
News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ट्विनअटर जहाज कम हुँदा हिमाली तथा पहाडी जिल्लामा नियमित हवाई सेवामा समस्या भएको बताए।
- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थललाई ट्विनअटर हबका रूपमा विकास गर्नुपर्ने र स्पष्ट कार्ययोजना बनाउन आग्रह गरे।
- मन्त्री पाण्डेले सातै प्रदेशका लागि सात ट्विनअटर जहाज खरिद गर्ने प्रस्ताव विषयगत समितिमा अघि सारेको र निजी क्षेत्रसँग सहकार्यमा सेवा विस्तार गर्ने विश्वास व्यक्त गरे।
६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्विनअटर जहाज कम हुँदा नियमित हवाई सेवामा समस्या भएको बताएका छन् ।
शुक्रबार सुर्खेत विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा हवाई उडान सञ्चालन गर्ने सम्बन्धमा आयोजित बृहत छलफलमा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर सञ्चालन हुने हवाई उडान नियमित नहुँदा संघीय सरकारको ध्यानाकर्षण गराएको थियो । छलफलमा मुख्यमन्त्री कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश मन्त्रीहरूका साथै सरोकारवाला निकायका प्रतिनिधि उपस्थित थिए ।
छलफलमा सहभागीले कर्णाली प्रदेशका पहाडी जिल्लामा भर्खरै मात्र सडक सञ्जाल पुगेको र भौगोलिक कठिनाइका कारण हवाई सेवा अपरिहार्य रहेको धारणा राखे ।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकार हातेमालो गर्न तयार रहेको भन्दै स्पष्ट कार्ययोजना बनाउन आग्रह गरे । उनले अनुमति लिँदाको समयमा गरिएको प्रतिबद्धता पालना गर्नुपर्नेमा जोड दिँदै सुर्खेत विमानस्थललाई ‘ट्विनअटर हब’ का रूपमा विकास गर्नुपर्ने बताए ।
सीता एयरलाइन्सका प्रतिनिधिले यात्रु अभावकै कारण नियमित उडानमा कठिनाइ भएको बताए । उनले सुर्खेतलाई आधार बनाएर केही उडान गरिरहेको जानकारी दिँदै जुम्ला, सिमिकोट लगायत क्षेत्रमा यात्रु भेटिएमात्र उडान गर्नुपर्ने बाध्यता रहेको बताए । राज्यले विशेष सहुलियत दिनुपर्ने माग पनि उनले राखे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुर्खेत विमानस्थललाई प्रादेशिक हबका रूपमा विकास गर्ने सम्भावना रहेको बताए । उनका अनुसार नेपाल एयरलाइन्ससँग सहकार्य गर्दै अन्य निजी कम्पनीलाई समेत सामेल गरेर सुर्खेतबाट विभिन्न दुर्गम जिल्लामा नियमित उडान गर्न सकिन्छ ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले ट्विनअटर जहाज कम हुँदा दुर्गममा सेवा विस्तार गर्न नसकिएको बताए ।
उनका अनुसार हाल देखिएको जहाजको कमी समाधान गर्न मन्त्रालयले सातै प्रदेशका लागि सात ट्विनअटर जहाज खरिद गर्ने प्रस्ताव विषयगत समितिमा अघि सारेको बताए ।
पारदर्शी मोडेलमार्फत नयाँ जहाज खरिद गरी निजी क्षेत्रसँग सहकार्यमा सेवा विस्तार गर्ने विश्वास व्यक्त गर्दै मन्त्री पाण्डेले भने, ‘नेपाल एयरलाइन्सका दुई वटा ट्विनअटर जहाजका आधारमा मात्र समस्या समाधान हुँदैन । दीर्घकालीन सोचका साथ नयाँ जहाज थप्नैपर्छ ।’
प्रतिक्रिया 4