
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा ४४ अर्ब ५७ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ।
- साउन महिनासम्म कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ, जुन जीडीपीको ४३.९४ प्रतिशत हो।
- सरकारले चालु आवमा ४ खर्ब ११ अर्ब रुपैयाँ सार्वजनिक ऋण सेवा खर्चमा विनियोजन गरेको छ र प्रतिव्यक्ति ऋणभार ९२ हजार १५ रुपैयाँ पुगेको छ।
९ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मै ४४ अर्ब ५७ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनमा सरकारले ४० अर्ब आन्तरिक ऋण र ४ अर्ब ५७ करोड वाह्य ऋण लिएको हो । यस अवधिमा ३० अर्ब ५५ करोड रुपैयाँ सार्वजनिक ऋण भुक्तानी दिएको छ । यस अनुसार खुद सार्वजनिक ऋण १४ अर्ब २ करोडले थप भएको छ ।
कार्यालयका अनुसार चालु आव पहिलो महिनासम्म जम्मा सार्वजनिक ऋण दायित्व २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ४३.९४ प्रतिशत हाराहारी हो । आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब पुगेको छ । बाह्य ऋण १४ खर्ब २ अर्बमा उक्लिएको छ ।
जीडीपीको तुलनामा आन्तरिक र वाह्य ऋण क्रमश: २२.४६ प्रतिशत र २४.५८ प्रतिशत रहेको तथ्यांक छ । असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड थियो । विनिमय दरका कारण पहिलो महिना कुनै प्रभाव परेको देखिँदैन ।
झन्डै ६ खर्ब ऋण लिने लक्ष्य
सरकारले चालु आव ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ । यसमध्ये आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब र वाह्य ऋण २ खर्ब ३३ अर्ब उठाउने लक्ष्य छ ।
साउनसम्म उठाइएको ४४ अर्ब ५७ करोड रकम कुल लक्ष्यको ७.४८ प्रतिशत हो । यसमध्ये पहिलो महिना आन्तरिक ऋण लक्ष्यको ११.०५ प्रतिशत र वाह्य ऋण लक्ष्यको १.९६ प्रतिशत प्राप्ति भइसकेको छ ।
ऋणको साँवा–ब्याज भुक्तानीमा ४ खर्ब ११ अर्ब खर्च हुने
सरकारले चालु आवमा ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ सार्वजनिक ऋण सेवा खर्चमा विनियोजन गरेको छ । साउन मसान्तसम्म ३६ अर्ब ६८ करोड भुक्तानी गरिएको छ । जुन कुल लक्ष्यको ८.९३ प्रतिशत हो ।
जीडीपीका आधारमा साउनसम्म कुल ऋण सेवा खर्च ०.६ प्रतिशत भएको छ । साउनमा आन्तरिक ऋणको साँवा भुक्तानीमा २७ अर्ब १० करोड र ब्याज भुक्तानीमा ५ अर्ब १३ करोड खर्च भएको छ ।
वाह्य ऋणको साँवा भुक्तानी ३ अर्ब ३४ करोड र ब्याज भुक्तानी ९९ करोड रुपैयाँ भएको छ । यसरी साउनसम्म कुल साँवा खर्च ३० अर्ब ५५ करोड र ब्याज खर्च ६ अर्ब १३ करोड भएको हो ।
प्रतिव्यक्ति ऋणभार ९२ हजार १५ रुपैयाँ
सार्वजनिक ऋणलाई प्रतिव्यक्ति ऋणभारमा हेर्दा ९२ हजार १५ रुपैयाँ पुग्ने देखिएको छ । कुल सार्वजनिक ऋणलाई २०७८ सालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ ले भाग लगाउँदा उक्त ऋणभार पुग्ने देखिएको हो । असार मसान्तसम्म प्रतिव्यक्ति ऋणभार ९१ हजार ५ सय ३४ रुपैयाँ थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा आव २०७३/७४ देखि २०८०/८१ बीचमा सार्वजनिक ऋण वृद्धिदर औसत १९ प्रतिशत रहेको देखिन्छ । यस अवधिमा आन्तरिक ऋण वृद्धिदर २२.९ प्रतिशत छ । वाह्य ऋण वृद्धिदर भने औसत १६.२ प्रतिशत छ । २०७६/७७ को एक वर्षमा मात्र ऋण ३६.७ प्रतिशतले बढेको थियो ।
आव २०७३/७४ मा सार्वजनिक ऋण जीडीपीको २२.७ प्रतिशत रहेकोमा २०८१/८२ सम्म ४३.७१ प्रतिशत पुगेको छ । २०७२/७३ मा ६ खर्ब २३ अर्बमात्र रहेको सार्वजनिक ऋण पछिल्लो एक दशकमा चार गुणाले वृद्धि भएको देखिएको छ ।
अर्थ मन्त्रालयका अनुसार २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण, संघीयता कार्यान्वयन र कोभिड–१९ का बेला बढेको स्वास्थ्य खर्चका कारण सार्वजनिक ऋण ह्वात्तै बढेको देखिन्छ ।
प्रतिक्रिया 4