्ने संरचना, सुरक्षा पोस्ट, ट्यांकर पार्किङ क्षेत्र लगायत संरचना बन्ने भएका छन् । यस कार्यका लागि करबाहेक ५ अर्ब ७९ करोड ३० लाख ६४ हजार ९ सय ४१ रुपैयाँ लागत अनुमान तयार गरिएको छ ।
लुम्बिनी प्रदेशमा इन्धन वितरणका लागि आयल निगमले हाल रुपन्देही भलवारीमा प्रादेशिक कार्यालय सञ्चालन गरिरहेको छ । करिब साँढे ५ बिघा जमिनमा फैलिएको डिपोमा न्यून भण्डारण क्षमता छ । हाल भलवारी डिपोमा पेट्रोलका लागि ५ सय १९ किलोलिटर, डिजेलका लागि ३ हजार ४० किलोलिटर र मट्टीतेलका लागि २ सय ८० किलोलिटर क्षमताको भण्डारण गृह छ ।
वर्तमान समयको खपत परिमाणको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून हो । सोही स्थानमा भण्डारण क्षमता वृद्धि गर्न जग्गा अभाव छ ।
अर्कातिर, बुटवल–भैरहवा मुख्य राजमार्गसँगै जोडिएको र घना बस्तीको बीचमा रहेको डिपोबाट दैनिक र नियमित रूपले पेट्रोलियम जस्तो प्रज्वलनशील पदार्थ कारोबार हुँदा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयले डिपो स्थानान्तरणका लागि निरन्तर खबरदारी र विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया 4