
News Summary
Generated by OK AI. Editorially reviewed.- सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संसदीय समितिले पारित गरेको संघीय निजामती सेवा ऐनको कानुन सरकारले नमान्ने बताएका छन्।
- प्रतिनिधिसभाले सहसचिव तहमा खुला प्रतिस्पर्धा बन्द गर्ने विधेयक पारित गरे पनि सरकारले १० प्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रस्ताव गरेको छ।
- मन्त्री न्यौपानेले खुला प्रतियोगिताबाट भर्ना गर्दा कर्मचारी लोकसेवा पढेर बस्ने भन्दै विरोध जनाउनुभएको छ र सांसदहरूले यसको प्रतिवाद गरेका छन्।
६ भदौ, काठमाडौं । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संसदीय समितिले पारित गरेको कानुन सरकारले नमान्ने बताएकी छिन् ।
शुक्रबार राष्ट्रिसभाको विधायन समितिमा संघीय निजामती सेवा ऐनको छलफल क्रममा उनले यस्तो बताएकी हुन् ।
प्रतिनिधिसभाले पारित गरेर राष्ट्रियसभामा पठाएको विधेयकमा सहसचिव तहमा खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्ने प्रणाली बन्द गरिएको थियो ।
सरकारले संसद्मा पेश गरेको विधेयकमा सहसचिव तहमा १० प्रतिशत खुला, १० प्रतिशत आन्तरिक प्रतियोगिता र ८० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रस्ताव गरिएको थियो ।
तर, प्रतिनिधिसभाले त्यसमा परिवर्तन गर्दै १५ प्रतिशत आन्तरिक प्रतियोगिता र ८५ प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने तथा खुला प्रतिस्पर्धालाई बन्द गर्ने प्रावधानसहित विधेयक पारित गरेको छ ।
तर, त्यसो गर्दा सरकार बाहिर रहेका क्षमतावान नागरिकलाई सरकारी सेवामा ल्याउने बाटो बन्द हुने भन्दै सांसदहरूले १० प्रतिशत सहसचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने तर्क राखेका थिए ।
‘सरकार बाहिर रहेका योग्य र क्षमतावान मानिसलाई सरकारी सेवामा प्रवेश नै गर्न नपाउने गरी कानुन बनाउनु हुन्न । त्यस्ता मानिसलाई पनि सरकारी सेवामा प्रवेश गर्ने बाटो खोल्नुपर्छ, जसले सरकारलाई नै फाइदा पुग्छ,’ सांसदहरूको भनाइ थियो ।
यो प्रस्तावमा विधायन समितिमा सर्वसम्मत भएपछि बोल्दै सामान्य प्रशासनमन्त्री न्यौपानेले ‘समितिमा सर्वसम्मत भयो भन्दैमा सरकारले नमान्ने’ बताइन् ।
‘सरकारको कुरै नसुनी तपाईंहरूले सर्वसम्मत भयो भनेर हुन्छ ? यो कुरा सरकारले मान्दैन,’ उनले भनिन् ।
सहसचिवमा खुला प्रतियोगिता मार्फत भर्ना गर्दा सरकारी कर्मचारी काम गर्नुको सट्टा लोकसेवा पढेर बस्ने उनको जिकिर थियो ।
सांसदहरूले खुला प्रतियोगितामा सरकारी कर्मचारीले प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था गर्न पनि प्रस्ताव गरेका थिए । तर, मन्त्री न्यौपानेले त्यसो गर्दा अनुभव नभएका मानिस सरकारी सेवामा प्रवेश गर्छन् भन्ने हास्यास्पद तर्क गरेकी थिइन् ।
संसदीय समितिले पारित गरेको व्यवस्था सरकारले नमान्ने कुरा मन्त्रीले बताएपछि सांसद्हरु कड्किएका थिए । ‘सार्वभौम संसद्ले पारित गरेको कानुन सरकारले नमान्ने हो भने कसले पारित गरेको मान्छ त ?,’ नेकपा समाजवादीका सांसद् घनश्याम रिजालले भनेका थिए ।
अन्य सांसदले पनि मन्त्री न्यौपानेको भनाइको प्रतिवाद गरेका थिए । त्यसपछि यस विषयमा थप छलफल गर्ने भन्दै समितिको बैठक सकिएको थियो ।
प्रतिक्रिया 4