
१२ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको शहरी क्षेत्र तथा पोखराको लेकसाइड क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले विद्युत केवललाई भूमिगत गर्ने कार्यले अपेक्षाकृत भौतिक प्रगति गर्न सकिरहेको छैन ।
भरतपुरमा हालसम्म ८० प्रतिशत काम सकिएको छ भने, पोखराको कुँडहर, लेकसाइड क्षेत्रमा जम्मा ५० प्रतिशत मात्रै काम सकिएको छ ।
भरतपुरको विद्युत लाइन भूमिगत गर्ने कार्य आगामी पुसको अन्तिमसम्ममा सक्ने तयारी गरिएको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए ।
उनका अनुसार विद्युत वितरण प्रणालीलाई भूमिगत तथा सुदृढीकरण एवं स्वचालित गर्ने उद्देश्यले भरतपुर र पोखराका मुख्य चोक तथा सडकमा विद्युत केबल भूमिगत गर्न लागिएको हो ।
परियोजनाको लागत पोखरा महानगरपालिकामा १ अर्ब ३० करोड र भरतपुर महानगरपालिकामा १ अर्ब २० करोड छ ।
तेस्रोपटक म्याद थपको तयारी
विद्युत केबल भूमिगत गर्न प्राधिकरणले भारतीय कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडसँग सन् २०२२ जनबरी २० मा ठेक्का सम्झौता गरेको थियो । तर, तोकिएको समय भित्र काम नसकेपछि ठेक्काको म्याद दुईपटकसम्म थप गरियो । दोस्रोपटक थपिएको म्याद ३१ जुनमा सकिएको थियो ।
दुईपटक थपिएको म्यादमा पनि काम नसकिएपछि तेस्रोपटक म्याद थपका लागि ठेकेदारले माग गरिरहेको छ । ठेकेदारले १४ महिना थप समय माग गरेको आयोजना प्रमुख सुवेदीले बताए ।
नेपाल सरकार, विद्युत प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा भरतपुर र पोखरामा विद्युत लाइन भूमिगत गर्ने कार्य सन् २०२४ को जनवरी १९ भित्र सक्ने लक्ष्य राखिएको थियो ।
तर, ठेकेदार कम्पनीको ढिलासुस्ती तथा अन्य विभिन्न कारणले समस्या आएको आयोजनाका प्रमुख सुवेदीको भनाइ छ ।
‘ठेक्का लागेको एक बर्ष त अध्ययनमा नै बित्यो, १०/१५ वर्षसम्म सहज हुने गरी योजना बनाएर काम गर्नुपर्ने थियो, पुराना संरचनाहरू के कस्ता छन् कसरी काम गर्ने भन्नेमा धेरै समय गयो’ आयोजना प्रमुख सुवेदीले भने, ‘विदेशबाट सामान ल्याउनुपर्ने, बर्खाको ३ महिना सडक विभागले सडक खन्न नदिने जस्ता कामले पनि ढिला भयो ।’
आयोजनाको म्याद २०२४ को सेप्टेम्बरसम्म सक्ने गरी पहिलोपटक र २०२५ को ३१ जुलाईसम्म सक्ने गरी दोस्रोपटक थप गरिएको थियो । तर, थपिएको अवधिमा काम सम्पन्न हुन सकेन ।
अब ठेक्काको म्याद थप गर्दा कसका कारणले काम हुन सकेन वा ढिलाइ भयो भन्ने समेतलाई मूल्यांकन गर्ने गरी १० प्रतिशतसम्म पेनाल्टी लाग्नसक्ने आधारसहित थप गरिने आयोजना प्रमुख सुवेदीले बताए । म्याद थप नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले गर्न सक्छन् ।
भरतपुर तथा पोखरामा केही काम थप हुँदा पनि समयमा नसकिएको आयोजना प्रमुख सुवेदी बताउँछन् ।
भरतपुर–११ को सबस्टेसनबाट चनौली वितरण केन्द्रतर्फ लैजाने थप ३३ केभीको लाइन भूमिगत गराउने काम ठेकेदारलाई थप गरिएको छ । थपिएको कामको भुक्तानी नापेर दिने आयोजना प्रमुख सुवेदीले बताए ।
भरतपुर ओरालोको भाटभटेनीसम्म झण्डै ३ किलोमिटर विद्युत लाइन भूमिगत गरिसकिएको छ भने त्यहाँबाट ओभरहेड गरी चनौली लैजाने गरी काम भैरहेको छ ।
यस्तै नाराणगढ बसपार्कबाट दियालो बंगला हुँदै आँपटारीसम्मको विद्युत लाइन पनि भूमिगत गरिसकिएको छ । यो काम पनि ठेक्का सम्झौता भन्दा बाहिरको हो । पोखरामा कुँडहरदेखि विमानस्थलसम्मको काम थप गरिएको थियो ।
भरतपुरमा कति भयो काम ?

भरतपुरमा आँपटारीदेखि केन्द्रीय बस टर्मिनलसम्म, केन्द्रीय बस टर्मिनलदेखि नारायणगढको पुल्चोकसम्म विद्युत भूमिगत गर्ने र पुल्चोकबाट नाराणगढ बसपार्कसम्म ओभरहेड विद्युत लाइन थप गर्ने आयोजनाको मुख्य काम हो ।
नाराणगढ बसपार्क चोकबाट आँपटारी चोकसम्म विद्युत लाइन भूमिगत गर्ने काम आयोजनाले गरिरहेको छ ।
भरतपुरमा ३३ केभीएको ९ सर्किट किलोमिटर, ११ केभिएको ७५ सर्किट किलोमिटर, ४ सय भोल्टको ७० सर्किट किलोमिटरसहित २८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने योजना छ ।
पुल्चोकदेखि केन्द्रीय बसपार्क हाकिमचोकसम्म लाइन भूमिगत गरिए पनि बसपार्कदेखि गोन्द्राङसम्म झण्डै २ किलोमिटर सडकमा ३३ केभीए प्रसारण लाइन मात्रै भूमिगत गरिएको छ ।
अहिले आँपटारीदेखि बाइपास रोडसम्मको दाहिनेतर्फ (तल्लो साइड) को सबै काम सकिएको छ भने, देव्रेतर्फ (माथिल्लो साइड) को काम ५० प्रतिशत बाँकी छ ।
बसपार्कबाट उत्तरतर्फ अर्थात दाहिने साइडसम्मको नहरसम्मको मुख्य काम सकिएको छ । नहरबाट शहीद चोकसम्मको काम पनि अन्तिम चरणमा छ । बसपार्कबाट एयरपोर्टसम्मको काम बाँकी छ ।
भरतपुर–नारायणगढ क्षेत्रमा पाइप राख्ने काम सबै सकिएको छ । अब त्यो पाइपभित्र केबल राख्ने काम मात्रै बाँकी रहेको आयोजना प्रमुख सुवेदीले जानकारी दिए ।
पुल्चोकबाट नारायणगढ बसपार्कसम्मको ओभरहेडका लागि पोल गाड्ने काम सकिएको छ । नयाँ पोल गाडेपछि यो खण्डका पुराना पोलहरु हटाउने आयोजनाले जनाएको छ ।
बसपार्कदेखि पुल्चोकसम्मको खण्डमा भूमिगत केबल बिछ्याउने भनेर सुरुमा ठेक्कामा नभएको र पछि थप गर्न खोज्दा ठेकेदारले नमानेको आयोजना प्रमुख सुवेदीले बताए ।
अहिलेको भूमिगत विद्युत केबल बिछ्याउँदा कुनै ठाउँमा समस्या आएमा सबस्टेसनबाट नै विद्युत बन्द गर्नुपर्ने अवस्था नआउने आयोजना प्रमुख सुवेदीले बताए । ‘जहाँबाट गएको लाइनमा समस्या छ, त्यहीँको डिभाइसबाट हेरेर काम गर्न सकिन्छ, अहिलेको जस्तो फिडरमा नै काट्न पर्दैन’ आयोजना प्रमुख सुवेदीले भने, ‘जति धेरै घर छन् त्यति बढी डिभाइस राखिन्छ, घर नभएको ठाउँमा डिभाइस राखिँदैन ।’
भूमिगत केबल बिछ्याउन डेढ मिटरदेखि अढाई मिटरसम्मको गहिरो नाली खन्ने गरिएको छ । त्यसमा १२ इन्च र १६ इन्चका पाइप हालेर त्यसभित्र केबल राख्ने गरिएको छ ।
हरेक नालीमा एउटा १६ इन्चको अतिरिक्त पाइप पनि राखिएको आयोजना प्रमुख सुवेदीले बताए । त्यसमा प्राधिकरणको आफ्नै इन्टरनेटको फाइबरसहितको स्मार्ट सिष्टम चलाउन तथा अन्य इन्टरनेट सेवा प्रदायकहरुको इन्टरेनटका फाइबर राख्न सजिलो होस् भन्ने उद्देश्यले भविश्यसम्मलाई सोचेर अतिरिक्त १६ इन्चको पाइप राखिएको हो ।
नाली नखन्ने ठाउँमा २/२ मिटर लम्बाइ–चौडाइ र १ मिटर गहिरो खाडल खनेर (चेम्बर बनाएर) त्यसबाट होरिजेन्टल डिरेक्सनल ड्रिल (एचडीडी) सुरुङ्ग खन्ने मेसिन घुसाएर प्वाल बनाएर पाइप हाल्ने गरिन्छ । यस्तो पाइप ६० मिटरदेखि १२० मिटरमा निकालिन्छ ।
पाइप हालिएको ठाउँमा ५ सय मिटरसम्म लामो केबल बिछ्याउने गरिन्छ । डिभाइस निकाल्नुपर्ने ठाउँमा ५ सय मिटर कम दूरीमै पनि केबल निकाल्ने गरिन्छ ।
पोखरामा कडा चट्टान भएकाले मेसिनबाट जम्मा ३० प्रतिशत मात्रै काम भएको र ७० प्रतिशत कामदारले नै खनेर नाली बनाएको आयोजना प्रमुख सुवेदीले बताए ।
पोखरामा कति भयो काम ?

आयोजना प्रमुख सुवेदीका अनुसार पोखराको कुँडहर सबस्टेसनदेखि पृथ्वीचोकसम्मको १.२ किलोमिटर लाइन भूमिगत गरिसकिएको छ । यस्तै, कुँडहरबाट अन्तर्राष्ट्रिय विमानस्थलसम्मको करिब १ किलोमिटर लामो विद्युतलाइन भूमिगत गर्ने काम यही अगष्ट महिनाभित्र सकिने आयोजनाको दाबी छ । कुँडहरदेखि विमानस्थलसम्मको काम पछि थप गरिएको हो ।
पृथ्वी चोकबाट जिरो किलोमिटरसम्मको काम बाँकी नै छ । जिरो किलोमिटरदेखि लेकसाइडसम्मको काम भैरहेको आयोजना प्रमुख सुवेदीले बताए । लेकसाइडमा ५० प्रतिशत काम सकिएको छ । ‘पोखराको लेकसाइड क्षेत्र पर्यटकीय ठाउँ पनि भएकाले यहाँ घरघरसम्म लैजाने तार भूमिगत गराउने र लेकसाइडलाई सुन्दर बनाउने भन्ने हो, काम अलि ढिला भएको छ, ठेकदारले खुरुखुरु काम गरेको भए अहिलेसम्म सकिन्थ्यो’ आयोजना प्रमुख सुवेदीले भने, ‘लेकलाइड क्षेत्रमा कडा चट्टान भएकाले भूमिगत मेसिनले काम नगरेर मान्छेले नै केबल बिछ्याउने नाली बनाउनुपर्ने भएकाले पनि समय लाग्यो ।’
विभिन्न ठाउँमा स्थानीयहरूलाई बुझाउन समस्या हुँदा पनि काममा असहज भएको उनको भनाइ छ । ‘मानिसहरूको घर अगाडि गाडिएको पोलसँग माया भएको जस्तो, किन हटाउने भन्ने कुरा पनि सुनिए, परिवर्तनलाई हत्तपत्त स्वीकार नगर्ने, मेरो घर अगाडि हुँदैन भन्ने जस्ता समस्या पनि आए’ आयोजना प्रमुख सुवेदी भन्छन् ‘ठेकेदारले पनि आफ्नो कमजोरी थपिएको काम र यस्तै आउने अवरोधमा लुकाउन खोजेपछि काम ढिला हुन्छ ।’
चितवनको टिकौलीसम्मको लाइन पनि भूमिगत गरिने, तर फुटपाथ भत्काउनुपर्ने
ठेक्का सम्झौतामा छुटेको तर पछि थप गरिएको चितवनको भरतपुर बसपार्कदेखि टिकौली जंगलसम्मको खण्डमा ११ केभीको विद्युत तार पनि भूमिगत गर्ने गरी विद्युत प्राधिकरणले फाइल स्वीकृत गरेको छ । सो केवल भूमिगत गराउन १५ करोड थप खर्च लाग्ने अनुमान छ ।

गोन्द्राङ्ग–पुल्चोक ६ लेनको सडक विस्तार गर्नु अगाडि नै भरतपुरबाट टाँडीतर्फ लगिएको ३३ केभी विद्युत लाइन उत्तर (माथिल्लो साइड) मा भूमिगत गरिए पनि ११ केभीको लाइन भने अहिले ओभरहेड नै छ । त्यसलाई पनि भूमिगत गराउन भरतपुर महानगरपालिकाले गरेको अनुरोध बमोजिम प्राधिकरणले प्राविधिक मूल्याङ्कन गरेको छ ।
तर, भरखरै बनेको ६ लेनको सडकको सर्भिस लेन नै भत्काउनु पर्ने भएपछि प्राधिकरणलाई सडक विभागले स्वीकृति दिएको छैन । घर तथा व्यवसायहरूमा लैजाने ११ केभीको लाइन भूमिगत गरेर सो क्षेत्रमा ओभरहेड तार नै नराख्ने महानगरको सोच छ ।
सरकारी निकायहरूको बीचमा समन्वय नहुँदा सर्भिस लेन भत्काउनुपर्ने बाध्यता रहेको आयोजना प्रमुख सुवेदीले बताए । ‘माथिल्लो साइडको फुटपाथमा ३३ केभीएको लाइन भूमिगत छ । त्यहाँ फेरि ११ केभीए एचटी र एलटी हाल्न मिल्दैन’ आयोजना प्रमुख सुवेदीले भने, ‘तल्लो क्षेत्रमा ११ केभी फुटपाथमा हाल्न मिल्छ तर माथिल्लो क्षेत्रमा सर्भिस लेनमा नै हाल्नुपर्छ, भरखरै बनेको नयाँ सडक भत्काउन पनि माया लाग्छ ।’
ओभरहेड भन्दा १२ गुणा महँगो
ओभरहेड भन्दा विद्युत तार भूमिगत गर्ने खर्च झण्डै १२ गुणा महंगो हुने अधिकारीहरु बताउँछन् । प्राधिकरणले यसलाई नाफा–घाटाका रूपमा नहेरी सामाजिक उत्तरदायित्वका रुपमा लिएको आयोजना प्रमुख सुवेदीले बताए । ‘लाइन भूमिगत गरेपछि प्राधिकरणले अहिले लिएको महसुलमा थप लिन पाउँदैन, रकम त्यति नै हो’ आयोजना प्रमुख सुवेदीले भने, ‘तर प्राधिकरणले घाटा खाएर भए पनि खर्चिलो काम गरिरहेको छ, यसलाई प्राधिकरणले आफ्नो दायित्व ठानेको छ ।
विद्युत केबल भूमिगत गराउँदा सहरी सौन्दर्यकरण, नागरिकको सुरक्षा, चोरी तथा चुहावट नियन्त्रण, चट्याङ्गको समस्या कम, गुणस्तरसहितको विद्युत र मेन्टिनेन्स फ्रि सिष्टम भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले लगानी गरेको आयोजना प्रमुख सुवेदीको धारणा छ ।
आगामी १० वर्षसम्मको लोड धान्ने गरी प्रणालीको विकास गरिएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया 4