+
+
Shares

बुबा, जसले मलाई कर्मयोग सिकाएर जानुभयो

सौरभ रिमाल सौरभ रिमाल
२०८२ भदौ १० गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले बुबाको आकस्मिक निधनपछि बुबा नहुनुको रिक्तता र खिन्नता अनुभव गरिरहेको बताउनुभएको छ।
  • लेखकले बुबाको सम्झनामा समाजसेवा जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

‘जतिबेला हामीसँग बुबा हुन्छन्, त्यसबेला हामीले बुबालाई बुझ्दैनौं । जतिबेला बुझ्छौं, त्यसबेला हामीसँग बुबा हुँदैनन् ।’

मैले कहीँ कतै यस्तै पढेको वा सुनेको थिएँ । बुबा हुनु र नहुनुको फरक के हुन्छ, आज म स्वयम् भोग्दैछु । बुबा नहुँदाको रिक्तता र खिन्नता अनुभव गर्दैछु । हिजो राति घर फर्कँदा मलाई कुरेर बस्ने बुबा यतिबेला हुनुहुन्न । आफैंसँग थाकेको बेला जाँगर थपिदिने बुबा यतिबेला हुनुहुन्न । बुबा नहुनु र हुनुले कति ठूलो अर्थ राख्नेरहेछ, म बुझ्दैछु ।

म जन्मिएलगत्तै बुबाले आफ्ना न्यानो हातले मलाई उठाउनुभएको थियो रे । पहिलो पटक म धर्तीमा आउँदा जुन हातहरूले मलाई स्पर्श गरेको थियो, यो धर्तीबाट उही बिदा हुँदै गर्दा मैले उनको शिर समाइरहेको थिएँ । किनभने जीवनको अन्तिम सास फेरिरहँदा बुबा मेरो काखमा हुनुहुन्थ्यो ।

त्यस बिहान अलि चाडै बुबाले ‘छट्टु’लाई खाना दिनुभयो । छट्टु हाम्रो घरको कुकुर हो । अलि चुलबुले र चलाख भएकाले उसको नाम छट्टु राख्यौं । छट्टुलाई प्रत्येक बिहान बुबाले नै खानेकुरा दिनुहुन्थ्यो । उसले खानेकुरा खाइसक्न करिब १० मिनेट लगाउँछ ।

बिहान छट्टुलाई खाना दिएर मुख पुछिदिन कपडा लिन उठ्दा उहाँलाई चक्कर लागेछ । बुबा त्यहीँ भित्तामा अडेसिनुभो । म अर्को तलामा थिएँ, केही अनौठो आवाज सुनेर माथिबाटै तल हेरें । बुबा असहज स्थितिमा देखिनुभयो । म हतारिदै बुबा भएको ठाउँमा पुगें । र, आसपासका छिमेकीलाई सहयोगका लागि गुहारें ।

बुबाको टाउको मेरो काखमा थियो । उहाँ कठिन स्थितिबाट गुज्रिरहनुभएको थियो । क्षणभरमै त्यहाँ छिमेकीहरू भेला भए । त्यसमध्ये एक जना चिकित्सक हुनुहुँदोरहेछ । उहाँले सिपिआर दिनुभयो । तर, बुबाको शरीर क्रमस चिसिँदै थियो । कृतिम श्वासप्रश्वासको पनि अब भर थिएन ।

हतार हतार बुबालाई अस्पताल पुर्‍याउँदा हामीले जे कुरा नसुन्नुपर्ने थियो । त्यही सुन्नुपर्‍यो । चिकित्सकले भने, ‘उहाँ जीवित हुनुहुन्न।’

बुबाको त्यो हठात् निधन मेरो र परिवारका लागि कहिल्यै निको नहुने घाउ बनिदियो । किनभने बुबा फगत बुबा मात्र होइन, घर–परिवारको भरोसा हुनुहुन्थ्यो । विश्वास, प्रेरणा अनि ऊर्जा हुनुहुन्थ्यो ।

चुपचाप परिवारको बोझ बोकेको दर्बिलो खम्बा हुनुहुन्थ्यो । अनि बुबा मेरा लागि दुनियाँकै मनप्रिय साथी हुनुहुन्थ्यो।

हामी सँगै जिम जान्थ्यौं, सँगै फिल्म हेर्न पुग्थ्यौं । सुख, दुःख साट्थ्यौं । खुसीमा खुसी मिसाइदिने, पीडामा मह्लम लगाइदिने सच्चा साथी हुनुहुन्थ्यो मेरा लागि बुबा ।

बुबाले मलाई त्यसरी नै हुर्काउनुभयो, जसरी एउटा बच्चाले राम्ररी हुर्कने मौका पाउँछ । मलाई पढ्न, लेख्न भन्दा खेलकुदमा रमाइलो लाग्ने । बुबाले पढ्नका लागि त प्रेरित गर्नुहुन्थ्यो, तर जोड जबरजस्ती गर्नुहुन्नथ्यो ।

किनभने मलाई स्वच्छन्द ढंगले खेल्न र रमाउन दिनुभयो । अर्थात मलाई मेरो बाल्यकालमा पूर्णत रमाउन दिनुभयो ।

उहाँले डोहोर्‍याएर मलाई तरकारी बजार पुराउनुहुन्थ्यो, ताकि मैले मूल्यहरूबारे जान्न सकूँ । काम गरेको ठाउँमा लानुहुन्थ्यो, ताकि मैले श्रम बुझौं । मनोरञ्जन गर्ने ठाउँहरूमा लानुहुन्थ्यो, ताकि मैले जीवनलाई उत्सव बनाउन सिकूँ ।

बुबाले मलाइ सही र गतलबीचको भिन्नता सिकाउनुभयो । तर, सधैं मलाई स्वतन्त्र रूपमा आफ्नै निर्णय लिन दिनुभयो । उहाँसँग घुम्न गएको, घरमा मिठोमसिनो पकाएको यादहरू ताजै छ । ती साधारण क्षणहरू मेरा लागि संसारजस्तै थिए ।

मेरो जीवनको सबैभन्दा खुसी र गर्विलो क्षणहरूमध्ये एक थियो मेरो दीक्षान्त समारोहको बेला उहाँको अनुहारमा देखिएको खुसी । त्यो प्रमाणपत्र प्राप्त गर्नु भनेको उहाँलाई खुसीको उपहार दिएकोजस्तै भयो ।

उहाँले मलाई खुलेर प्रशंसा त गर्नुभएन । तर, अरूको सामुन्ने भन्नुहुन्थ्यो, ‘मेरो छोरोले यस्तो गर्‍यो ।’

त्यति नै मेरो लागि सबैथोक थियो ।

बुबाले मलाई बाहिरी दुनियाँमा बाँच्न र जुध्न सिकाउनुभयो । समाजप्रति सधैं सकारात्मक र सहयोगी भावना राख्न प्रेरित गर्नुभयो । मैले समाजसेवा गरेको कुरामा उहाँ गर्व गर्नुहुन्थ्यो । त्यसैले त बाढीले आफ्नै घर जलमग्न भइरहँदा पनि म बाहिर निस्केर अरू बाढीपीडितको उद्वार गर्न लाग्थें ।

कहिले विद्यालय पुगेर बालबालिकाका लागि शैक्षिक र खेलकुद सामाग्री पुर्‍याइदिएँ । कहिले चेपाङ बस्ती पुगेर उनीहरूसँग रात बिताएँ । कहिले सडक कुकुर र गाइवस्तुलाई खानापानी दिँदै हिँडे । यी सबै सत्कर्म गर्नमा मलाई बुबाले प्रेरित गर्नुभयो ।

कोभिडले शहर सुनसान थियो । त्यसबेला म सडक कुकुरहरूलाई खानापानी दिँदै हिँडिरहेको हुन्थें । घरमा सडक कुकुरका लागि खाना पकाउन र जुटाउन आमाबुबाले साथ दिनुहुन्थ्यो । उहाँहरूले कहिल्यै भन्नुभएन, ‘आनन्दले घरमा बस्नु । बाहिर किन दुःख गरेको ?’

बरू उहाँहरुले के भन्नुभयो भने, ‘सधैं यसरी नै सेवा गरिरहनू । अरुका लागि बाँच्नू । अरुको खुसीमा आफ्नो खुसी खोज्नू ।’

समाजसेवाप्रतिको मेरो रुचिलाई बुझेर बुबाले एउटा छुटै फाउन्डेसन स्थापना गर्न सुझाउनुभयो । अनि त्यसको नाम उहाँले नै जुराउनुभयो, ‘कर्मयोग फाउन्डेसन ।’

आज बुबा हुनुहुन्न । तर, बुबाले छाडेर जानुभएको यही सदीक्षा मसँग छ । म यसैमार्फत समाजसँग सधैं जोडिनेछु । समाजको दुःखमा साथ दिनेछु । किनभने मैले बुबाका लागि गर्न सक्ने सबैभन्दा सुन्दर कर्म यही नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?