
News Summary
Generated by OK AI. Editorially reviewed.- छायांकार शैलेन्द्रध्वज कार्कीले निर्देशन तथा निर्माण गर्ने फिल्म 'पोखरेली मसिनो'को छायांकन बुधबारदेखि पोखरा आसपासमा सुरु हुनेछ।
- फिल्मको पटकथा अभिनेत्री शान्ति गिरीले लेखेकी हुन् र यसमा प्रवीण खतिवडा, टीका पहाडी लगायत कलाकार छन्।
- यो फिल्म बाउछोरीको सम्बन्ध र संघर्षको कथा हो र अर्को वर्ष दशैं छेकोमा रिलिज गरिने तयारी छ।
काठमाडौं । चर्चित छायांकार शैलेन्द्रध्वज कार्कीले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले निर्देशन तथा निर्माण गर्ने फिल्मको नाम हो– ‘पोखरेली मसिनो ।’
रोचक के छ भने, धानको प्रजातिको नाममा आधारित रहेर उनले बनाउन लागेको यो दोस्रो फिल्म हो । यसअघि उनले धानको प्रजाति ‘मनसरा’माथि फिल्म निर्माण गरेका थिए ।
‘पोखरेली मसिनो’ स्वाद र गुणस्तरको हिसाबले प्रायः नेपालीको भान्सामा पाक्ने प्रिमियम चामल हो । यसपटक पनि कार्कीले पोखरेली मसिनो धानको विम्व बनाएर फिल्म बनाउन लागेका हुन् ।
यो फिल्मको छायांकन बुधबारदेखि पोखरा आसपासमा सुरु हुनेछ । यो फिल्मको निर्देशन उनकी पत्नी समेत रहेकी अभिनेत्री शान्ति गिरीसँग मिलेर शैलेन्द्रध्वजले संयुक्तरुपमा गर्नेछन् ।
पटकथा शान्तिले लेखेकी हुन् । ३० दिन सेड्युल तय गरिएको फिल्मका कलाकारमा प्रवीण खतिवडा, टीका पहाडी, परिक्षा लिम्बु, अविरलप्रताप अधिकारी छोरा, अनिल सुब्बा, अंकित खड्का, सजन थापा, अभय बराल, हिउँवाला गौतम छन् ।
कालीप्रसाद बाँस्कोटाको संगीत र श्रवण मुकारुङका शब्द यसमा छन् । सोसल ड्रामा–थ्रीलर जनरामा राखिएको यो फिल्मको बजेट साढे २ करोड रुपैयाँ तय छ ।
‘पोखरेली मसिनो धानलाई पोखरामा फल्ने प्रिमियर क्वालिटीको चामल हो । धेरैजसोले लगाउन छाडिसके । अहिले मान्छेलाई धेरै फल्ने चामल चाहियो’ कार्कीले भने, ‘नामबाटै थाहा हुन्छ कि यसको छायांकन पोखरा आसपासमा हुनेछ । पोखरेली मसिनोजस्तो पोखराका मानिसको कथा त्यसमा छ ।’
यो फिल्मको कथा चाहिँ बाउछोरीको सम्बन्धको कथा हो । छोरीलाई हुर्काउन र पढाउन बाबुले गर्ने संघर्ष र सपनाको कथा यसमा रहेको उनले बताए ।
यो फिल्मलाई अर्को वर्षको दशैं छेकोमा रिलिज गर्ने तयारी छ । शैलेन्द्रध्वजले २५ भन्दा धेरै फिल्ममा छायांकन गरेका छन् ।
प्रतिक्रिया 4