
८ भदौ, काठमाडौं । पर्साको वीरगञ्जमा समुदायस्तरसम्मै देखिएको हैजा संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्यमन्त्री प्रदीपले छलफल गरेका छन् ।
आइतबार वीरगञ्जमा मन्त्रीद्वय यादव र पौडेलले हैजा नियन्त्रणबारे छलफल गरेका हुन् ।
वीरगञ्जमा देखिएको हैजा संक्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।
प्रभावित क्षेत्रमा कोलेरा किट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा संक्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, प्राइभेट अस्पतालहरूमा नि:शुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक थप मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट तथा नर्सलगायतको जनशक्ति तत्काल परिचालन गर्नेगरी छलफल भएको बताइएको छ ।
‘हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय सरकारबीच घनिष्ठ समन्वय गर्दै आवश्यक सबै कदमहरू तत्काल लागू गर्ने निर्णय गरिएको छ,’ मन्त्री यादवले भने ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा देखापरेको हैजा संक्रमण नियन्त्रणका लागि आफ्नो प्रयास अविच्छिन्न रूपमा जारी रहेको मन्त्री यादवले बताए ।
वीरगंजमा फैलिरहेको हैजा नियन्त्रणका लागि सरकार सक्रिय भएको उनको दाबी छ ।
प्रतिक्रिया 4