+
+
Shares
गुगल म्याप्सका दक्षिण एसिया प्रमुखसँग अन्तर्वार्ता :

‘गुगल स्ट्रिट भ्यू नेपालको पर्यटन प्रवर्द्धन र रोजगारी सृजनामा कोशेढुंगा साबित हुनसक्छ’

स्ट्रिट भ्यू नेपाललाई डिजिटल रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण हिस्सा हो, जसले नेपाल र विश्वभरका प्रयोगकर्तालाई फाइदा पुर्‍याउँछ । प्रयोगकर्ताले स्थान जानुभन्दा पहिले भर्चुअल अवलोकन गर्न सक्छन् । साथै स्ट्रिट भ्युलाई गुगलको अरू उत्पादनसँग जोड्न सक्दा थप प्रभावकारी हुन सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते २०:४८

गुगल म्याप्सले नेपालमा साउन ३० गतेदेखि स्ट्रिट भ्यूको औपचारिक रुपमा सुरुवात गरेको छ । डिजिटल नेपाल कन्क्लेभ,२०२५मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरले विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने घोषणा गरेसँगै यसको चर्चा चुलिएको छ । नेपालीहरूले गुगल स्ट्रिट भ्यूमा फोटो र भिडियोहरू अपलोड गर्न थालेका छन् ।

स्ट्रिट भ्यूमार्फत नेपालको अद्भुत भू-दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सकिने निशान्त नैयरको दाबी छ । उनी भन्छन्, ‘तपाईँलाई स्ट्रिट भ्यूले छुट्टै संसारमा प्रवेश गराएर नेपालको समृद्ध वास्तुकलाको इतिहास,प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ ।’

नेपालका नवीनतम दृश्यहरू हेर्नको लागि, आफ्नो फोन वा कम्प्युटरमा गुगल म्याप्स खोलेर ३६० डिग्री भ्यू हेर्न सकिने उनको दाबी छ । प्रस्तुत छ, गुगल स्ट्रिट भ्‍यूका नेपालसहित दक्षिण एसिया प्रमुख निशान्त नैयरसँग अनलाइनखबरकर्मी सहदेव चौधरीले गरेको कुराकानी :

नेपालमा स्ट्रिट भ्यू सुरु गर्ने मुख्य उद्देश्य के थियो, र किन यही समय रोज्नुभयो ?

गुगल म्याप्स प्रयोगकर्तालाई विश्वभर अन्वेषण र नेभिगेसन गर्न सहयोग गर्ने उत्पादन हो । स्ट्रिट भ्यू नेपाललाई डिजिटल रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण हिस्सा हो, जसले नेपाल र विश्वभरका प्रयोगकर्तालाई फाइदा पुर्‍याउँछ । नेपालमा स्मार्टफोन प्रयोगकर्ताको वृद्धि र डिजिटल नक्साको प्रयोग दिनप्रति दिन बढ्‍दै गइरहेको छ ।

। यही अवस्थालाई मध्य नजर गर्दै हामीले सन् २०२३ मा स्थानीय साझेदारसँग सडक-स्तरको तस्वीरहरू संकलन गर्न सुरु गर्‍यौं, जुन काम यसवर्षको सुरुवातमै सम्पन्न भयो ।

त्‍यही भएर पनि नेपालमा त्यही मौकामा ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ हुँदै रहेछ ।

मैले पनि यो उपलब्धिलाई उक्त मञ्‍चमा नेपालीसँग अनुभव साट्‍ने साँझा मञ्चको रुपमा लिएँ र नेपालमा गुगल स्ट्रिट भ्यू सोही कार्यक्रमर्माफत घोषणा गर्ने अवसर जुट्‍यो ।

हामीले सार्वजनिक गरेको यो केवल प्रविधिको कुरा मात्र होइन, यसले जनतालाई सशक्त पार्ने र अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गर्नेछ ।

नेपालमा स्ट्रिट भ्यू सुरु गर्नु गुगलको दक्षिण एसियालगायत उदाउँदो बजारमा म्यापिङ सेवाहरू विस्तार गर्ने रणनीतिसँग कसरी मेल खान्छ ?

सही कुरा गर्नुभयो । हामीले नेपाललाई एक महत्त्वपूर्ण उदाउँदो बजारको रुपमा मानेका छौं, जसमा युवा र प्राविधिक रूपमा सचेत जनसंख्या रहेको छ ।

त्यसैले, नयाँ र अद्यावधिक तस्वीरसहित डिजिटल नक्सा उपलब्ध गराउनु हाम्रो लागि विश्वव्यापी रणनीतिसँग ठ्याक्कै मेल खायो।

नेपालमा स्ट्रिट भ्यू ल्याउने परियोजना कहिलेदेखि सुरु भएको हो ?

गुगल म्याप्स नेपालमा धेरै वर्षदेखि उपलब्ध छ । प्रयोगकर्ताहरूले आफ्नै तस्वीरहरू अपलोड गर्दै आउनु भएको थियो ।

उहाँहरूले पहिल्‍यै पनि गुगल म्याप्समा धेरै काम त गरिसक्नु भएको रहेछ, खासगरी राइड सेयरसिङ एप्सलगायत ।

तर, सन् २०२३ मा हामीले स्थानीय साझेदारमार्फत सडक तस्वीर सङ्कलन सुरु गर्‍यौं । त्यसअघि सन् २०१४ मा एभरेस्ट बेस क्याम्पको तस्वीर सङ्कलन गरेका थियौं ।

स्ट्रिट भ्यू नेपाललाई डिजिटल रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण हिस्सा हो, जसले नेपाल र विश्वभरका प्रयोगकर्तालाई फाइदा पुर्‍याउँछ ।

स्ट्रिट भ्यूले नेपालको डिजिटल इकोसिष्टम, पर्यटन र अर्थतन्त्रमा के योगदान पुर्‍याउँछ नि ?

स्ट्रिट भ्यूले व्यवसायलाई अनलाइन दृश्य बढाउन मद्दत गर्छ, नेभिगेसनलाई सजिलो बनाउनुका साथै नेपालका लागि यसले विभिन्न फाइदा ल्याउँछ ।

* काठमाडौं, पाटन दरबार स्क्वायर, लुम्बिनी वा हिमालको भूभाग जस्ता स्थान विश्वभर भर्चुअल रूपमा हेर्न सकिनेछ ।

* म्याप्समा नयाँ व्यवसाय र ठेगाना थप्न अझ प्रभावकारी डेटा उपलब्ध हुनेछ ।

* साना तथा मध्यम व्यवसायलाई अनलाइनमार्फतबाटै खोज्न/ भेट्टाउन सजिलो हुन्छ ।

* पर्यटन क्षेत्रमा विश्वभरका आगन्तुकलाई आकर्षित गर्न सकिन्छ ।

नेपालमा स्ट्रिट भ्यूले डेटा कसरी सङ्कलन गर्‍यो त ?

नेपालमा काठमाडौं, ललितपुर, भक्तपुरलगायतका सहरहरू साँघुरा छन् । सडकदेखि लिएर घुमाउरो पहाडी सडकहरू पनि त्यस्तै रहेका छन् ।

तर हामीले त्यहिका स्थान अनुसार साना-ठूला सवारी साधन प्रयोग गरेर तस्वीरहरू संकलन गरेका हौं । कतिपय ठाउँमा हिडेर पनि पुग्‍यौं जहाँ सवारीको सुविधा थिएन ।

तपाईंले यसो भनिरहँदा गुगलले कुन-कुन क्षेत्रलाई प्राथमिकतामा राखेर हेरेको छ, बताइदिनुस् न ?

ठीक कुरा गर्नुभयो । हामीले सर्वप्रथम काठमाडौंबाटै स्ट्रिट म्यापको काम सुरु गर्‍यौं । त्यसपछि सानातिना गरेर नेपालका विभिन्‍न ६० वटा सहरमा विस्तारै पुग्‍यौं ।

त्यसो भए कठिन सडक र अव्यवस्थित भू-भागमा तस्वीरहरूको गुणस्तर कसरी कायम राख्नुहुन्छ नि ?

हामी ‘फोटोग्रामेट्री’ प्रविधिको प्रयोग गर्छौं जसले तस्वीरलाई मिलाएर गुणस्तर बनाउँछ । यसले सडक, भवन, नदी, लेनमार्किङलगायत सबैमा सटिक दूरीसहित देखाउँछ ।

खासगरी सहरमा कारमै गए पनि हिमाली र उच्च पहाडी जिल्लामा ड्रोन पठाएर काम लिन्छौं ।

तपाईंहरूले तस्वीर कुन-कुन बेलामा अद्यावधिक गर्नुहुन्छ ?

हामी समय–समयमा अद्यावधिक गर्छौं । साथै जुनसुकै व्‍यक्तिले ३६० क्यामेरा प्रयोग गरेर आफैंले पनि फोटोको गुणस्तर अद्यावधिक गर्न सक्छन् ।

नेपाल त हिमाल, पहाड र तराई क्षेत्रमा फरक भूगोलमा विभाजित छ, साँघुरा गल्ली अनि हिमाली भू-भागमा कसरी काम गर्नुभयो ?

नेपालको भूगोल तपाईंले भनेजस्तै फरक बनोटमा छ । तर हामीले नेपाली संघसंस्थाहरूसँग मिलेर काम गरेकाले उहाँहरूले सोही अनुसारको प्रतिनिधि खटाएर काम गर्नु भएको छ ।

हामी समय–समयमा अद्यावधिक गर्छौं । साथै जुनसुकै व्‍यक्तिले ३६० क्यामेरा प्रयोग गरेर आफैंले पनि फोटोको गुणस्तर अद्यावधिक गर्न सक्छन् ।

जस्तो की, साँघुरा गल्लीमा साना कार प्रयोग गर्नु हुन्छ उहाँहरू । पहाडी क्षेत्रका खतरनाक क्षेत्रमा भने अपरेटरको सुरक्षालाई ध्यान दिनुहुन्छ भने हिमालीमा ड्रोनको प्रयोग गर्नुहुन्छ । हामीले चाहिने सबै प्रविधिहरू प्रयोग गरेर गुगल म्याप्सका लागि काममा लागि परेका छौं ।

प्रारम्भिक चरणमा कुन-कुन स्थान समेटिएका छैनन् ?

हालसम्म ६५ हजार किलोमिटर सडक र ६० वटा सहर समेटिएका छन् । अहिले हामीले प्राथमिकतामा जहाँ जनघनत्व धेरै छन्, त्यहाँ मात्रै बढी फोकस गरेका छौं ।

विस्तारै पहाडी र हिमाली जिल्लामा पनि गुगल स्ट्रिटलाई समेट्छौं । खासगरी उच्च पहाडी र हिमाली जिल्लाका विकट ठाउँहरू समेट्न सकेका छैनौं ।

हाम्रा नेपाल प्रतिनिधिहरूमार्फत यी ठाउँहरूमा पनि समेट्न भनेर सुझाव पठाउनु भएको छ । हामी यसबारेमा योजना बनाएर चाँडै काम गर्नेछौं ।

साँच्चै, गुगल म्याप्सले नेपालीहरूको डेटा, गोपनीयता कसरी सुनिश्चित गर्छ ?

वास्तावमा हामी सबैको गोपनीयताप्रति सजग छौं । कुनै नागरिकले अनुहार र गाडीको नम्बर प्लेट देखाउन चाहनु भएन भने हामीले उहाँको गोपनीयतालाई कायम राख्‍दै अनुहार र गाडी नम्बर धुम्मिने प्रविधि प्रयोग गर्छौं । 

त्यतिमात्रै नभएर गुगल म्याप्सका प्रयोगकर्ताले ‘Report a problem’ मार्फत आफ्ना तस्वीर मेटाउन वा धमिलो बनाउन अनुरोध गर्न सक्छन् ।

यसका लागि के नेपाल सरकारसँग गुगलले अनुमति लिएको छ ?

कुनै नागरिकले अनुहार र गाडीको नम्बर प्लेट देखाउन चाहनु भएन भने हामीले उहाँको गोपनीयतालाई कायम राख्‍दै अनुहार र गाडी नम्बर धुम्मिने प्रविधि प्रयोग गर्छौं ।

हो, हाम्रा स्थानीय साझेदारले आवश्यक अनुमति लिएर मात्रै यी कामहरू गरेका छन् । उहाँहरूले बिना अनुमति कसैको पनि संवेदनशील तस्वीरहरू अपलोड गर्नु भएको छैन ।

संवेदनशील स्थान (जस्तै सैनिक क्षेत्र, देशको सीमा क्षेत्र, अस्पताल)लाई कसरी ह्यान्डल गरिन्छ नि ?

यस्ता स्थानहरूमा हामीले कभर गरेका छैनौं । किनकी सम्बन्धित देशको संवदेनशीलतालाई हामीले बुझेर मात्रै तस्वीरहरू लिने गरेका छौं ।

मानिसहरूले त अहिले सामाजिक सञ्जालमा (फेसबुक, एक्स र इन्स्टाग्राम) तस्वीरहरू अपलोड गरिरहेका छन् नि त । गुगल म्याप्समा फोटो अपलोड गर्नु सामाजिक सञ्जालभन्दा किन फाइदाजनक हुन्छ ?

कुरा ठीकै हो । तर सामाजिक सञ्जालमा लोकेशन र ठाउँ नै देखाइदिने नक्सा हुँदैन नि । हामीले भने गुगल म्याप्समार्फत उहाँहरूको नक्सा र लोकेशन नै दिन सक्छौं ।

साथै उहाँहरुको व्यवसाय प्रवर्द्धनमा सहयोगी बन्न सक्छौं । यदि पर्यटन व्‍यवसायी हो भने उहाँकोमा विश्वभरबाट पर्टयटकहरू सजिलै नक्सा र लोकेशन हेरेरै आउन सक्नुहुन्छ । त्यसकारण मलाई लाग्छ सामाजिक सञ्जालभन्दा गुगल म्याप्स उपर्युक्त हुन्छ ।

के नेपालको शिक्षा, विपद् व्यवस्थापन वा शहरी योजनामा स्ट्रिट भ्यू उपयोगी हुन्छ त ?

हो, धेरै उपयोगी हुन्छ नि । बाढी पूर्वानुमानमा विश्वका केही उदाहरणहरू छन् । गुगल म्याप्स, स्याटालाइट तस्वीरहरूकै आधारमा थुप्रै देशहरूलाई विपद्‌मा सहयोग गरेका छौं ।

नेपालकै ७२ को भूकम्पको बेला स्याटेलाइट तस्वीर हामीले दिएका थियौं । बाढी पहिरोका बेला भारतको उत्तराखण्ड, भुटानको बाढी, बंगलादेशको बाढी, श्रीलंकाको बाढी, जापानको सुनामीलगायत अन्य थुप्रै देशहरूमा हामीले स्याटालाइटमार्फत तस्वीहरू (पहिले-अहिले) अद्यावधिक गरिसकेका छौं ।

हामीले शिक्षामा पनि सहकार्य गर्ने योजना बनाएका छौं । शहरी योजना बनाउँदा पनि गुगल म्याप्स महत्वपूर्ण हुन्छ भनेरै हामीले नेपालमा आधिकारिक रुपमा बाटोको नक्साकै लागि भनेर डिजिटल नेपाल कन्क्लेभमा घोषणा गर्‍यौं ।

यसले कसरी रोजगारी सिर्जना गर्छ ?

स्थानीय साझेदारहरूले नेपालीहरूसँग मिलेर काम गरिरहेका छन् । यसले स्थानीय तहदेखि प्रदेश र संघीय तहमा धेरै युवाहरू (प्रविधिमा पोख्त)ले रोजगारी पाउनहुन्छ । उहाँहरूले गुगल स्ट्रिट भ्यूमार्फत आफ्नो व्यापार, व्यवसाय थप प्रवर्द्धन गर्न सक्नुहुन्छ ।

सुरुमा प्रयोगकर्ताको प्रतिक्रिया कस्तो रह्यो ?

सुरुवाती हप्तामै प्रयोगकर्ताको उत्साहजनक सहभागिता रह्‍यो । किनकी म काठमाडौं आउँदा सिंगापुरमा देखेको काठमाडौंको सहरको फोटो, धरहराको फोटोहरू दिनमै धेरैवटा अपलोड भएका थिए, त्यो पनि फरक फरक तरिकाले ।

सहरका गल्ली र सडकहरूको फोटोहरू प्रयोगकर्ताले लोकेशन राखेर पोस्ट गर्नु भएको थियो । पोखराका तस्वीरहरू पनि मनमोहक थिए गुगल स्ट्रिटमा लोकेशनसहित।

स्ट्रिट भ्यूले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा कस्तो योगदान दिन सक्छ ?

यो त नेपालको लागि ढुंगा खोज्दा देउता जुरेजस्तै हुन्छ । किनकी नेपाल सांस्कृतिक सम्पदामा निक्कै धनी मुलुक हो भन्‍ने मैले पढेको छु । तस्वीरहरू देखेको छु ।

खासगरी काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने विभिन्न चाडपर्वहरूको तस्वीरहरू गुगल स्ट्रिट भ्यूमा थुप्रै छन् ।

यहाँका सञ्‍चारमाध्यमहरूले पनि चाडपर्वहरुको बारेमा बेला बेलामा थुप्रै तस्वीरहरू अपलोड गर्नुहुन्छ । यसैले थाहा हुन्छ की यहाँ धेरै थरीका जातजाति र उनीहरूको सांस्कृतिक सम्पदाहरू अविस्मरणीय छन् ।

पछिल्लो समय धरानको बुढासुब्बा, मुक्तिनाथ मन्दिर र मुस्ताङको गुफाहरू, चितवन राष्ट्रिय निकुञ्ज, बर्दियाको बाघ, गढीमाइमा बली दिएका तस्वी र भिडियोहरू विश्वभर प्रख्यात छन् ।

हामीले गुगल स्ट्रिटमा ती भिडियो र फोटोहरू हेरेर जिब्रो टोकेका थियौं । त्यस्तै अन्नपूर्ण पदयात्रा, अन्नपूर्ण हिमाल, सगरमाथा आरोहण अनि कालापत्थरमा रात बिताएका विदेशीहरूको नाचगानको भिडियो, हिमाल चढेका दृश्यहरू संसारभरका मानिसहरूले गुगलबाटै खोजेर हेरेका छन् ।

हिमालका मानिसहरूले लगाउने लुगाको चर्चा, यहाँका ताल र गुम्बाहरू निक्कै मनमोहक छन् । खासगरी त्यहाँका बाटा र भौगोलिक बनावटहरूको परिदृश्य गज्जबको छ भन्ने मलाई लाग्छ ।

हामी यहीबारे भविष्यमा सम्पदा स्थल वा सांस्कृतिक उत्सव कभर गर्ने सम्भावनाबारे थप योजना बनाइरहेका छौं ।

स्थानीय मूल्यसँग कसरी मेल खान्छ ?

हाम्रो साझेदार नै नेपाली भएकाले स्थानीय मान्यतालाई ध्यान दिएका छौं ।

एभरेस्ट बेस क्याम्प प्रोजेक्टले स्ट्रिट भ्यूको काममा कस्तो योगदान गर्‍यो त ?

त्यो हाम्रो लागि विल्कुल छुट्टै प्रोजेक्ट थियो । अहिले भने स्थानीय साझेदारले राष्ट्रिय स्तरमै तस्वीर सङ्कलन गरिरहेका छन् ।

ग्रामीण वा हिमाली क्षेत्र विस्तार गर्ने योजना के छ ?

हो, हामीले प्रमुख क्षेत्रहरू कभर गरिसकेका छौं । अब चाँडै भविष्यमा नियमित रूपमा गाउँ र हिमाली क्षेत्रमा तस्वीरहरू अद्यावधिक गर्नेछौं ।हामीले यसलाई प्राथमिकताका साथ हेरेका छौं ।

तपाईंहरूले ‘See Inside’ कार्यक्रम पनि चलाउनु भएको रहेछ । यस अन्तर्गत व्यवसाय वा सम्पदा स्थल समेटिन्छ त ?

हामीले यो कार्यक्रममा सम्बन्धित ठाउँकै स्थानीय फोटोग्राफरहरूसँग सहकार्य गरेका छौं । उहाँहरूले आफ्नो व्यवसाय हामीसँग मिलेर गर्नु भएको छ ।

उहाँहरूले कैद गर्नुभएको तस्वीर गुगल स्ट्रिटलाई उपलब्ध गराउनु भएको छ । त्यसको हामी उचित मुल्‍य दिएका छौं । उहाँहरूले ती फोटोहरूमा खासगरी धार्मिक तथा ऐतिहासिक सम्पदा अनि व्‍यवसाय स्थलहरूको दृश्य कैद अनिवार्य रुपमा गर्नुहुन्छ। यसकारण हामीले यसलाई थप प्रभावकारी बनाउन लागेका छौं ।

अहिले त दुनियाँमा एआई र एआरजस्ता नयाँ सुविधा आइसकेको छ । नेपालमा यो प्रविधि कहिले ल्याउनुहुन्छ नि ?

हामी पहिला तस्वीर संकलन गर्नतर्फ लाग्छौं । त्यसपछि निकट भविष्यमै एआई, एआर र लाइभ भ्यू जस्ता फिचर सुविधा ल्याउनेछौं ।

स्ट्रिट भ्यूलाई अन्य गुगलको उत्पादनसँग कसरी जोडिन्छ ?

किनकी यसमा सडक, ठेगाना र पोओआई (POI) थप्न प्रयोग हुन्छ । प्रयोगकर्ताले स्थान जानुभन्दा पहिले भर्चुअल अवलोकन गर्न सक्छन् । त्यसैले स्ट्रिट भ्युलाई गुगलको अरू उत्पादनसँग जोड्न सक्दा थप प्रभावकारी हुन सक्छ ।

नेपाली डेभलपर वा स्टार्टअपसँग सहकार्य गर्ने सम्भावना छ ? तर, भाषा छनोटमा नेपाली भाषा राखिएको छैन नि ?

हामीले अहिले प्रविधिमा पोख्त नेपाली डेभलपर र स्टार्टअप कम्पनीहरूसँग काम गर्न थालिसकेका छौं। नेपालका थुप्रै प्राविधिक संस्थाहरू हामीसँग सहकार्य गर्न तयार पनि हुनुहुन्छ ।

हामीले उहाँहरूसँग मिलेर नेपालको लागि स्ट्रिट भ्यूको एपीआई (API) उपलब्ध गराइरहेका छौं । म अब नेपाली भाषा राख्‍नेगरी पहल गर्छु। यसबारेमा म गुगलको बोर्ड मिटिङमा कुरा उठाउँछु ।

तपाईंहरूले प्रयोगकर्तालाई ब्याच वा प्वाइन्ट किन दिनुहुन्छ ?

किनकी हामीले ‘स्थानीय पथ प्रदर्शक’ कार्यक्रममार्फत ताजा नक्सा बनाउन सजिलो होस् भनेर ब्याज/प्वाइन्ट प्रयोगकर्तालाई धन्यवाद हो ।

अपलोड गरिएका फोटोमा कपीराइट कसको हुन्छ ?

गुगलका आफ्ना तस्वीरमा कपीराइट हुन्छ ।

कम इन्टरनेट वा अपाङ्गता भएका प्रयोगकर्ताका लागि के सुविधा छ नि ?

हो, गुगल म्याप्समा विभिन्न सुगम सुविधा उपलब्ध छन् ।

चीनमा स्ट्रिट भ्यू छैन । भारत-नेपालका दुवै प्रमुख सहरमा स्ट्रिट भ्यू कभर गरिएको छ ।

स्ट्रिट भ्यू प्रयोग गर्न प्रशिक्षण चाहिन्छ ?

चाहिँदैन, यो सजिलो टुल हो ।

भारत र चीनसँग तुलना गर्दा नेपाल कस्तो छ ?

चीनमा स्ट्रिट भ्यू छैन । भारत-नेपालका दुवै प्रमुख सहरमा स्ट्रिट भ्यू कभर गरिएको छ ।

नेपालबाट अरू देशका लागि के सन्देश हुन सक्छ ?

नेपालमा बाक्लो सहर र पहाड दुवै भएकाले विभिन्न आकारका कार प्रयोग गरिएको छ । यो अनुभव अन्य देशका लागि पनि उपयोगी हुन्छ । यहाँका जस्तै अन्य देशमा पनि धार्मिक, ऐतिहासिक र भौगोलिक बनावट हुन सक्छ ।

पछि विपदमा कसरी काम गर्न सकिन्छ ? नक्सा र लोकेशन बनाउँदा के कुरामा ध्यान दिन सकिन्छ भनेर पूर्वतयारी गर्नु जरूरी हुन्छ भन्‍ने सन्देश दिन सक्छौं जस्तो लाग्छ ।

स्ट्रिट भ्यूमार्फत नेपालमा तस्वीर सङ्कलन गर्दा स्मरणीय क्षण के रह्यो ?

नेपाली जनताले आत्मीय स्वागत गरेको म कहिल्‍यै बिर्सिन्न । यहाँको संस्कार, संस्कृति र भावनात्मक नाता निक्कै गहिरो छ।

यहाँको हावापानी, माटो र हिमाल अति नै मनमोहक छन् । म विश्वभर कही फेरि घुम्न जानु पर्‍यो भने नेपाल नै रोज्छु। यो मेरो लागि सबैभन्दा स्मरणीय क्षण रह्यो ।

अन्त्यमा, के नेपाली संस्थाले भविष्यमा गुगलसँग सहकार्य गर्न सक्छन् ? नेपालमा गुगल कहिले दर्ता हुन्छ नि ?

हो, हामीलाई विभिन्न संस्थाबाट प्रस्ताव आएको छ। अहिले हामी कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफलमा छौं ।

(हा..हा..हा) गुगल दर्ता हुनेबारेमा मलाई खासै थाहा भएन । माथिल्लो निकायमा बुझ्नुपर्ला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?