
१० भदौ, काठमाडौं । आप्रवासी श्रमिक, विशेषगरी घरेलु कामदार व्यवस्थापनमा फिलिपिन्सको प्रणालीलाई विश्वभरि अनुकरणीय मानिन्छ ।
११ करोड ६९ लाखभन्दा बढी जनसंख्या रहेको फिलिपिन्समा १ करोड जनसंख्या वैदेशिक रोजगारीमा छ भने १९ लाख घरेलु कामदार रहेको तथ्यांक देखिन्छ ।
धेरैजसो देशमा फिलिपिनीहरू रोजगारीका लागि जाने गरेका छन् । रोजगारीमा जानेहरूका हकमा उच्च तहको सिप, भाषा तथा दक्षता लिएर जाने गरेका छन् । जसले गर्दा उनीहरू एकातिर उच्च पारिश्रमिक पाउँछन् भने अर्कोतिर अरू देशका श्रमिकभन्दा बढी चलाख हुन्छन् ।
संसारले फिलिपिन्सको श्रम आप्रवासन प्रणाली पछ्याउने गरेका छन् । नेपालमा समेत यसको चर्चा हुनुका साथै यही शैली अपनाउनुपर्ने आवाज उठ्दै आएको छ ।
नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायत देशले समेत फिलिपिन्सको आप्रवासन प्रणालीलाई सिको गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
फिलिपिन्सले कस्तो खालको श्रम आप्रवासन प्रणाली अपनाइरहेको छ, कामदार भर्ना तथा विदेशमा पठाउन कस्तो शैली अपनाइरहेको छ भन्ने विषयमा चौतर्फी चासोको विषय बनिरहेको छ ।
‘होमनेट फिलिपिन्स’ ले फिलिपिन्सको घरेलु कामदार क्षेत्रमा काम गर्दै आएको छ । हाल नेपालको घरेलु श्रमिकका विषयमा अध्ययन तथा बुझ्न फिलिपिन्स लगायत विभिन्न देशका सरोकारवाला नेपाल आएका छन् ।
सोही क्रममा होमनेट फिलिपिन्सकी उपाध्यक्ष भिक्टोरिया अक्युनो डी जेसीसँग अनलाइनखबरकर्मीले कुराकानी गरेका थिए । नेपाल भ्रमण क्रममा उनले श्रमिक संरक्षण, दक्ष जनशक्ति परिचालन र बलियो द्विपक्षीय सम्झौतामा आधारित फिलिपिन्सको प्रणालीको चर्चा गरिन् ।
कुराकानीको क्रममा भिक्टोरीयालाई फिलिपिन्समा घरेलु श्रमिकको अवस्था के कस्तो छ भने सोधिएको थियो । यो विषयमा दिइएको जानकारी अनुसार फिलिपिन्समा घरेलु कामदारलाई ‘कसामबाहाय’ भनिन्छ । यसको अर्थ घरमा सँगै बस्ने व्यक्ति अथवा घरको काम गर्ने व्यक्ति भन्ने बुझिन्छ ।
फिलिपिन्समा सन् २०१३ मा आएको ‘कसामबाहाय कानुन’ अन्तर्गत घरेलु कामदारका अधिकार र सुरक्षाबारे कानुनी प्रावधान गरिएको छ ।
यिनीहरूको संरक्षण कसामबाहाय कानुनले गर्छ । जसरी आप्रवासी श्रमिकका लागि छुट्टै कानुन छ । यस प्रणालीको मुख्य आधार गाउँस्तरको सरकारी संरचना जसलाई ‘बाराङ्गे’ भनिन्छ । यसले कसामबाहायको निगरानी र दर्ता गर्छ । प्रत्येक बाराङ्गेलाई कसामबाहायको निगरानी गर्न र सुरक्षा उपायहरूको कार्यान्वयन सुनिश्चित गर्न ‘कसामबाहाय डेस्क’ राख्न कानुनी रूपमा अनिवार्य गरिएको छ ।
‘फिलिपिन्समा हामीसँग गाउँ–गाउँ स्तरको सरकारी संरचना छ, जुन कानुनले कसामबाहायको निगरानी गर्न अनिवार्य गरेको छ र त्यो निगरानीको एक भाग कसामबाहायको दर्ता हो,’ उनले भनिन्, ‘उनीहरूले कसामबाहाय डेस्क राख्छन् । कसामबाहाय डेस्कले कानुनको निगरानी र कार्यान्वयन स्तरको नियमन गर्छ ।’
दर्ता भएका घरेलु कामदारले स्वास्थ्य कभरेज र ६० वा ६५ वर्षको उमेर पुगेपछि सामाजिक पेन्सन सहितका महत्त्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रमहरूमा पहुँच पाउँछन् । यी सुविधा कसामबाहाय र उनीहरूका रोजगारदाता दुवैको योगदानबाट सञ्चालित हुने भिक्टोरियाको भनाइ छ ।
होमनेट फिलिपिन्सले दर्ता नभएका घरेलु कामदारलाई ‘होम–बेस्ड वर्कर्स’ का रूपमा संगठित र दर्ता गर्न सक्रिय रूपमा काम गर्ने र यसबाट उनीहरूले सामाजिक सुरक्षा कार्यक्रमहरूमा पहुँच प्राप्त गर्न सक्ने बताइन् ।
दुर्व्यवहारको अवस्थामा फिलिपिन्सले स्थानीय स्तरमा विभिन्न संयन्त्र स्थापना गरेको छ । यसमा हिंसाका उजुरी हेर्न हिंसा पीडित महिला डेस्क र रोजगारदाताद्वारा दुर्व्यवहार गरिएका श्रमिकका लागि रेफरल प्रणाली समावेश गरिएको उनले बताइन् ।
‘बाराङ्गे तानोड्स’ भनेर चिनिने सामुदायिक शान्ति सुरक्षा टोलीले नियमित गस्ती गर्छन् भने २४–घण्टा हटलाइन सेवा पनि उपलब्ध रहेको उनको भनाइ छ । उनका अनुसार घरेलु कामदारको सुरक्षा तथा सेवा सुविधाका लागि राज्य निकै गम्भीर छ ।
नेपालमा घरेलु श्रमिकको अवस्था एकदमै कमजोर छ । वर्षौंदेखि घरेलु काम गर्दै आएका श्रमिकहरू कुनै ठूलो आर्थिक समस्यामा पर्दा समाधानका लागि धौधौ पर्छ ।
आफ्नो जीविकोपार्जन गर्नकै लागि धेरै घर तथा कार्यालयमा काम गर्न बाध्य हुने गरेका छन् । यस्तो अवस्थामा फिलिपिन्समा के कस्तो अवस्था रहेको भन्ने विषयमा जानकारी लिएसकेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको विषयमा जानकारी लियौं ।
फिलिपिन्सको आप्रवासी श्रमिक व्यवस्थापनमा सफलता यसको बलियो श्रम कानुन र प्रभावकारी मोलमोलाइ क्षमताका कारण पनि मानिन्छ । फिलिपिनी श्रमिकहरू विशेषगरी महिला जो आप्रवासी श्रमिकको करिब ६० प्रतिशत छन्, प्राय: दक्ष हुन्छन् । यसले गर्दा उनीहरूले अन्य देशका श्रमिकका तुलनामा राम्रो पद र सर्त प्राप्त गर्न सकिरहेको भिक्टोरियाले बताइन् ।
‘आप्रवासी कामदारहरूका लागि हामीसँग हरेक दूतावासमा धेरै संयन्त्र छन् जसले हाम्रा आप्रवासी कामदारको स्थितिको निगरानी गर्छ र त्यहाँ नागरिक समाज संगठनहरू पनि छन् । हामीले द्विपक्षीय सम्झौताहरू पनि बलियोसँग गरेका छौं,’ उनले भनिन् ।
यस मोडेलमा महत्त्वपूर्ण योगदान दिने एउटा पक्ष आप्रवासी श्रमिक विभागको स्थापना हो । यस विभागका प्रमुखको श्रम संगठनहरूसँग गहिरो सम्बन्ध छ, जसले आप्रवासी श्रमिकहरूको अधिकारको वकालत गर्नमा बलियो र सक्रिय दृष्टिकोण सुनिश्चित गर्छ । यो प्रतिबद्धता द्विपक्षीय सम्झौताहरूमा पनि लागु हुन्छ, जसले फिलिपिन्सलाई आफ्ना श्रमिकहरूका लागि अनुकूल सर्त सुरक्षित गर्न सक्षम बनाएको उनको भनाइ छ ।
उनका अनुसार गैरसरकारी संस्थाहरू र नागरिक समाजको सहकार्यले समेत आप्रवासी श्रमिकका लागि थप सहयोग प्रदान गरेको छ । फिलिपिन्सको मोडेलले बलियो नीतिमात्र नभई सरकारमा श्रम आन्दोलनको पृष्ठभूमि भएका व्यक्तिहरूको महत्त्वपूर्ण योगदान छ ।
यसले श्रमिकहरूको चिन्तालाई प्रभावकारी रूपमा प्रतिनिधित्व गरी नीति निर्माणमा एकीकृत गर्न, राम्रो सामाजिक सुरक्षा र आप्रवासी श्रमिकहरूको प्रतिनिधित्वका लागि सुधारका लागि काम गरिरहेको उनको भनाइ छ ।
प्रत्येक फिलिपिनी दूतावासमा पनि आप्रवासी श्रमिकहरूको अवस्थाको अनुगमन गर्न संयन्त्रहरू स्थापना गरिएको र उनीहरूले सबैभन्दा पहिला आफ्नो नागरिकलाई प्राथमिकतामा राख्ने गरेको भिक्टोरियाले बताइन् ।
प्रतिक्रिया 4