
१२ भदौ, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ ।
मौसमविद सरोज पुडासैनीले मधेश र कर्णालीका थोरै स्थानबाहेक अरु धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार यस्तो अवस्था आज दिनभरी नै हुने सम्भावना छ ।
‘लगातार झरी नपरे पनि पानी पर्ने, रोकिने र फेरि पानी पर्ने सम्भावना आज दिनभरी जस्तो छ,’ उनले अनलाइनखबरसँग भने । यस्तो सम्भावना काठमाडौं उपत्यकाको हकमा पनि रहेको उनले बताए ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित भए पनि मनसुनी वायुको गतिविधि जारी छ । त्यसैले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतिर आएको छ । त्यही मनसुनी हावाको प्रभाव बुधबारदेखि नै बढेको छ ।
त्यसैले आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना छ ।
त्यसैगरी, आज राति देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षाको प्रक्षेपण छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भेगका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने सम्भावना रहेको तथा हवाई तथा सडक यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।
प्रतिक्रिया 4