
News Summary
Generated by OK AI. Editorially reviewed.- तराई–मधेशका उखु किसानहरूले सरकारले अनुदान रकम आधा घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँमा झारेपछि काठमाडौंमा प्रदर्शन गरेका छन्।
- उखु उत्पादक महासंघका संयोजक श्यामबाबु रायले सरकारले अनुदान रकम नदिएको गुनासो गर्दै 'हामी किसान मर्दैनौं' भनेका छन्।
- सरकारले आर्थिक वर्ष २०८१/८२ मा किसानलाई दिन बाँकी १ अर्ब ६० करोड रुपैयाँ अनुदान भुक्तानी गर्नुपर्ने छ।
८ भदौ, काठमाडौं । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले काठमाडौं केन्द्रित प्रदर्शन गरेका छन् ।
सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।
उखु उत्पादक महासंघको नेतृत्वमा प्रदर्शनका लागि काठमाडौं आएका किसानहरु गौशालाबाट नारा–जुलुससहित माइतीघरमण्डला, बानेश्वर चोकमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले प्रतिक्विन्टल ७० रुपैयाँको दरले अनुदान तत्काल भुक्तानी गर्नुपर्ने माग राखेका छन् ।
महासंघका संयोजक श्यामबाबु रायले चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसकेको भए पनि सरकारले दिने कबुल गरेको अनुदान नपाएको गुनासो गरे । ‘सरकारले हाम्रो उखुको रेट तय गरेर आजको दिनमा एकाएक मनोमानी ढंगले हटाउन मिल्दैन,’ संयोजक रायले भने, ‘राज्य आफैंले उखुको भाउ निर्धारण गर्छ, अनि अहिले पैसा नदिएर सुख पाउँछ ? हामी किसान मर्दैनौं ?’
उनका अनुसार आन्दोलनमा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका किसानहरूको सहभागिता छ । विशेषगरी सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका करिब ५०० देखि ६०० किसानहरू प्रदर्शनमा सहभागी भएका छन् ।
सरकारले बजेट अभाव भएको र स्रोत जुटाउन नसकिएको भन्दै किसानलाई प्रतिक्विन्टल उखुमा दिँदै आएको ७० रुपैयाँ बराबर अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई गत वर्ष दिएकै सरह प्रतिक्विन्टल अनुदान ७० रुपैयाँ तोकेर मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । तर, मन्त्रिपरिषद्ले उक्त प्रस्ताव अनुमोदन नगरेर किसानको अनुदान कटौती गरी ३५ रुपैयाँ दिने प्रस्ताव स्वीकृत गरेको थियो ।
सरकारले अनुदान कटौतीको रकम मान्य नहुने भन्दै किसानले आपत्ति जनाउँदै आएका थिए ।आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए । यसअनुसार सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4