
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार विगत चार कारोबार दिनदेखि एकल अंकमा उतारचढाव भइरहेको छ र साउन १३ गतेको ३००२ अंकबाट अहिले २७५७ अंकमा झरेको छ।
- कारोबार रकम घट्दै गएको छ, सोमबार ६ अर्ब १७ करोडबाट बिहीबार ५ अर्ब २ करोडमा सीमित भएको छ, जसले बजारमा दुवै पक्षको उत्साह कम भएको देखाउँछ।
- लगानीकर्ता र कारोबारीहरू बजार अझै घट्ने आशामा पर्खाइमा छन् र कम्पनीहरूले लाभांश दिने बेला भएकाले बेच्नेहरू धैर्यवान छन्।
५ भदौ, काठमाडौं । विगत चार कारोबार दिनदेखि सेयर बजार एकल अंकमा घटबढ भइरहेको छ ।
सोमबार ९.१६ अंक बढेको बजार मंगलबार ६.५१ अंक बढ्यो । बुधबार फेरि ९.७० र बिहीबार ९.२२ अंक घट्यो । साउन १३ गते ३००२ अंकमा पुगेको बजार अहिले २७५७ मा छ । विगत तीन सातामा ८.१६ प्रतिशतले बजार घटेको छ ।
नेप्से परिसूचक एकल अंकको उतारचढावमा सीमित रहँदा कारोबार रकम पनि सुकेको छ । साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएकोमा अहिले यो ५ अर्बमा खुम्चिएको छ ।
सोमबार ६ अर्ब १७ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोड तथा बिहीबार ५ अर्ब २ करोडको भयो । यसरी कारोबार रकम पनि संकुचन हुँदै गएको छ ।
कारोबार रकम घट्दै जानुको अर्थ बिक्री पक्ष र खरिद पक्ष दुवै आक्रामक छैनन् भन्ने जनाउँछ । यसरी दुवै पक्षमा कारोबारको उत्सुकता नभएको देखिन्छ ।
बजार घट्दै गएकाले कारोबारी र लगानीकर्ता दुवै पर्खाइमा रहँदा कारोबार रकम खुम्चिएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट बताउँछन् ।
‘बजार बढ्दै जाँदा नाफासहितको त्यहीं पैसा कारोबारीले घुमाइरहन्छन्, त्यसले कारोबार बढी हुन जान्छ, तर घट्दै जाँदा माथि खरिद गरेका पनि फसेका हुन्छन्, पैसा हुनेलाई पनि आँट आउँदैन, जसले कारोबार रकम स्वतः घट्न जान्छ’ उनले भने ।
पैसा हुनेहरु पनि यतिबेला बजार अझै घट्ने आशमा पर्खिरहेका छन् भने बेच्ने पनि आत्तिएका छैनन् । ‘अब कम्पनीहरुले लाभांश दिने बेला भएको छ, सबै पक्ष सकारात्मक पनि भएकाले बेच्नेहरु धैर्य भएका छन्’ अर्कोतर्फ खरिद गर्नेहरु बजार थप घट्न सक्ने आशमा छन्’ सेयर लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।
बजारमा यतिबेला अल्पकालीन ‘सिजनल’ रौनक सकिएको छ । बजार जहिले पनि साउन/भदौमा एउटा उच्चतम अंक कायम गरेपछि मंसिर/पुससम्म नै सुस्ताउने गरेको छ । गत वर्ष पनि साउनको ३१ गते नेप्से ३ हजार अंक पुगेको थियो, जुन अंक वर्ष २०८१ भरका लागि उच्चतम रह्यो । यो पटक पनि ३००२ अंक पुगेर फर्किएको बजार कतै वर्ष २०८२ भरकै लागि उच्चतम हुने त होइन भन्ने आशंका बढेको छ ।
एकथरि ठूला कारोबारीले साउन/भदौमा बजार ह्वात्त बढेका बेला बेचेपछि फेरि त्यो पैसा केही महिना नफर्किने गरेकाले अहिले सुस्ताएको जानकार बताउँछन् ।
‘यो पटक सिजनल रौनक केही छिटो सकियो’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने । यतिबेला धेरै व्यापारीले सेयर बजारबाटै चाडपर्वको आयात तथा व्यापारका लागि रकम जोहो गर्ने र उनीहरुको पैसा चाडपर्व नसकिएसम्म बजारमा नआउने गरेको ढुंगाना बताउँछन् ।
यो वर्ष सैद्धान्तिक पक्ष र नीतिगत व्यवस्थाले सहज गरेकाले बजार धेरै नघट्ने उनको अनुमान छ । ब्याजदर अझै घटिरहेको, कम्पनीका वित्तीय विवरण अघिल्लो आर्थिक वर्षको तुलनामा सुधारिएको, पर्याप्त नीतिगत सुधार भएको, कम्पनीको लाभांश क्षमता बढेको जस्ता पक्षका कारण बजारलाई सकारात्मक ऊर्जा कायम रहेको उनले बताए ।
यिनै सैद्धान्तिक पक्षका कारण बजारमा यतिबेला बिक्री गर्नेलाई पनि हतार छैन अर्कोतर्फ किन्नेलाई पनि बजार तत्कालै ठूलो अंकमा बढ्ने आश छैन ।
प्रतिक्रिया 4