+
+
Shares
लमजुङ अस्पतालमा विवाद : :

अस्पतालको समिति खारेज भएपछि प्रचण्ड सहभागी हुने कार्यक्रमै रोकियो

भंग समितिका अध्यक्ष भन्छन् : राजनीतिक प्रतिशोधको पराकाष्ठा हो

अमृत सुवेदी अमृत सुवेदी
२०८२ भदौ ६ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश सरकारले सबै जिल्लाका प्रदेश अस्पताल व्यवस्थापन समितिलाई भंग गरी नयाँ गठनादेश जारी गरेको छ।
  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी हुने लमजुङ अस्पतालको नयाँ सेवा उद्घाटन कार्यक्रम रोकिएको छ।
  • स्वास्थ्यमन्त्री कृष्णराज पाठकले प्रचण्ड सहभागी हुने कार्यक्रम नगर्न दबाव दिएको र नयाँ गठनादेश अनुसार योग्यताका आधारमा अध्यक्ष मनोनीत गरिने व्यवस्था गरिएको छ।

६ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले सबै जिल्लाका प्रदेश अस्पतालहरूको व्यवस्थापन समितिलाई भंग गर्दै नयाँ गठनादेश जारी गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने तय भइसकेको कार्यक्रम नै रोकिएको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले गण्डकी प्रदेश मातहत रहेको लमजुङ अस्पतालको नयाँ सेवा उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यसूची थियो । तर, गत मंगलबार गण्डकीको मन्त्रिपरिषद् बैठकले सबै अस्पतालको व्यवस्थापन समिति भंग गर्दै नयाँ गठनादेश जारी गर्ने निर्णय गर्‍यो ।

यद्यपि गठनादेश प्रमाणित भएर राजपत्रमा प्रकाशित भएको छैन । तर, सरकारका स्वास्थ्यमन्त्री कृष्णराज पाठकले मन्त्रिपरिषद्को बैठक लगत्तै प्रचण्ड सहभागी हुने कार्यक्रम नगर्न दबाव दिएका हुन् ।

लमजुङ जिल्ला अस्पतालमा माओवादी प्रदेश सदस्यसमेत रहेका हरिजंग तामाङ अध्यक्ष थिए । उनको कार्यकाल भदो १९ गते सकिँदै थियो ।

तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले भागबण्डामा अध्यक्ष नियुक्त गरेको थियो ।

गण्डकी प्रदेशमा अहिले एमालेका कृष्ण पाठक स्वास्थ्यमन्त्री छन् । सरकारले पुरानो व्यवस्थापन समिति नै भंग गरेपछि स्वास्थ्यमन्त्री पाठकले पूर्व प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रोक्न दबाव दिएपछि स्थगित गरिएको भंग भएको समिति अध्यक्ष तामाङले बताए ।

‘बिहीबार र शुक्रबार पूर्व प्रधानमन्त्री प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो । तर, मंगलबार क्याबिनेट बस्यो । बैठकले समिति भंग गर्ने निर्णयलगत्तै अस्पतालका मेडिकल सुपरीटेन्डेन्टलाई फोन गरेर कार्यक्रम रोक्न दबाव दिनुभयो,’ उनले भने, ‘त्यसो भए पत्र आउला, राजपत्रमा प्रकाशित होला भनें, त्यो केही भएन तर कार्यक्रम नगर्न दबाव दिएपछि स्थगित गरियो ।’

प्रचण्डले नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङको भवन उद्घाटन गर्ने, अस्प्तालमा नयाँ सेवाको थालनी गर्ने र मध्यपहाडी राजमार्गमा हिँड्ने तालिका थियो । तर, प्रचण्ड प्रमुख अतिथि हुने कार्यक्रम नै रोकिएपछि उनी पोखराबाटै काठमाडौं फर्किएका छन् ।

प्रचण्डले नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङको भवन भर्चुअल रुपमा उद्घाटन गरे । मध्यपहाडी लोकमार्गको कार्यक्रम २२ गतेलाई सारिएको छ । कार्यक्रम नरोकिदिन गण्डकीका विपक्षी दलको नेतालाई पनि अनुरोध गर्न लगाएको तर मन्त्रीले नमानेको तामाङको भनाइ थियो ।

‘पूर्वप्रधानमन्त्रीलाई कार्यक्रममा सहभागी हुनै नदिन राजनीतिक प्रतिशोध देखियो,’ तामाङले भने, ‘राजनीतिक प्रतिशोधको पराकाष्ठा हो । जति खेद गरे पनि क्षम्य नहुने खालको हर्कत देखियो । राजनीतिक संस्कार भएको भएका मानिसहरूले यतिसम्म गर्दैनन् ।’

प्रदेश अस्पताल बेसिशहर लमजुङमा दुरबिन प्रविधिबाट शल्यक्रिया गर्ने सेवाको थालनी हुँदै थियो । गण्डकी प्रदेशकै पूर्वस्वास्थ्य मन्त्री मधुमाया अधिकारीले पनि पूर्वप्रधानमन्त्री आउने कार्यक्रम रोक्न दबाब दिइएपछि रोकिएको बताइन् ।

गण्डकी प्रदेश मातहत २ आयुर्वेदसहित १६ अस्पताल छन् । ती सबै अस्पतालको एकसाथ भंग गरेको र त्यो पूर्ववत कार्यक्रम भएको मन्त्री पाठकले बताए । पाठक मन्त्री परिषदको बैठकपछि काठमाडौं गएका थिए ।

पूर्वप्रधानमन्त्री सहभागी हुने कार्यक्रमबारे खबर भएको भए आफूले समन्वय गर्ने मन्त्री पाठकको भनाइ थियो । तर, अस्पताल प्रशासनले भने प्रदेश मातहतको कार्यक्रम प्रदेश सरकारलाई नै जानकारी नदिइ गर्ने भन्ने कुरा नै नहुने बताएको छ । आफूले कार्यक्रम रोक्न कसैलाई दबाब नदिएको स्वास्थ्यमन्त्री पाठकले बताए ।

कृष्णचन्द्र नेपाली सरकारमा सहभागी कांग्रेस, माओवादी, तत्कालीन जनता समाजवादीलगायतले अस्पतालमा अध्यक्ष भागबण्डा गरेका थिए ।

गण्डकी प्रदेश सरकारले अब भने योग्यताका आधारमा अध्यक्ष चुन्ने नयाँ गठनादेश ल्याएको छ । अब १ सय वा सो भन्दामाथि शय्या रहेको अस्पताल, ५० शय्या र २५ शय्याका अस्पतालको हकमा छुट्टाछुट्टै व्यवस्थापन समिति गठन हुनेछन् नयाँ गठनादेशमा व्यवस्था गरिएको छ ।

१ सय वा त्यस भन्दा बढीका अस्पतालमा स्नात्तकोत्तर तह उत्तीर्ण भई सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिमध्येबाट प्रदेश सरकारले अध्यक्ष मनोनीत गर्ने व्यवस्था गरिएको छ । ५० शय्याको स्वीकृत अस्पतालमा अध्यक्ष बन्न कम्तीमा स्नातक तह उत्तीर्ण भएको र सोही जिल्लामा बसोबार गरेको हुने पर्ने गठनादेशमा छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?