
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरको समूहसँग जुधेर लाखौं मूल्यका विद्युत् तार चोरी हुनबाट जोगाएको छ।
- चोरहरूले कुकुरलाई धारिलो हतियारले घाइते बनाएका थिए र अहिले कुकुरको उपचार भइरहेको छ।
- यो घटनाले सडक कुकुरहरूको सामुदायिक सुरक्षामा महत्त्वपूर्ण योगदान रहेको देखाएको छ र स्थानीयले हेरचाहमा ध्यान दिने प्रतिबद्धता जनाएका छन्।
भक्तपुरको लोकन्थली क्षेत्रमा एक सडक कुकुरले चोरको समूहसँग जुधेर लाखौं मूल्यका विद्युत् तार चोरी हुनबाट जोगाएको छ । यो घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उक्त कुकुरलाई ‘नायक’ भनी धेरैले प्रशंसा गरेका छन् ।
भिड्ने क्रममा उक्त कुकुरलाई चोरहरूले धारिलो हतियारले घाइते बनाएका छन् । कुकुरको हाल उपचार भइरहेको छ ।
यो घटना २०८२ भदौ ७ गते मध्यरातको हो ।
नेपाल विद्युत् प्राधिकरणले लोकन्थलीमा राखेका महंगा तारहरू चोर्ने उद्देश्यले चोरहरूको एक समूह रातको समयमा त्यहाँ आएका थिए । उनीहरूले तार काटेर लैजाने तयारी गरिरहेका थिए । तर, त्यहाँको एक सडक कुकुरले उनीहरूको गतिविधि देख्यो र जोडजोडले भुक्दै झम्टन थाले । त्यो कुकुर भुक्न थालेपछि त्यहाँ रहेका अन्य कुकुर पनि भुक्न थाले । कुकुरको भुकाइले वरपरका बासिन्दाहरू पनि ब्यूँझिए ।
स्थानीयहरू कुकुरले झम्टदै गरेको ठाउँमा पुग्दा चोरहरू तितरबितर भइसकेका थिए । तर, कुकुरले चोरहरूलाई लखेट्न छाडेन । चोरी असफल भएको रिसमा चोरहरूले सबैभन्दा पहिला भुक्ने र परसम्म लखेट्ने कुकुरलाई धारिलो हतियारले आक्रमण गरे, जसबाट कुकुर गम्भीर रूपमा घाइते भयो ।
पशु कल्याणकारी संस्था टी.एफ.सी नेपालका सञ्चालक तुलाराम राजवंशीका अनुसार, कुकुरको नशामा चोट लागेको थियो र रगत बगिरहेको थियो । तर घाउ गहिरो नभएकाले समयमै उपचार सम्भव भयो ।
घटना भएपछि तुरुन्तै स्थानीयहरूले टी.एफ.सी नेपाललाई खबर गरे । संस्थाले तत्काल उद्धार टोली पठाएर घाइते कुकुरलाई पशु अस्पताल पुर्यायो । ‘हामीले कुकुरको उपचार गरेर समुदायमा नै फर्कायौं,’ राजवंशीले भने, ‘स्थानीय बासिन्दाहरूले कुकुरको हेरचाह गर्ने जिम्मा लिएका छन् ।’ हाल कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ र टी.एफ.सी नेपालले नियमित फलोअपमार्फत् यसको स्वास्थ्य जाँच गरिरहेको छ ।
यो घटनाले सडक कुकुरहरूको सामुदायिक सुरक्षामा महत्त्वपूर्ण योगदानलाई उजागर गरेको छ । सडक कुकुरहरूले प्रायः मानिसहरूको सम्पत्ति र सुरक्षामा योगदान दिन्छन्, तर मानिसहरूले भने सडक कुकुरको योगदानमा खासै ध्यान दिँदैनन् ।
राजवंशी भन्छन्, ‘यो कुकुरले आफ्नो ज्यान जोखिममा राखेर समुदायलाई ठूलो नोक्सानीबाट जोगायो । यस्ता घटनाहरूले हामीलाई सडक कुकुरहरूको महत्त्व बुझाउँछ ।’
राजवंशीका अनुसार लोकन्थलीका बासिन्दाहरूले यो घटनापछि सडक कुकुरहरूको हेरचाहमा बढी ध्यान दिने प्रतिबद्धता जनाएका छन् । यो घटनाले समुदायमा सडक कुकुरहरूप्रति सकारात्मक दृष्टिकोण र जागरूकता ल्याएको छ । सडक कुकुरहरूको स्वास्थ्य, खोप, र बन्ध्याकरणमा ध्यान दिँदा उनीहरूको जीवनस्तर सुधार हुनुका साथै समुदायको सुरक्षामा पनि योगदान पुग्छ ।
सडक कुकुरहरू केवल ‘सडक’ का मात्र होइनन्, उनीहरू हाम्रा समुदायका अभिन्न हिस्सा हुन् । तिनीहरूको साहस र योगदानको कदर गर्दै उनीहरूको हेरचाहमा ध्यान दिनु सबैको कर्तव्य भएको राजवंशीले बताए ।
लोकन्थलीको यो घटनाले सडक कुकुरहरूको साहस र समुदायप्रतिको निष्ठालाई प्रष्ट पारेको छ । यस्ता कुकुरहरूले हाम्रो समाजको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्छन्, तर समुदमयले पनि उनीहरूको हेरचाह र कल्याणमा उत्तिकै जिम्मेवारी लिनुपर्छ ।
प्रतिक्रिया 4